+
+

जसको धन्सारमा माओवादीको हेडक्वार्टर बसेको थियो

विकास मरहट्टा विकास मरहट्टा
२०७९ कात्तिक २९ गते १३:२४

२९ कात्तिक, गोरखा । सत्तारुढ नेकपा माओवादी केन्द्रको मुख्यालय हाल कोटेश्वरको पेरिसडाँडामा छ । हिजाओज त्यहाँका भव्य भवनबाट पार्टी गतिविधि सञ्चालन हुन्छन् ।

पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बस्ने खुमलटारस्थित महल पनि बेलाबेला चर्चा र विवादमा आइरहन्छ। यही पार्टीको सुरुवाती हेडक्वार्टर भने गोरखाको एउटा गाउँमा रहेको एक व्यक्तिको घरको धन्सारमा रहेको थियो भन्दा पत्यार नलाग्न सक्छ । तर, यो सत्य हो ।

मंसिर ४ को निर्वाचनमा गोरखा-२ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धमा पहिलो सैन्य अभ्यास सुरु गरेको गोरखाको सिरानचोकलाई चिनकाङसाङसँग तुलना गरे।

४० वर्षपछि पुनः गोरखा फर्कनुलाई चिनियाँ कम्युनिष्ट नेता माओत्सेतुङको चिनकाङसाङ यात्रासँग तुलना गरेका उनले चुनावी आमसभामा खोपबहादुर कँडेलको नाम पनि बारम्बार उच्चारण गर्दै आइरहेका छन् ।

कँडेल तिनै हुन्, जसको घरमा माओवादीको पहिलो पार्टी हेडक्वार्टर (प्रधान कार्यालय) स्थापना भएको थियो । पालुङटार नगरपालिका-१ (साविकको च्याङ्ली गाविस) स्थित कँडेलको घरमा २०४५ सालमा प्रचण्डले तत्कालीन नेकपा मशालको मुख्यालय स्थापना गरेका थिए। ‘घरको धन्सारमा कार्यालय थियो’, कँडेलले भने, ‘कार्यालयमा अरु सामानहरु केही थिएनन्, एक÷दुई बोरा किताब मात्र थिए ।’

जिल्ला कमिटी सचिव भएकाले कार्यालयमा अधिकांश समय रामबहादुर थापा ‘बादल’ हुन्थे। प्रचण्ड हप्ताको एक/दुई पटक आउँथे। मोहन वैद्य भने हप्ता–दश दिनमा एक पटक आउने गर्थे । ‘त्यो कार्यालयमा प्रचण्ड, बादल र वैद्य मात्र आउनुहुन्थ्यो, मेरो घरमा मिठो मसिनो जे पाक्थ्यो त्यही खानुहुन्थ्यो र त्यही धन्सारमा सुत्नुहुन्थ्यो’, कँडेलले भने ।

कहिलेकाहीँ बैठक हुँदा धेरै सहभागी भएका कारण ओढ्ने ओछ्याउने अपुग भएको उनी सम्झन्छन् । प्रचण्ड प्रायः कोट वा स्वीटरमा हुन्थे । प्रचण्ड र बादल दुवैले जुल्फी पालेका थिए । वैद्य भने टोपी लगाउँथे। करिब आठ÷दश महिना उनीहरुले कँडेलको घरलाई हेडक्वार्टर बनाए । सो ठाउँमा बसेर उनीहरुले जनयुद्धको रणनीतिक योजना तयार गरे ।

२०५२ सालमा कँडेलको धुवाकोटस्थित बेशीमा रहेको घरमा जनयुद्धको योजना बनाउन पहिलो बैठक बसेको थियो, जसलाई ‘गोरखा बैठक’ नाम दिइएको थियो । त्यति बेला नेकपा मशाल नाम परिवर्तन गरेर नेकपा माओवादी भइसकेको थियो ।

१९ सदस्यीय केन्द्रीय समिति भएपनि त्यो बैठकमा १७ जना मात्र उपस्थित थिए । बैठक पश्चात बाबुराम भट्टराईले सम्झना स्वरुप सामूहिक तस्विर खिच्ने प्रस्ताव गरे । ‘अव मरिने भइयो, क्रान्तिको निम्ति बलिदानी पनि हुन सकिन्छ,सम्झनाका लागगि फोटो खिचौ भनेर मेरो घर अगाडि बाबुराम दाईले हामी सबैलाई राखेर सामूहिक फोटो खिच्नुभयो, त्यो फोटो उहाँले लानुभयो, हामीले हेर्न पाएनौं,’ कँडेलले भने ।

६६ बर्ष पार गरिसकेका सामान्य घरपरिवारका कँडेल २०३६ सालमा पार्टीको जिल्ला कमिटी सदस्य भएका थिए । शिक्षण पेशामा आवद्ध भएका कारण उनी धेरै घर बस्न पाउदैनथे । २०३८ सालमा उनले तनहुँको सत्रसयस्थित विद्यालयमा पढाए । शिक्षक आन्दोलनमा सहभागी भएका कारण उनी बर्खास्तीमा परे ।

त्यसपछि दश महिना पार्टीको होल टाइमर कार्यकर्ता भएर काम गरे तर पछि पुनः गोरखाकै घ्याल्चोकमा पढाउन थाले । उनले त्यहाँ पाँच बर्ष पढाए र पार्टीको दोस्रो जिल्ला सम्मेलन त्यही गराए ।

अध्यापनका क्रममा उनी नाम्जुङ, च्याङ्ली र बुंकोट पुगे । बुंकोटमा करिव चार बर्ष अध्यापन गरेका उनले ०४६ सालमा बहुदल आएपछि जागिर छाडे । पार्टीको तेस्रो जिल्ला सम्मेलन आफ्नै घर धुवाकोटमा गराए । २०४९ सालमा उनी साविकको धुवाकोट गाविस अध्यक्ष समेत बने ।

२०५३ सालबाट उनी भूमिगत भए । जनयुद्धको दौरान भूमिगत हुँदा उनले कास्की, बाग्लुङ र तनहुँलाई कार्यक्षेत्र बनाएर काम गरे । त्यसै क्रममा तनहुँ र कास्कीको सिमानामा पर्ने दुलैगौडास्थित लानी आहालबाट कँडेल पक्राउ परे ।

१८ महिना सेनाको हिरासतमा कष्टकर जिवनयापन गरे । २०६० सालमा सरकार र माओवादीबीच वार्ताका लागि युद्धबिराम गरेका बेला उनी रिहा भए । रिहा भएपछि उनी पार्टीबाट पनि कारबाहीमा परे । सफाई दिएपछि उनी पुनः पार्टीमा जोडिए । हाल उनी पार्टी केन्द्रीय सदस्य छन् ।

पार्टीको हेडक्वार्टर बसेको उनको घर अहिले भूकम्पले भत्केको छ । उनी धुवाकोटस्थित बेशीमा रहेको घरमा बस्छन् । जग्गा जमिन भएपनि पार्टीको पहिलो कार्यालय बसेको घर भने भग्नावशेषमा परिणत भइसकेको उनी बताउँछन् ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?