+
+
काठमाडौंमा प्रकाश झा :

‘बलिउड संकटबाट नेपालले बुझ्नुपर्छ, पैसाले सधैं काम गर्दैन’

हरेक चोटि नेपाल आउँदा प्रकाश झाको अपेक्षित भनाइ हुन्छ, ‘राम्रो कथावस्तु छ भने म सहकार्य गर्न तयार छु ।’ उनले किम्फमा पनि त्यसलाई दोहोर्‍याए, ‘केही नेपाली लेखक र निर्मातासँग काम गर्न इच्छुक छु ।’

विष्णु शर्मा विष्णु शर्मा
२०७९ मंसिर २२ गते १६:४४

काठमाडौं । बलिउडको अधोगति र सन्नाटालाई लिएर प्रकाश झाको टिप्पणी छ, ‘तपाईं पैसा कमाउन फिल्म बनाउनुहुन्छ भने त्यसले सधैं काम गर्छ भन्ने छैन । अहिले बलिउड त्यही भोगिरहेको छ ।’

नेपाल सीमावर्ती पश्चिम बिहारको पूर्वी चम्पारणमा जन्मे-हुर्केका झा समयको गतिमा बलिउडका अब्बल फिल्म निर्माता तथा निर्देशक बने । बेलाबेलामा काठमाडौं आइरहने अग्ला र खिरिला ज्यानका यी निर्देशक बिहीबार काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभलमा सुनिए ।

प्रमुख वक्ताको रुपमा किम्फमा उपस्थित भएका झाले बलिउड संकटदेखि नेपालमा कथावस्तुको सम्भावना र काठमाडौंलाई सांस्कृतिक सहरको रुपमा विकास गर्ने आइडियाबारे बोले । कुरा सुनिरहँदा यस्तो लाग्थ्यो उनी ‘आउटसाइडर’भन्दा नेपालका छिमेकी भएर गफ गर्दैछन् ।

बलिउडमा प्रकाश झाको खास विशेषता भनेको उनी व्यावसायिक र कलात्मक दुवै फिल्मलाई सन्तुलन मिलाउँछन् । एकातिर गंगाजल, राजनीति र चक्रव्युहजस्ता खँदिला फिल्म बनाएर बलिउड ‘मेनस्ट्रिम’मा तरंग छाडेका उनले अर्कोतिर दामुल, मृत्युदण्डजस्ता फिल्म बनाएर समानान्तर फिल्मलाई पनि अघि बढाए ।

आत्मा गुमाउँदा बलिउडको अधोगति तीव्र रुपमा भएको टिप्पणी गर्दै उनले अस्तित्व जोगाउन दक्षिण भारतीय र युरोपेली फिल्मको रिमेक गर्नुपरेको यथार्थ सुनाए । ‘बलिउडसँग अहिले आत्मा र कथा छैन । त्यही भएर अरु ठाउँबाट रिमेक गर्नुपरेको छ । कहिलेकाहीं त निर्देशकले पनि स्वयं केमियो रोल गरिरहेका हुन्छन्,’ उनको विश्लेषण छ ।

हरेक चोटि नेपाल आउँदा प्रकाश झाको अपेक्षित भनाइ हुन्छ, ‘राम्रो कथावस्तु छ भने म सहकार्य गर्न तयार छु ।’ उनले किम्फमा पनि त्यसलाई दोहोर्‍याए, ‘केही नेपाली लेखक र निर्मातासँग काम गर्न इच्छुक छु ।’

उनी अगाडि भन्छन्, ‘जब तिमी पैसा कमाउन फिल्म बनाउँछौं । तिमीले स्टारलाई पछ्याउनुपर्छ । भावनालाई मिसाउनुपर्छ र बजारसँग सम्झौता गर्नुपर्छ । यसले सधैं काम गर्छ भन्ने पनि छैन । पैसा कमाउने उद्देश्य राखेर फिल्म बनाउँदा मुख्य ध्यान पैसातर्फ हुन्छ ।’ उनको सुझाव छ, ‘यदि तिमी कथा सिर्जना गर्न चाहन्छौ भने यसमा लगानी गर र समय देऊ ।’

बलिउडको अधोगतिलाई हेरेर नयाँपुस्ताका फिल्म निर्माताले पाठ सिक्नुपर्ने उनको सुझाव छ । ‘आत्मा भएको फिल्म बनाउनुस्, बल्ल यसले काम गर्न थाल्छ । अन्त्यबाट कहिल्यै कथा सुरु हुँदैन । तिमीले काम गर्नैपर्छ । कथा र पात्रसँग कुरा गर’ तन्नेरी पुस्ताका फिल्ममेकरलाई झाको सुझाव छ ।

तपाईं चाहिं किन फिल्म बनाउनुहुन्छ ? झाका दुई सिधा उत्तर छन् । पहिलो- भन्न बाँकी कुरा जुन दर्शकलाई भन्नैपर्नेछ र दोस्रो- राम्रो व्यावसायिक मुनाफा । झाले फिल्म बनाउनु पछाडिका यी दुई कारणले उनी बलिउड ‘इको-सिस्टम’ भित्र रहेर कसरी काम गर्दैछन् भन्ने कुरालाई दर्शाउँछन् ।

