+
+

प्रेम आलेलाई कांग्रेसको भर, स्वतन्त्रको डर

रामहरि ओझा रामहरि ओझा
२०७९ कात्तिक २४ गते १८:४४

२०५४ सालको स्थानीय निकाय निर्वाचनमा पहिलो पटक चुनावी प्रतिस्पर्धा गरेका प्रेमबहादुर आलेमगरका लागि ४ मंसिरको प्रतिनिधिसभा चुनाव पाँचौं पटकको प्रतिस्पर्धा हो ।

तत्कालीन जिल्ला विकास समिति सदस्यको निर्वाचनमा उनले इलाका ६ बाट प्रतिस्पर्धा गरेर सफलता पाएका थिए । डोटीको साविकको छतिवन गाबिस–९ रुपसकाँडामा २०२८ सालमा जन्मिएका आले बुवा टेकबहादुर आले र आमा गंगादेवी आलेका दुई छोरामध्येका जेठा हुन् ।

२०४६ सालमा नेपाली कांग्रेसमा आवद्ध भई राजनीतिक यात्रा प्रारम्भ गरेका आले पछि कम्युनिष्टतिर ढल्किए । २०५१ सालमा नेकपा एमालेको नेतृत्वमा बनेको ९ महिने सरकारले गरेको कामबाट प्रभावित भई एमाले प्रवेश गरेको आलेले बताउने गरेका छन् । २०५४ सालको स्थानीय निर्वाचनको संघारमा आलेले एमाले प्रवेश गरेको उनका पूर्वसहकर्मीहरु बताउँछन् । तर, उनी भने २०५२ सालमै एमाले प्रवेश गरेको दावी गर्छन् ।

जिल्ला बिकास समिति सदस्य भएपछि आलेले राजनीतिक उचाइ बनाए । उनी एमालेको जिल्ला कमिटी सदस्य हुँदै दुई पटक जिल्ला उपसचिव भए । एमालेको आठौं महाधिवेशनमा राष्ट्रिय प्रतिनिधि परिषद सदस्य बनेका आले नवौं महाधिवेशनमा केन्द्रीय सदस्य चुनिए ।

एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी नेकपा बनेपछि आले उक्त पार्टीको डोटी जिल्ला ईन्चार्ज थिए । २०७७ साल पुस ५ गते तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गर्दा आले बिघटनको पक्षमै थिए । त्यसपछि पुस १० गते ओली सरकारमा वनमन्त्री पनि बने । मन्त्री हुँदा केही राम्रा र केही नराम्रा कामबाट चर्चामा आएका आले मन्त्रिपरिषदबाट हटाएपछि ओलीसंग रुष्ट भए ।

एमाले अध्यक्ष ओलीले दोस्रो पटक संसद बिघटन गर्दा आले तटस्थ थिए । दोस्रो पटक पनि न्यायालयले संसद पुनर्स्थापना गरी कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बन्ने बाटो खोलिदिएपछि आलेले देउवालाई विश्वासको मत पुर्‍याउन सहयोग गरे । पछि उनी देउवा सरकारमा पर्यटनमन्त्री बने ।

एमाले औपचारिक रुपमा बिभाजन भएपछि उनले नेकपा एकीकृत समाजवादी रोजे । हाल उनी सो पार्टीका पोलिट्व्यूरो सदस्य र सुदूरपश्चिम प्रदेशका सहईन्चार्ज छन् ।

पूर्वसहकर्मीसँगको प्रतिस्पर्धा

प्रेम आले चुनावी प्रतिस्पर्धामा जिते पनि हारे पनि उनका प्रतिस्पर्धी भने फेरिइरहेका छन् । जिल्ला विकास समितिमा आलेसंग प्रतिस्पर्धा गर्ने कांग्रेसका टेकवहादुर मडै थिए । चुनाव हारेपछि मडै राजनीतिबाट गुमनाम जस्तै भए । उनी त्यसपछि कुनै निर्वाचन लडेनन् ।

