+
+

सुन पसलबाट ठगी धन्दा, ५५ जनाबाट एक करोड ८० लाख ठगी

हरि अधिकारी हरि अधिकारी
२०७९ मंसिर १९ गते १९:४०

१९ मंसिर, विराटनगर । छोरी भेट्न विदेश जाने भएपछि सुन्दरहरैचा नगरपालिका-१० का ७८ वर्षीय टिकाबहादुर कोइरालाले २०७८ कात्तिकमा सुन्दरहरैचा नगरपालिका-१० मै रहेको कमला सुनचाँदी पसलमा तीन लाख रुपैयाँ राखे । पसल सञ्चालक राजु विश्वकर्मासँग विदेशबाट फर्कने बित्तिकै ब्याजसहित फिर्ता दिने शर्त थियो ।

छोरीलाई भेटेर गत साउन २७ गते घर फर्किएपछि कोइरालाले विश्वकर्मालाई फोन सम्पर्क गरे । ‘१० दिनभित्र पैसा दिन्छु भनेको थियो, पछि फोन उठाएन’, उनले भने, ‘बुबाबुढीको वृद्धभत्ता जोगाएर रकम जम्मा गरेको थिएँ ।’

हिजोआज उनी पैसा उठाइदिने आशामा जिल्ला प्रहरी कार्यालय मोरङमा धाइरहेका छन् । ठगी आरोपमा पसल सञ्चालक विश्वकर्मा र उनकी श्रीमती कमला विश्वकर्मा पक्राउ परेपछि ठगिएकाहरु रकम पाउने आशमा जिल्ला प्रहरी कार्यालय धाइरहेका हुन् ।

सुन्दरहैचा नगरपालिका– १० की मनमाया राईले १८ प्रतिशत ब्याज पाउने आश्वासन पाएपछि २०७८ साल पुस १२ गते विश्वकर्माले सञ्चालन गरेको कमला सुनचाँदी पसलमा १२ लाख रुपैयाँ राखेकी थिइन् ।

विश्वकर्माले उनलाई ६ महिनाभित्र सावा र ब्याज फिर्ता दिने बचन दिएका थिए । ब्याजवापत केही रकम दिएका विश्वकर्मा सावा रकम फिर्ता नदिई पसल छाडेर भागे । ‘छ महिनाका लागि १२ लाख रुपैयाँ राखेकी थिएँ’, उनले भनिन्,‘अस्ती साउन १८ गते तिर्ने भाका थियो, साउन १७ गते नै भागे ।’

सुन्दरहरैचा नगरपालिका-१० का इन्द्रबहादुर पुरीले पनि सोही सुनचाँदी पसलमा १० लाख रुपैयाँ राखेका थिए । विश्वकर्माको सुनचाँदी पसल नजिकै पोल्ट्री व्यावसाय गरिरहेका उनले २०७७ सालमा १० लाख रुपैयाँ राखेका थिए । तर फिर्ता पाएका छैनन् ।

टीकाबहादुर, मनमाया र इन्द्रबहादुरजस्तै ८० जना धेरै व्यक्ति कमला सुनचादी पसलका सञ्चालक विश्वकर्माबाट ठगिएका छन् । तीमध्ये ५५ जनाले जिल्ला प्रहरी कार्यालय मोरङमा ठगी आरोपमा उजुरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी टिकाबहादुर कार्कीका अनुसार ५५ जनाले एक करोड ८० लाख रुपैयाँ ठगिएको भन्दै उजुरी दिएका हुन् ।

‘सुरुमा ८३ लाख ७४ हजार रुपैयाँ ठगी गरेको उजुरी परेको थियो, विस्तारै पीडित थपिदै गए,’ उनले भने, ‘५५ जनाबाट एक करोड ८० लाख ठगी भएको उजुरी आएको छ । उजुरी आउने क्रम अझै जारी छ ।’

प्रहरीले गत कात्तिक २७ गते नै ठगी आरोपमा राजु र उनकी श्रीमती कमलालाई पक्राउ गरेको थियो । विश्वकर्मा दम्पती पक्राउ परेपछि पीडित खुल्नेक्रम जारी रहेको उनले बताए ।

विश्वकर्मा दम्पत्तिको दुई वटा घर र जग्गा रोक्का राखेर अनुसन्धान भइरहेको डीएसपी कार्कीले बताए ।

अनुमति विना नगद कारोबार

कमला सुनचाँदी पसललाई सुनचाँदी पसलको काम गर्ने मात्रै अनुमति छ । तर विश्वकर्माले पासबुक नै बनाएर सहकारीले झै रकम संकलन गरिरहेका थिए । केही वर्षयता पासबुक बनाएर महंगो ब्याजदरमा कारोबार गर्ने विश्वकर्मा फरार भएपछि मात्रै उनको ठगी धन्धा बाहिर आएको थियो ।

महंगो ब्याज पाउने आसमा सर्वसाधारणले पनि सुनचाँदी पसलमा रकम राखेका कारण ठगीमा परेको देखिएको प्रहरीले बताएको छ । अवैधानिक रुपमा पासबुक बनाएर कारोबार गर्ने विश्वकर्मा विरुद्ध अनुसन्धान जारी रहेको डीएसपी कार्कीले बताए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?