+
+

रविजी, बालबालिकालाई नबिर्सनुस्

बाटोहरू बन्दै जाला, विकास हुँदै जाला, अस्पताल पनि बन्दै जानेछन्, तर बाल स्वास्थ्य प्रणाली स्थापनामा धेरै ढिला गरिनुहुन्न । यसमा हुने आनाकानी भविष्यप्रतिको बेइमानी हो । समृद्धिको जनचाहना विपरीत छ ।

प्रा.डा. दीपराज थापा प्रा.डा. दीपराज थापा
२०७९ मंसिर १६ गते १६:२४

राजनीतिमा प्रवेशको निर्णयसँगै रवि लामिछानेका बारेमा अनेक हल्ला चले । आरोप लागे ।

अनि अनुमानहरू पनि सुरु भए ।

‘कसैसँग सरसल्लाह नगरी आफैं मपाईं बनेर पार्टी खोले । केही वर्ष राजनीति गरेपछि बल्ल थाहा पाउँछन् । चितवनका जनताले पनि थाहा पाउनेछन् कि उनीहरूले गल्ती गरे र त्यो गल्ती फेरि सच्चिनेछ ।’

यस्तै यस्तै अनेक आरोप लगाउने पुराना दलका नेता र कार्यकर्ता एक्कासी देशैभरि बजेको चर्को घन्टीको आवाजले ब्युँझिए। सशक्त युवा उम्मेदवारले ल्याएको र समानुपातिकमा आएको मत देखेर आत्तिन थालेका छन्, मुटु कमाउन थालेका छन् ।

गणतन्त्रले जन्माएको नेपाली राजनीतिमा आरोप–प्रत्यारोपको फोहोरी राजनीति हुन थालेको दशकौं भयो । संसद भवनभित्रको बहसमा पनि यस्तै आरोप–प्रत्यारोप व्यक्तिगत रूपमा नै हुने गरेको छ जुन अत्यन्तै संवेदनशील विषय बनेको छ ।

आरोप नै आरोपले भोट जित्ने सपना बोकेका कैयौं नेताका चर्का भाषणले यसपटक काम गरेन । देश र जनताको संवेदनशील विषयवस्तु र नीति–नियमको बहस र छलफल हुनुपर्ने संसद भवनभित्र यस्तै किचलो शैली प्रयोग गरेर खितिती हाँसेर, कि त भुस्भुस् निदाएर, र्‍याल चुहाएर, कि त खैनी र सुर्ती थुकेर संसदीय योग्यता र मान्यताको खिल्ली उडाएर दशकौं विताइरहेका नेताहरूलाई यी र यस्ता आरोप लगाउनु कुनै नौलो कुरा मान्नु नै हुन्न ।

प्रा.डा. दीपराज थापा

केही मै हुँ भन्ने नेतालाई जनताले विसर्जन गरे पनि यो निर्वाचनमा पनि धेरै जसो त्यही पुरानै सोच, शैली र अवधारणामा रहिरहने, यस्तै आरोप–प्रत्यारोपमा फेरि पाँच वर्ष विताउन चाहनेहरू नै भित्रिएका छन् ।

अब फेरि सोच्दै होलान् अब के–कस्ता आरोपले प्रतिपाद गरौं र अन्य नेताहरूलाई चर्कोस्वरले ठिक लगाऊ भनेर । उनीहरूलाई सोच्न समय दिंदै गरौं, अब सुरु गरौं ‘मेरो आशा, जनताको चासोको विषय’ रविजी आँखा अझै उघार्नुस् ।

प्रिय रविजी, सर्वप्रथम त प्रतिनिधिसभा सदस्यमा जनताको भरपुर मत प्राप्त गरी विजयी हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना छ । मतदान गणना भएको पहिलो दिन मेरो पनि मुटुमा घन्टी बज्यो, धड्कन बढ्यो, कतै रविले हार्ने त होइनन् भनेर । मैले खसेको मत कति हो भनेर हेरेको थिइनँ र फेरिलगत्तै फेसबुकमा देखिन थाल्यो कमेन्टहरू जसबाट थाहा भयो ८० हजार भन्दा माथि रहेछ खसेको मत ।

अब जनता, राजनीतिक दल, पत्रकार, बुद्धिजीवी, देश–विदेशमा रहने सम्पूर्ण नेपालीले पाँच वर्ष तपाईंको मूल्याङ्कन गर्नेछ, एक–एक गरेका, बोलेका, निर्णय गरेका कार्यहरूको नोट या डायरी बनाएर राख्नेछन् ।

यो पाँच वर्ष तपाईंको आफ्नै भविष्य पनि कोरिनेछ, जसरी तपाईं जनताको भविष्य कोर्छु भन्दै लाग्नुभएको छ । त्यसैले तपाईंले बोलेका र गरेका हरेक कार्यको हिसाब र मूल्य धेरै ठूला हुनेछन्, दिमागमा सम्झिएर राख्नुहोला । अब जनताले रवि मात्र होइन देशैभरि नयाँ युवाहरूको लहर देखिसकेको छ, गाउँ–गाउँमा घन्टी सुनिएको छ, शहर–शहरमा घन्टी धेरै बजेको छ, कानै फुट्ने गरेर । अझ युवा महिला नेतृहरूको आगमनले धेरैमा नयाँ आशा पलाएको हुनुपर्छ ।

