+
+

उम्मेदवारले भन्नुपर्ने हो भनिसके, अब पालो मतदाताको

राजनीतिक दल र कार्यकर्ताहरुले आफूले जे जे भन्नुपर्ने हो, मतदातालाई भनिसक्नुभएको छ । उम्मेदवारले आफ्नो कार्य सकेका कारणले अब पालो मतदाताको हो । मतदाताहरुले आफूले पाएको सूचना र जानकारीको आधारमा आफ्नो विवेक प्रयोग गर्ने हो ।

कल्याण श्रेष्ठ, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, पूर्वप्रधानन्यायाधीश
२०७९ मंसिर २ गते २०:३९

यसपटक निर्वाचन अनुगमनको क्रममा पर्चा पम्लेट टाँसेको देखिएको छैन । हुल हुज्जत हुने गरी प्रचार भएको पाएनौं । शान्त तरिकाले प्रचार भएको पाइयो । निर्वाचनलाई असर गर्ने गरी कोही पनि आन्दोलित हुने अवस्थाको सिर्जना भएको पाइएन । मौन अवधिको पालना राम्रैसँग भएको मलाई लागेको छ ।

राजनीतिक दल र कार्यकर्ताहरुले आफूले जे जे भन्नुपर्ने हो, मतदातालाई भनिसक्नुभएको छ । उम्मेदवारले आफ्नो कार्य सकेका कारणले अब पालो मतदाताको हो । मतदाताहरुले आफूले पाएको सूचना र जानकारीको आधारमा आफ्नो विवेक प्रयोग गर्ने हो । आफ्नो निर्णय गर्ने अधिकार उहाँहरुमा छ । मतदान समय जिताउने क्षण पनि हो ।

मतदान अविचलित, हस्तक्षेपमुक्त हुनुपर्दछ । प्रजातन्त्रको नाममा मतदाताले निर्णय लिने समय निर्वाचन हो । मतदानको बेला मतदातालाई विचलित बनाउने कार्य कतैबाट पनि नहोस् भन्नेमा हामी सबै विश्वस्त छौं ।

गत संसदीय तथा स्थानीय तहको निर्वाचनमा पनि अवलोकन गर्न पाएको थिएँ । समयक्रम अनुसार निर्वाचनको पद्धति विकसित भएको तथा व्यवस्थित हुँदै गएको पाइरहेको छु । यो आजको आज नै सुधार सम्भव भएको होइन । निरन्तरको प्रयासले सम्भव भएको हो । धेरै खर्चिलो र भड्किलो निर्वाचन भयो भन्ने अहिले सुनिएको छैन ।

शान्त, स्वच्छ र जवाफदेही तरिकाले निर्वाचन सम्पन्न हुँदैछ । निर्वाचन आयोग र यस कार्यका लागि खटिएकाहरुलाई धन्यवाद दिनैपर्दछ । हाम्रो प्रजातन्त्र सुरक्षित हुँदै गएकोमा भरोसा बढेको छ । जनताको निर्णय क्षमता बढ्दै गएको छ । प्रजातन्त्र दिगो हुँदै गएको छ । राजनीतिक दलका नेताहरुले आफ्नो जिम्मेवारी बुझ्दै गएको हो कि भन्ने मलाई परेको छ ।

खर्चिलो, भड्किलो निर्वाचन पद्धतिबाट सभ्य निर्वाचन बनाउनतिर लागिरहेको भान भएको छ । अल्पविकसित हाम्रो जस्तो देशमा यस्तो दाबी गर्न कतिपय अवस्थामा नमिल्न पनि सक्ला । निर्वाचन प्रक्रिया संस्थागत, रुपान्तरित हुँदै जानु महत्वपूर्ण कुरा हो ।

मतदाताई जतिसक्दो सहजता ल्याउनुपर्दछ । मतदाता परिचयपत्र अब अवरोधक रहेन । अन्य परिचयपत्र ल्याएर मतदान गर्न सकिने अवस्था बनेको छ । यसलाई पनि म सकरात्कमक पक्षका रुपमा लिएको छु ।

तथापि, मन्दिर परिसर र अस्पतालहरुमा मतदान केन्द्र नराखेको भए हुने थियो भन्ने मलाई लाग्छ । उपचारको क्रममा आएका नागरिकले उपचार नपाउने वा निर्वाचन प्रक्रियाले गर्दा असर पर्ने हुनसक्छ । यसमा विकल्प खोजेर सहजीकरण गर्न उपयुक्त हुन्छ । यसलाई कसरी सहज बनाउन सकिन्छ, त्यसमा ध्यान दिउँ । अपाङ्ग वा जेष्ठ नागरिकलाई सजिलो तरिकाले मतदान गर्ने व्यवस्था मिलाउनु पर्दछ ।

आचार संहित लागू भएको छ । आचार संहिता कार्यान्वयनमा आयोगले राम्रै प्रयास गरेको छ । दलका नेता र राजनीतिक दलहरुले द्धन्द्धको अवस्था सिर्जना गरेको देखिएन ।

शान्तिपूर्ण तरिकाले मतदान हुने जुन वातावरण निर्माण भइरहेको छ । यो प्रजातन्त्रको लागि सुखद पक्ष हो ।

सामाजिक सञ्जालमा देखिएका कतिपय विषयलाई कसरी नियमन गर्ने तिर सोचौं । सामाजिक सञ्जालमा आएका कुरालाई सुरुमै रोक्न पनि सकिन्न । समस्या छ, तर त्यसलाई कसरी व्यवस्थित बनाउने तिर लाग्नुपर्दछ ।

यस निर्वाचन र पछि आउने निर्वाचनका लागि पनि सामाजिक सञ्जाललाई व्यवस्थित बनाउने कार्य गर्नुपर्दछ । आजको दिनसम्म हेर्दा निर्वाचनको तयारी शान्त देखिन्छ । निष्पक्ष र धाँधली रहित निर्वाचन होला भनि आशा राख्न सकिन्छ ।

(आम निर्वाचन पर्यवेक्षण समिति नेपालले शुक्रबार राजधानीमा गरेको चुनाव सम्बन्धी कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले राखेको विचारको सम्पादित अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?