+
+

दोस्रो जित निकालेर प्रभाव पुष्टि गरेका मन्त्री थापा

विकास रोकामगर विकास रोकामगर
२०७९ मंसिर १० गते १५:२२

१० मंसिर, पोखरा । सुरुदेखि नै नेकपा एमालेले रेड जोनमा राखेको र नेपाली कांग्रेसले सुनिश्चित मानेको क्षेत्र हो, कास्की–२ (२) । तर, निर्वाचनको मिति जति नजिकिँदै जान्छ, उति नै अप्ठेरो र चुनौतीको समना गर्ने परस्थितिमा पुगे गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार विन्दुकुमार थापा ।

अन्तिम समयसम्म पनि यसै क्षेत्रबाट टिकट पाउन कसरत गरेका गण्डकीका भौतिक पूर्वाधार मन्त्री कुमार खड्काले टिकट नपाएपछि थापालाई हराउन भूमिका खेलेको आरोप लाग्यो । कांग्रेस उम्मेदवार थापाका कमजोरी पक्ष केलाएर एमाले उम्मेदवार मीना गुरुङलाई जिताउन लागेको आरोपमा खड्का मतदानको ४ दिनअघि मन्त्रीबाट बर्खास्तीमा परे ।

मतदानको मुखमै खड्का कारबाहीमा परेपछि मुख्यमन्त्रीले गलत गरेको भन्दै कांग्रेसभित्रै ‘एन्टी मुभमेन्ट’ चल्यो । भोलिपल्टै पत्रकार सम्मेलन गरेर बर्खास्तमा परेका खड्काले उम्मेदवार थापाका् कमजोरी पक्ष खोलेनन् मात्र मुख्यमन्त्रीले गरेका गलत कामको पनि सनसनी पूर्ण अडियो–भिडियो सार्वजनिक गर्ने बताए । खड्काको पत्रकार सम्मेलनपछि कांग्रेसलाई सक्न खोजेको भन्दै उल्टै विन्दुकुमारकै पक्षमा माहोल बनेको कांग्रेसका नेताहरु बताउँछन् ।

निर्वाचन आचारसंहिता विपरीत प्रचारमा गएको भन्दै खड्काको जन्म वडा १६ मा विन्दुकुमारमाथि एउटा समूहले अवरोध गर्दै घेराबन्दी नै गरे । त्यो घटनाले कांग्रेसीजनभित्र थप कसिलो हुन सहयोग गरेको विश्लेषण नेताहरुको थियो ।

चुनावको मिति नजिकिँदासम्म पनि कांग्रेस उम्मेदवार थापा चौतर्फी घेराबन्दीमा थिए । अघिल्लो पटक कास्कीमा कांग्रेसको ‘बीऊ’ जोगाएका थापा कांग्रेस नेतृत्वको सरकारमा कानुनमन्त्रीसमेत बने । थापाले मन्त्री हुँदा आफ्नै जग्गा तथा घडेरीमा बजेट हालेकोदेखि कांग्रेस सभापति शेरबहादुर देउवा पत्नीलाई मोटो रकम बुझाएर टिकट ल्याएको अपुष्प हल्लाहरु पनि निर्वाचन क्षेत्रमा थियो ।

थापा आफैं मतदाता रहेको वडा नम्बर ८ मा एउटा समूह थापाकै विपक्षमा थियो भने कांग्रेसका नेताहरु नै खुलेर प्रचारमा लागेका थिएनन् । गुरुङ समुदायको बाहुल्य रहेको क्षेत्रमा एमालेबाट गुरुङ नै उम्मेदवार भएकाले मत काटिने अनुमानहरु पनि थिए । कृष्णचन्द्र नेपालीको सरकार बन्दा सुरुमा पक्का भइसकेको डोबाटे विकको टिकट खोसेको आरोपसमेत उनीमाथि थियो । गण्डकी प्रदेशका मन्त्रीहरुको सार्वजनिक सम्पत्ति विवरण अनुसार थापा धनाढ्य मन्त्री हुन् ।

अघिल्लो पटक थापासँगै बागी उम्मेदवारी दिएका दिनेशशंकर पालिखेदेखि केही नेवार समुदायका नेताहरु पनि विपक्षमा लागेको रिपोर्टिङ थापाले पाएका थिए । पैसाको बलमा चुनाव जित्न खोजेकोदेखि खड्का बर्खास्तमा परेपछि वडा नम्बर १६ बाट थापालाई मत नदिनेसम्म चर्चा कास्कीभरि नै थियो । यी सबै चर्चा र चौतर्फी दबाबलाई पार गर्दै नेपाली कांग्रेसका धनाढ्य उम्मेदवारको परिचय बनाएका थापाले दोस्रो पटक चुनाव जितेर प्रदेश सभाको यात्रा तय गरेका छन् ।