जनता बदलिंदैनन् भन्ने गरिन्थ्यो, तर यसपटकको चुनावी नतिजाले केही फरक देखाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाएको मतले जनता परिवर्तनशील हुन्छन् भन्ने सन्देश बलियो गरी दिएको छ । यद्यपि यो भोट अहिलेका पुराना राजनीतिक दलको असफलताबाट निराशाको मत हो भन्ने तर्क यत्रतत्र सुनिन्छ ।

यसमा विशेषत: राष्ट्रिय स्वतन्त्र पार्टीको मुख्य एजेन्डाको कति ठूलो भूमिका रहेको छ छैन भन्ने कुरा महत्वपूर्ण हुन आउँछ। जे होस्, रास्वपाले रविको लोकप्रिय मत पायो। अबको पाँच वर्ष आफ्ना एजेन्डाहरू जनतासमक्ष पुर्‍याउन/बुझाउन रास्वपासँग प्रशस्त समय छ । यसको भरपूर सदुपयोग हुनुपर्छ।

फेसबुकमार्फत रविले मतदाताहरूलाई व्यक्त गरेको १० बुँदे प्रतिबद्धताका बुँदाहरू पढ्ने अवसर पाएँ। साथै, रास्वपाका वाचापत्र पनि पढें । त्यहाँ केही महत्वपूर्ण बुँदाहरू छुटेको महसुस भएको छ । छुटेको एउटा महत्वपूर्ण विषय हो- बालबालिकाको स्वास्थ्य प्रणाली ।

देशको गञ्जागोल राजनीतिक अवस्था, आर्थिक विपन्नता, सामाजिक भेदभाव, वातावरण प्रदूषण, शिक्षा र स्वास्थ्य प्रणालीमा न्यून गुणस्तरीयताको मुख्य पीडक बालबालिका रहेका छन्। सानै उमेरदेखि नै आफ्नो बाल अधिकारबाट वञ्चित लाखौं निर्दोष बालबालिकाको बालअधिकार र सुनौलो भविष्यको जिम्मेवारी नेपाल जस्तो देशमा बालबालिकाको अभिभावकहरूलाई छोड्न मिल्दैन र राज्यले पूर्ण जिम्मेवारी लिन सक्नुपर्छ। बालबालिकाको स्वास्थ्यलाई सकारात्मक प्रभाव पार्नको लागि गर्भदेखि नै गर्भवती महिला र गर्भभित्रको शिशुको स्वास्थ्य सम्बन्धी जिम्मेवारी सरकारले लिनुपर्दछ।

शिक्षास्तर कम भएका अभिभावकलाई अनौपचारिक शिक्षा दिनु, उनीहरूलाई बालबालिकाको स्वास्थ्यमा सजग बनाउनेदेखि लिएर बालबालिकाको स्वास्थ्य जाँच बुझ्न र उपचार गराउने जिम्मेवारी पनि सरकारले लिन सक्नुपर्छ। अन्यथा ती बालबालिकाहरू आर्थिक विपन्नताको खाडलभित्र भासिइरहने छन् ।

रास्वपाको वाचापत्रमा कम्तीमा गुणस्तरीय स्वस्थ बालबालिका (१८ वर्षसम्म) नि:शुल्क र समान पहुँचको बनाउने छौं भनेर लेखिनुपर्थ्यो । तर वाचापत्रमा त्यो स्पष्टता देखिएको छैन।

रवि लामिछाने सञ्चारकर्ममा रहँदा पनि धेरैजसो बिरामी, दुःखी र विपन्न नागरिकको हितमा काम गर्न सक्रिय रहे । धेरै बालबालिका र वयस्कलाई सहयोग पुगेको छ । उनीहरूलाई सहयोग लिन सजिलो हुन्छ जो आफ्नो कुरा भन्न सक्छन्, चिच्याएर अरुलाई सुनाउन सक्छन् । तर, बालबालिका आफ्नो स्वास्थ्य र शिक्षाको अधिकारको लागि आफैं चिच्याउन सक्दैनन् ।

उनीहरूलाई के छ आफ्नो आवश्यकता भन्ने नै थाहा हुँदैन, जे पाइन्छ र जस्तो वातावरणमा हुर्किन्छन्, जे जस्तो शिक्षा र स्वास्थ्य पाउँछन् त्यही नै सही हो, ठिक हो भन्ने ठान्दछन् । जुन गरिबीले प्रताडित समाजका बालबालिकाले गुणस्तरीय स्वास्थ्य उपचार लिने कुरा सोच्न पनि सक्दैनन् । सामाजिक अन्याय र भेदभाव विद्यमान समाजबाट बालबालिकाले सामाजिक अन्याय र भेदभाव हुनुलाई सामान्य ठान्दछन् । उनीहरू निरन्तर गरिबीमा बाँच्न अभिशप्त हुन्छन् ।

