+
+

पारा तेक्वान्दो खेलाडीद्वय पलेशा र सृजनाले वरीयताप्राप्त ग्राण्ड प्रिक्स फाइनल खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १६ गते १७:५५

१६ मंसिर, काठमाडाैं । सन् २०२४ मा फ्रान्सको पेरिसमा हुने पारा ओलम्पिकमा सिधा छनोटको प्रयासस्वरुप दुई जना खेलाडीसहितको नेपाली टिम वरीयता प्राप्त प्रतियोगिता खेल्न साउदी अरब जाने भएको छ ।

डिसेम्बर ८ देखि १० सम्म साउदी अरेबियाको रियादमा हुने वर्ल्ड पारा तेक्वान्दो ग्राण्ड प्रिक्स फाइनल (जी–१०) प्रतियोगितामा नेपालबाट ओलम्पियन पलेशा गोवर्धन र सृजना घिसिङले प्रतिस्पर्धा गर्नेछन् । यी दुई खेलाडी र प्रशिक्षक कविरान नेगी लामालाई शुक्रबार नेपाल तेक्वान्दाे संघका अध्यक्ष प्रकाशशमसेर राणा लगायतले विधाई गरे । नेपाली टोली सोमबार खेलस्थलतर्फ प्रस्थान गर्नेछ ।

पारा तेक्वान्दोको के ४४ विधाअन्तर्गत पलेशाले ५७ केजीमूनि र सृजनाले ५२ केजीमूनि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् । सन् २०२० टोकियो पारा ओलम्पिकमा पदकको नजिक रहेर पराजित रहेकी पलेशा हाल आफ्नो तौलसमूहको विश्व वरीयतामा दशौं स्थानमा छिन् । सृजना आफ्नो तौलसमूहको विश्व वरीयतामा १४औं स्थानमा छिन् ।

यो प्रतियोगितामा विश्व वरीयतामा शीर्ष १६ स्थानका खेलाडीले मात्र सहभागिता जनाउन पाउनेछन् ।

प्रशिक्षक लामाले ओलम्पिकमा सिधा छनोट हुने प्रयासस्वरुप विश्व तेक्वान्दोले निर्धारण गरेका आधिकारिक वरीयताप्राप्त प्रतियोगितामा सहभागी गराउने रणनीतिअनुसार यो प्रतियोगिता खेल्न लागेको बताए । आआफ्नो तौलसमूहमा विश्व वरीयताको छैटौं स्थानमा रहने खेलाडीले ओलम्पिकमा सिधा प्रवेश पाउँछन् । यसअघि टोकियो ओलम्पिकमा पलेशाको सहभागिता वाइल्ड कार्डमार्फत भएको थियो ।

पारा ओलम्पियन पलेशा गोर्वधनले दुई वर्षअघि एशियन यूथ गेम्समा स्वर्ण पदक र एशियन गेम्समा रजत र सृजना घिसिङले यूथ एशियन गेम्समा रजत तथा डल्बुटी प्रसिटेन्ट कपमा रजत पदक जितेका थिए ।

प्रतियोगिताकै दौरान साउदीमा डब्लूटी गाला अवार्ड–२०२२ पनि आयोजना हुँदैछ । समारोहमा वर्षका उत्कृष्ठ खेलाडी, प्रशिक्षक, रेफ्री र सदस्य संस्थालाई विश्व तेक्वान्दो महासंघले नगदसहित अवार्डबाट पुरस्कृत गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?