+
+

गोरखामा प्रचण्डको क्षेत्रमा पुनः मतदान गर्न एमालेको माग

विकास मरहट्टा विकास मरहट्टा
२०७९ मंसिर ५ गते १५:३७

५ मंसिर, गोरखा । निर्वाचनमा धाँधली भएको भन्दै गोरखाका केही मतदान केन्द्रमा पुनः मतदान गर्न माग गरिएको छ । नेकपा एमाले लगायतका अन्य केही साना दलले १२ मतदान केन्द्रमा पुनः मतदान हुनुपर्ने माग गरेका हुन् ।

सोमबार चाइनिजधारा स्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनीहरुले गोरखा–२ को सात मतदान केन्द्रमा धाँधली भएको बताए । यो क्षेत्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार छन् । उनीसँग नेकपा एमालेका अब्दुस मियाँ र राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी उम्मेदवार छन् ।

बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ४ रन्चोकको दुर्गा मावि र हिमालय मावि, सोही पालिकाको सूर्यज्योति मावि, पालुङटार नगरपालिका वडा नम्वर ७ को जीवनज्योति मावि, वडा नम्वर १ को स्थानिका आधारभूत विद्यालय, सिरानचोक गाउँपालिका–८ जौवारी स्थित परोपकार आदर्श मावि र अजिरकोट गाउँपालिका–३ को ज्ञानज्योति माविको मतदान केन्द्रमा बाम गठबन्धनले धाँधली गरेको उनीहरुको आरोप छ ।

त्यस्तै गोरखा–१ को चार वटा मतदान केन्द्रमा पनि धाँधली भएको उनीहरुले बताएका छन् । भीमसेन थापा गाउँपालिका–१ को बालकल्याण आधारभूत बिद्यालय, बिन्द्रवती मावि, वडा नम्बर ८ को भीमसेन आधारभूत विद्यालय र धार्चे गाउँपालिका–३ को पार्वती आधारभूत विद्यालयको मतदान केन्द्रमा पनि पुनः मतदान हुनुपर्ने उनीहरुको माग छ ।

सत्ता र शक्तिको आडमा मृतक, वेपत्ता र विदेशमा रहेकाहरुको नामबाट पनि मतदान भएको एमालेको आरोप छ ।

अन्य उम्मेदवारका फर्जी प्रतिनिधि खडा गरेको, आफ्ना प्रतिनिधिमाथि हातपात गरेको आरोप समेत उनीहरुले लगाएका छन् । निर्वाचन आचारसंहिता विपरीत बुथ कब्जा गर्दा समेत प्रहरी र प्रशासन मौन बसेको उनीहरुले आक्रोश समेत व्यक्त गरे ।

पुनः मतदान नभएसम्म मतगणनामा सहभागी नहुने अडान लिएपछि गोरखामा अझै मतगणना सुरु हुन सकेको छैन । गोरखा क्षेत्र नम्बर २ को मतगणनाका लागि सोमबार बिहान दश बजे सर्वदलिय बैठक बसेको थियो । तर मतगणना भने सुरु हुन सकेन ।

मतगणना स्थलको थप व्यवस्थापन गर्नुपर्ने भएकाले सुरु हुन नसकेको निर्वाचन क्षेत्र नम्वर २ का अधिकृत नारदप्रसाद भट्टराईले बताए । ‘निर्वाचन आयोगले एकैपटक चार ठाउँमा मतगणना गर्न मिल्ने गरी स्थलको व्यवस्थापन गर्नु भनेपछि अहिले हामी स्थलको थप व्यवस्थापनमा जुटेका छौ,’ उनले भने, ‘त्यो सके लगतै सर्वदलLय बैठक बसेर मतगणना सुरु गर्छाैं ।’

यता नेकपा एमाले लगायतका केही साना दलहरु भने धाँधली भएको मतदान केन्द्रमा पुनः मतदान नभएसम्म मतगणनामा सहभागी नहुने बताउँदै आएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल परिवार दल, हाम्रो नेपाल पार्टी, राप्रपा नेपाल र स्वतन्त्र उम्मेदवारले समेत एमालेलाई साथ दिँदै पुनः मतदानको माग गरेका छन् ।

गोरखा निर्वाचन क्षेत्र नम्वर २ को मतपेटिका हिजै संकलन भइसकेको छ भने १ अन्तर्गत उत्तरी गोरखाका मतपेटिका हेलिकप्टर मार्फत ढुवानी भइरहेको छ ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?