आलेको दोस्रो लडाइका प्रमुख प्रतिस्पर्धी खेम बम हुन् । ०६४ सालको संबिधान सभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीबाट डोटी निर्वाचन क्षेत्र–२ मा प्रतिस्पर्धा गरेका बमले आलेलाई पराजित गरेका थिए । तर बम हाल राजनीतिमा सक्रिय छैनन् ।

०७० को संविधान सभाको निर्वाचनमा आलेका प्रमुख प्रतिस्पर्धी कांग्रेसका योगेन्द्र शाही थिए । उनी पनि सक्रिय राजनीतिबाट अलग छन् । ०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा आलेले कांग्रेसका तत्कालीन केन्द्रीय सदस्य वीरबहादुर बलायरसंग प्रतिस्पर्धा गरे ।

त्यतिबेला बलायरलाई हराएका आलेले यसपटक चुनाव लड्न कैलाली पठाउन सफल भए । बर्तमान सत्ता गठबन्धनबाट डोटीमा बलायर र आलेको जबर्जस्त दावी थियो । जसमा आलेले बाजी मारे, बलायर कैलाली–४ मा झरेर उम्मेदवार बने ।

पाचौं प्रतिस्पर्धामा आले आफ्ना पूर्व सहकर्मी एमाले उम्मेदवार गौरी ओलीसंग प्रतिस्पर्धामा छन् । ओली एमाले पोलिट्व्यूरो सदस्य तथा डोटी जिल्ला ईन्चार्ज हुन् । उनी ०७० सालमा एमालेको कोटामा समानुपातिक संविधान सभा सदस्य पनि भएकी हुन् ।

स्वतन्त्रको डर

आले आवद्ध दल नेकपा एकीकृत समाजवादीको संगठन तुलनात्मक रुपमा डोटीमा कमजोर छ । तर आले अहिले सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । संगठन र जनसमर्थनका हिसाबले गठबन्धनको ठूलो दल कांग्रेस हो, त्यसैले आलेलाई कांग्रेसको भर छ । कांग्रेस गठबन्धनप्रति इमान्दार भइदिए चुनाव जित्नेमा उनी ढुक्क छन् ।

तर, नरेन्द्रबहादुर खड्काको उम्मेदवारीले उनलाई झस्काइदिएको छ । कांग्रेसका सक्रिय सदस्य रहेका खड्का उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हुन् । सामाजिक अभियन्ताको छवि बनाएका खड्का सुदूरपश्चिम प्रदेशको राजधानी डोटी हुनुपर्ने माग राखेर भएको आन्दोलनको नेतृत्वकर्तासमेत हुन् ।

उनी यही मुद्दाका कारण चुनाव जित्नेमा आशावादी छन् । २०७४ सालमा प्रेम आलेले प्रदेश राजधानी दिपायल बनाउन सकेन भने प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिन्छु भनेर झुट बोलेको भन्दै खड्काले चुनावी मुद्दा बनाएका छन् ।

यदि खड्काले कांग्रेसको मत आफूतिर तान्न सके भने आलेको सांसद बन्ने चाहना अधुरो हुनेछ । स्वतन्त्र उम्मेदवार खड्काले पाउने मतको आधारमा आलेको हारजित निर्धारण हुने देखिन्छ । यद्यपि भोटको हिसाबले सत्तारुढ गठबन्धन एमाले भन्दा धेरै अगाडि छ ।

डोटी जिल्लामा कुल मतदाता संख्या १ लाख २४ हजार ८७० छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत अनुसार सत्तारुढ गठबन्धनको मत ४४ हजार ७६१ छ ।

आले सम्वद्ध दल एकीकृत समाजवादीको ३ हजार २०५, कांग्रेसको ३३ हजार ९४४, नेकपा माओवादी केन्द्रको ७ हजार ६१२ मत छ । नेकपा एमालेसंग २५ हजार ३६ मत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?