एमालेभित्रका असन्तुष्टहरुको मत पनि आफ्नो पक्षमा पार्न थापा सफल भएको नेताहरुको विश्लेषण छ । अर्कोतर्फ राप्रपाले कांग्रेसकै मत काटेको भए पनि उक्त मत नेकपा एमालेतिर नजोडिँदाको फाइदा पनि थापाले नै भएको छ ।

थापालाई सबैभन्दा ठूलो डर आफ्नो वडा र क्षेत्रमा करोडौं रुपैयाँको बजेट हालेर १ वर्षदेखि चुनावी अभियानमा लागेर पनि टिकट नपाएका र चुनावको मुखमै बर्खास्तमा परेका खड्कासँगै थियो । तर, त्यो वडाबाट पनि अपेक्षित मत प्राप्त गर्दै थापा विजयी भए ।

गत स्थानीय निर्वाचनमा समेत मन्त्री रहेकै बखत पोखरा महानगरको मेयर बन्न आकांक्षा राखेका थिए । त्यसैले आफ्नै पार्टीका कार्यकर्ताबाट पनि उनलाई अवसरवादी नेताका रुपमा प्रचार गरिएको थियो । उनले ०७४ को स्थानीय निर्वाचनमा समेत मेयरमा दाबी गरेका थिए ।

तर, थापाले अघिल्लो पटकभन्दा यसपटक मतान्तर बढाएर नेकपा एमालेकी गुरुङलाई पराजित गर्दै दोस्रो पटक निर्वाचित भए । अघिल्लो पटक ७ सय ७५ मतान्तरले विजयी भएका थापा यसपटक एक हजार ३०९ मतान्तरले विजयी भए ।

थापाले ९ हजार २८० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी मीना गुरुङले ७ हजार ९७१ मत पाएकी थिइन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका गिरीले ३ हजार ९०३ मत पाएका थिए ।

कांग्रेस नेतृत्वको सरकार बन्ने बेलामै प्रभावशाली मन्त्रालयको आशा गरेका थापाले यसपटक आफू पनि मुख्यमन्त्रीको आकांक्षी भएको बताएका थिए । तर, कांग्रेसमा लगातार ३ पटकसम्म केन्द्रीय सदस्य तथा यसअघि नै राष्ट्रिय सभामा संसदीय दलका नेता बनेर प्रदेश झरेका गोरखाका सुरेन्द्र पाण्डे नै प्रमुख दाबेदार मानिएको छ । पाण्डे र थापा दुबै देउवा समूहकै हुन् ।

मुख्यमन्त्री पाउने सम्भावना कम भए पनि यसपटक भने थापाले प्रभावशाली मन्त्रालय पाउने पक्काजस्तै भएको कांग्रेस नेताहरु बताउँछन् । कांग्रेसका मुख्यमन्त्री कृष्णचन्द्र र माओवादीका अर्थमन्त्री रामजी बराल हुँदा गण्डकी प्रदेश सरकारमा विवाद भए भने अर्कोतिर मुख्यमन्त्रीकै निर्देशन पनि अर्थमन्त्रीले अवज्ञा गरेको सतहमै आएको थियो ।

त्यसैले यसपटक कांग्रेस नेतृत्वमा सरकार बन्दा अर्थमन्त्रालय आफैंले राख्नुपर्ने आवाज उठिरहँदा थापाको दाबी पनि त्यसमै रहने उनी निकटस्थहरु बताउँछन् । यसअघि थापाको चाहना भने भौतिक पूर्वाधार मन्त्रीमा थियो ।

बैंक, होटल, हाउजिङ तथा रियलस्टेट लगायत दर्जनौं व्यवसायमा लगानी भएका थापा अधिवक्तासमेत हुन् । नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी थापा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत हुन् ।

थापा वि.सं. २०५० सालमा नेपाल राष्ट्र बैंक स्टाफ संघको सदस्य, नेपाल अटोमोबाइल डिलर्स एशोसिएसन नाडा उपाध्यक्ष, नेपाल रसिया च्याम्बर अफर कमर्श गण्डकीको अध्यक्ष भएका थापा गण्डकीमा धनाढ्य मन्त्रीको परिचय बनाएका छन् ।

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षपछि एकाएक कांग्रेसमा सक्रिय भूमिकामा देखिएका थापाको राजनीतिक छलाङलाई कतिपयले अस्वभाविक पनि मानिरहेका थिए । यसअघि नै कास्कीमा कांग्रेसबाट जित्ने एकमात्र सांसद बनेपछि चर्चा र चासोको केन्द्रमा आएका थापाले यसपटक कठिन परिस्थितिमा पनि चुनाव जितेपछि आफ्नो प्रभावलाई थप मजबुत बनाएका छन् ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?