हाम्रो राजनीतिक नेतृत्वले के बुझ्न ढिला गर्नुहुँदैन भने बालबालिकाको स्वास्थ्यमा लगानी गर्नु भनेको देशको भविष्यलाई नै लगानी गर्नु हो । यो लगानीले स्वस्थ जनशक्तिको आधारस्तम्भ खडा गर्दछ ।

रविको वाचापत्रमा लेखिएजस्तै धेरै शय्या भएका अस्पताल बनाइनु राम्रो हो । बन्नुपर्छ, तर स्वास्थ्य क्षेत्रमा बिरामी भैसकेकालाई उपचार गर्नु र रोग नलागेका स्वस्थ नागरिकहरूलाई स्वस्थ रहिरहनको लागि र रोगहरूको रोकथामको विधिहरू यत्रतत्र सर्वत्र बनाउनको लागि पनि एकैचोटि रोगका रोकथाम र जनस्वास्थ्य प्रवर्धनका नीति र स्वास्थ्य प्रणालीहरू सँगसँगै स्थापना गर्दै जान सक्नुपर्छ ।

म जनस्वास्थ्यकर्मी र जनस्वास्थ्यविद् भएकोले यस्ता प्रणालीमा सरकारको राष्ट्रिय नीति र प्रणालीको महत्व धेरै हुन्छ भन्ने बुझेको छु । बालबालिकाको स्वास्थ्य प्रणालीमा अहिले नै ध्यान दिन सकिएन भने जति नै अस्पताल निर्माण गरे पनि अपर्याप्त हुनेछ । अहिले नै हेर्दा नेपालका नागरिकहरूको स्वास्थ्य स्थिति गम्भीर अवस्थामा पुगिसकेको छ । मधुमेह, मुटुरोग र क्यान्सर धेरै जनताको अस्वस्थता, बिमारीपन र मृत्युको कारक बनिरहेको छ।

त्यसैले अबको दुई-तीन दशकको नेपाल कल्पना गर्नुस्, हाम्रा जनशक्तिहरू काम र आयआर्जन भन्दा आफ्नो उपचारमै तल्लीन हुने अवस्था देखिन्छ । तसर्थ बालबालिकाको स्वास्थ्य प्रवर्धन, रोगको रोकथामको लागि आवश्यक नि:शुल्क र गुणस्तरीय स्वास्थ्य प्रणाली सरकारको दायित्वमा हुने गरी स्थापना र कार्यान्वयन हुनुपर्ने देखिन्छ।

बाटोहरू बन्दै जाला, विकास हुँदै जाला, अस्पताल पनि बन्दै जानेछन्, तर बाल स्वास्थ्य प्रणाली स्थापनामा धेरै ढिला गरिनुहुन्न । यसमा हुने आनाकानी भविष्यप्रतिको बेइमानी हो । समृद्धिको जनचाहना विपरीत छ । स्वीडेन बसोबासको १८ वर्षमा म यहाँको बाल स्वास्थ्य प्रणालीदेखि असाध्यै प्रभावित बनेको छु। यहाँ बालबालिकाको स्वास्थ्यको गुणस्तरीयता र पहुँचमा समान अवसर र सम्पूर्ण उपचार र रोगको उपचार तथा स्वास्थ्य प्रवर्द्धनमा सरकारले जिम्मा लिने गर्छ र उपचार नि:शुल्क गराइन्छ।

रविजी, तपाईंले वाचापत्रमा लेख्नुभए जस्तै भ्रष्टाचार कम हुने अवस्थामा र विकासको लगानी बालस्वास्थ्य प्रणाली स्थापनामा लगाउने हो भने सम्भावना धेरै ठूलो छ। मुख्य रूपमा हरेक गाउँपालिका, नगरपालिका र महानगरपालिकाका वडा–वडामा तालिम प्राप्त र योग्यता भएका नर्स, मिडवाइफहरू र बाल विशेषज्ञ नर्सहरूको उत्पादन सुरुवात गर्नुपर्छ । हरेक जिल्लामा भौगोलिक दूरी हेरी बालअस्पतालहरू निर्माण गर्नुपर्छ र बाल विशेषज्ञ चिकित्सकहरूलाई यस्ता अस्पतालमा लगेर सेवा दिन सक्नुपर्छ ।

सम्पूर्ण बालबालिकाको स्वास्थ्य बीमाको जिम्मा सरकारले लिन सक्नुपर्छ । विश्वमा स्वीडेन जस्तै धेरै राष्ट्रहरू होलान् जहाँबाट नेपालले सिक्न सक्छ । नेपालका स्वास्थ्यविद् र बाहिरी देशका यस्ता प्रणाली जानेका स्वास्थ्यविद्हरूको छलफलबाट नेपाललाई मिल्ने बालस्वास्थ्य प्रणाली स्थापना गर्न धेरै जटिल अवस्था छैन । यो महत्वपूर्ण विषयमा रवि र रास्वपाको ध्यान जाओस् । आँखा खुलोस् । समृद्ध नेपाल निर्माणको यो यात्रामा सफलताको कामना गर्दछु ।

सिन्धुली (हालः स्वीडेन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?