+
+

कर्णालीका हिमाली जिल्लामा अझै भएन मतपेटिका संकलन, हेलिकोप्टर पठाइँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते ११:२५

५ मंसिर, सुर्खेत । कर्णाली प्रदेशका कतिपय हिमाली जिल्लाहरूमा अझै मतपेटिका संकलन हुन सकेको छैन । आइतबार नै मतदान सम्पन्न भए पनि भौगोलिक विकटता र सडक सञ्जालको पहुँच नहुँदा मतपेटिका संकलन हुन नसकिरहेको हो ।

सडक सञ्जाल नजोडिएको र हेलिकोप्टरबाट संकन गर्नुपर्ने भएकाले अझै पनि मतपेटिका सम्बन्धित क्षेत्रमा ल्याउन नसकिएको हो । प्रदेशको डोल्पा, हुम्ला, मुगु, जाजरकोट र कालिकोटमा मतपेटिका संकलन गर्नै बाँकी छ ।

हुम्ला र डोल्पाका अधिकांश ठाउँको मतपेटिका संकलनका लागि हेलिकप्टरको प्रयोग गर्नुपर्ने अवस्था छ । अहिलेसम्म हेलिकोप्टर नै जिल्लामा नपुगेकाले मतपेटिका सम्वन्धित ठाउँमा पु¥याउन नसकिएको हुम्लाका प्रमुख निर्वाचन अधिकारी श्याम रानाले जानकारी दिए ।

उनका अनुसार जिल्लाका नाम्खा गाउँपालिको हल्दीदाङ, तिल, सर्केगाड, चंखेली, ताँजाकोट अदानचुलीमा मतदान केन्द्रहरूका मतपेटिका आएका छैनन् । ‘अधिकांश क्षेत्रका मतपेटिका हेलिकोप्टरबाट ल्याउनुपर्ने अवस्था छ । अहिलेसम्म हेलिकोप्टर हुम्ला पुगेको छैन, सुर्खेतबाट आउने भन्ने खबर सुनिएको छ,’ रानाले भने । हेलिकोप्टर समयमै आए आज बेलुकासम्म मतपेटिका संकलन गरिने रानाले जानकारी दिए ।

डोल्पाका २२ वटा मतदानस्थलबाट मतेपटिका ल्याउन हेलिकप्टर प्रयोग गर्नुपर्ने भएकाले आज बेलुकासम्म संकलन गरिने जिल्ला निर्वाचन अधिकारी रामबहादुर शाक्यले बताए । उनका अनुसार जिल्लाको छार्काताङ्सोङ से–फोक्सुन्डो, डोल्पोबुद्ध गाउँपालिकाका मतदान केन्द्रबाट मतपेटिका ल्याउनुपर्ने भए पनि अहिलेसम्म त्यहाँ हेलिकोप्टर पुग्न सकिरहेको छैन ।

मुगुका ग्रामीण क्षेत्रमा सडक नपुगेको र मतपेटिका बोकेर ल्याउनुपर्ने भएकाले ढिलाइ भएको जिल्ला निर्वाचन अधिकारी विष्णु न्यौपानले जानकारी दिए । ‘हेलिकोप्टरबाट मतपेटिका ल्याउने भनिए पनि अन्तिममा बोकेर पैदल ल्याउनुपर्ने भयो,’ उनले भने । उनका अनुसार खत्याड गाउँपालिका वडा नम्बर १० र ११ सोरु गाउँपालिकाका ९, १० र ११ वडाहरूमा गाडी चल्दैन ।

कालीकोटको पचालझरना, पलाँता, सान्नीत्रिवेणी, नहरीनाथ गाउँपालिका र रास्कोट नगरपालिकाका केही स्थानबाट मतपेटिका ल्याउन बाँकी रहेको जिल्ला निर्वाचन अधिकारी धनबहादुर मल्लले जानकारी दिए ।

सल्यान र दैलेख–१ को मतगणना भने सुरू हुँदैछ । सुर्खेत २ को भने साढे ११ बजेदेखि मतगणना हुने छ । सुर्खेत १ को सिम्ता गाउँपालिका–६ स्थित सिम्ता बहुमुखी क्याम्पसमा रहेको मतदानस्थलमा मतदान स्थगित भएको छ । उक्त केन्द्रमा मतदान कहिले हुने भन्ने टुंगो छैन ।

१२ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको कर्णालीमा एउटाबाहेक सबै मतदानस्थलमा मतदान सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?