+
+

क्षेत्र परिवर्तन गरेका लक्ष्मणलाल कर्णको जोगिएन जमानत

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते १७:३७

७ मंसिर, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता लक्ष्मणलाल कर्णको जमानत जफत भएको छ । उनी पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । अन्तिम मत परिणाममा चौथो स्थानमा रहेका कर्णले १ हजार ११७ मत प्राप्त गरे ।

जनता समाजवादी पार्टीका प्रदीप यादव २२ हजार ५३७ मतसहित विजयी बन्दा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बागी उम्मेदवार अजय द्विवेदीले २० हजार ९१७ मत प्राप्त गरे ।

तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका किरणमान डंगोलले २ हजार ६५१ मत प्राप्त गरे । पर्सा-१ बाट प्रतिनिधिसभा सदस्य पदमा २१ जनाले उम्मेदवारी दिएका थिए ।

प्रतिनिधिसभा निर्वाचन ऐनअनुसार हरेक उम्मेदवारले जमानत जोगाउनका लागि कुल खसेको मतको १० प्रतिशत मत प्राप्त गर्नुपर्छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७० मा उम्मेदवारीले राख्नुपर्ने धरौटीबारे उल्लेख गरिएको छ ।

‘उम्मेदवारले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनमा उम्मेदवार हुनका लागि १० हजार रुपैयाँ सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा र समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनमा उम्मेदवारको बन्दसूचि पेश गर्ने दलले पचास हजार रुपैयाँ आयोग समक्षा धरौटी राख्नुपर्नेछ,’ उक्त दफामा भनिएको छ ।

पर्सा क्षेत्र नम्बर १ मा कुल मतदाता ७७ हजार ९३३ रहेकामा ५१ हजार ३७९ मत खसेको थियो । यसमा केही मत बदर भएको भए पनि उनले धरौटी जोगाउन झण्डै पाँच हजार मत प्राप्त गर्नुपर्छ ।

लक्ष्मणलाल कर्ण अघिल्लो निर्वाचनमा पर्सा ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । प्रदीप यादव भने अघिल्लो चुनावमा पनि पर्सा १ बाटै निर्वाचित भएका थिए । लोसपा अन्तिम समयमा सत्ता गठबन्धनतिर लागेपछि पर्सा ४ मा कांग्रेसका रमेश रिजाललाई छाड्दै कर्ण पर्सा-१ पुगेका थिए ।

पर्सा-१ मा कांग्रेसका असन्तुष्ट पक्षले द्विवेदीलाई बागी उम्मेदवार बनाएको थियो । द्विवेदी निकटतम् प्रतिद्वन्द्वी बनेपनि कर्ण भने धरौटी जोगाउन पनि सफल भएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?