+
+

मोरङ ३ (१) मा बिहीबार मनोनयन, चुनाव ४ मंसिरमै हुने

हरि अधिकारी हरि अधिकारी
२०७९ कात्तिक २३ गते १८:०५

२३ कात्तिक, विराटनगर । मोरङ–३ को प्रदेशसभा ‘१’ का लागि निर्वाचन कार्यालयले बुधबार निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।

सो क्षेत्रबाट नेपाली कांग्रेसका प्रदेशसभा सदस्य उम्मेदवार शेखरचन्द्र थापाको बुधबार निधन भएपछि निर्वाचन आयोगले उम्मेदवारी दर्ताको समय दिएको हो । बिहीबार उम्मेदवारी दर्ता र शुक्रबार अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यतालिका हेरफेर भए पनि मतदान भने ४ मंसिरमा नै हुनेछ ।

प्रदेश १ निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन काश्यप अधिकारीका अनुसार उम्मेदवारी मनोनयन दर्ताका लागि बिहीबार विहान १० बजेदेखि १ बजेसम्मका लागि समय तोकिएको छ । १ बजेदेखि २ बजेसम्म उम्मेदवारको सूची प्रकाशन, दिउँसो २ बजेदेखि ५ बजेसम्म उम्मेदवार विरुद्ध उजुरीका लागि समय तोकिएको छ । उम्मेदवारको योग्यतामाथि जाँचबुझका लागि कात्तिक २४ देखि ५ बजेदेखि २५ गते दिउँसो १२ सम्म समय तोकिएको छ ।

नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने र निर्वाचन चिह्न प्रदान गर्ने समय शुक्रबारलाई तोकिएको छ ।

प्रदेशसभा निर्वाचन ऐन २०७४ को ३२ को उपदफा ५ अनुसार जुन दलको उम्मेदवारको मृत्यु भएको हो, सोही दलका लागि मात्रै निर्वाचन आयोगले निर्वाचनको केही कार्यक्रम संशोधन गरी सार्वजनिक गरेको हो । समय पर्याप्त भएका कारण मतदान नसारिएको आयोगले जनाएको छ ।

गत असोज २३ गते मनोनयन दर्ता गरेका थापा २४ गते स्वास्थ्यमा समस्या देखिएपछि नोबेल मेडिकल कलेज विराटनगर भर्ना भएका थिए । नोबेलबाट थप उपचारका लागि असोज २७ गते उनलाई हेलिकप्टर मार्फत ह्याम्स अस्पताल काठमाडौँ लगिएको थियो ।

ह्याम्समा २५ दिन उपचारपछि स्वास्थ्यमा सुधार भएका कारण उनलाई आफन्तले सोमबार नोबेल मेडिकल कलेजमा ल्याएका थिए । स्वास्थ्य अवस्था कमजोर भएका कारण उनलाई २४ सै घण्टा अक्सिजन सपोर्टमा राखिएको थियो । मंगलबार साझ श्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई आईसीयू र भेन्टिलेटरमा राखिएको थियो । अस्पतालले बुधबार विहान साढे १० बजे उनलाई मृत घोषित गरेको थियो । उनलाई डेङ्गु र निमोनियाको संक्रमण देखिएको थियो ।

प्रदेश १ का वन वातावरण तथा भू संरक्षण मन्त्रीसमेत रहेका थापाको मृत्यु शोकमा प्रदेश १ सरकारले बिहीबार प्रदेश १ मा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?