झा निर्देशक मात्र हैनन्, अभिनेता पनि हुन् । उनले अभिनय गरेको पछिल्लो फिल्म ‘मट्टोकी साइकिल’ किम्फमा विशेष प्रदर्शन हुँदैछ । उनको काठमाडौं आगमन खास यही कारणले भएको हो । ‘अवसर र समयको गतिमा मैले कथावाचनका भिन्न पक्षमा आनन्द लिएको छु । भाषा नबुझे पनि अभिनय गर्न मज्जा आउँछ । बाटोमा आउने हरेक काम गर्छु र तिनलाई प्रेम पनि’ अभिनय गर्नुको कारणबारे उनी खुले ।

प्रकाश झा आफूलाई भाग्यमानी फिल्मकर्मी मान्छन् । ‘कहिलेकाहीं मैले गुमाउँछु र कहिलेकाहीं कमाउँछु, तर फिल्म बनाउन छाड्दिन’ झा भन्छन्, ‘फिल्म बनाउन धैर्यता सबैभन्दा महत्वपूर्ण चीज हो । यदि तिमी फिल्म बनाउन चाहन्छौ भने धैयता तिमीसँग हुनुपर्छ ।’

‘मेरो वरपर जे घटना र पात्र पाउँछु तिनीसँग म कुरा गर्छु । तब कथाले आकार लिन्छ । मैले दशौं-बीसौं पटक पटकथा पुनर्लेखन गरेको छु । गंगाजललाई आठ-दश वर्ष लगाएर लेखेको थिएँ । धैर्यता भन्ने कुरा फिल्ममेकिङमा महत्वपूर्ण कुरा हो,’ उनी भन्छन्, ‘पहिले पात्र र आत्मा खोज्नुस् अनि अघि बढ्नुस् ।’

सामाजिक र राजनीतिक कथावस्तुका फिल्ममा काम गर्न रुचि राख्ने झाका दुई फिल्महरु धर्मक्षेत्र र जनादेश निर्माणको तयारीमा छन् । यी फिल्मको केन्द्रमा उनले लोकतन्त्र र यसमा देखिने संकटलाई राखेका छन् ।

बिहारमा हुर्किएका प्रकाशले कहिल्यै छिमेकी नेपालसँगको दुःख भोगे कि भोगेनन् ? यो चाहिं रमाइलो किस्सा थियो । भएछ के भने केही वर्षअघि नेपालको कोशी नदीबाट उर्लिएको बाढीले बिहारका सयौं गाउँबस्ती डुबानमा परे । प्रकाश संलग्न एक सामाजिक संस्थाले बाढीपीडितलाई उद्दार तथा पुनर्वासको व्यवस्था गर्ने काम गर्‍यो । त्यतिबेला उनलाई लागेको थियो- नेपालले आफ्नो पानी किन आफैंसँग राख्न सक्दैन ?(हाँस्दै) ।

‘बिहार र नेपालबीचको यस्तो सम्बन्ध छ । हामी धेरै कुराले जोडिएका छौं,’ कोशीमा आएको बाढीको किस्सा उनले सम्झिए ।

हरेक चोटि नेपाल आउँदा प्रकाश झाको अपेक्षित भनाइ हुन्छ, ‘राम्रो कथावस्तु छ भने म सहकार्य गर्न तयार छु ।’ उनले किम्फमा पनि त्यसलाई दोहोर्‍याए, ‘केही नेपाली लेखक र निर्मातासँग काम गर्न इच्छुक छु ।’ बलिउडमा सामाजिक-राजनीतिक कथावस्तुमा फिल्म बनाउने झाले नेपालमा प्रशस्तै कथावस्तु रहेको भन्दै यसतर्फ कलम चलाउन सुझाव समेत दिए ।

रामायणकालीन कथावस्तुमा आधारित रहेर सीताको कथा, बुद्धको गाथा, मधेश र नेपाली पहाडका कथावस्तुमा फिल्म बनाउन सकिने उनी बताउँछन् । ‘यी कथावस्तु नेपाल र भारतको प्रोजेक्ट मात्र हुने छैनन्, बरु विश्वकै लागि सान्दर्भिक देख्छु म,’ झा भन्छन्, ‘इतिहास, परम्परागत मिथक र समाजका कथावस्तु नेपालमा प्रशस्तै छन् ।’

दोस्रोपटक काठमाडौं आएका उनी यसअघि निफ फिल्म फेस्टिभलका लागि आएका थिए । यसपटक किम्फमा आएका उनले काठमाडौंको सौन्दर्यबारे शब्द खर्चिए । ‘काठमाडौंलाई सांस्कृतिक रुपमा जीवन्त सहर बनाउनुपर्छ भन्ने मलाई लाग्छ,’ उनले भने ।

कमैलाई थाहा छ, प्रकाशले सन् २००४ मा भारतको १४ औं लोकसभा चुनाव लडे तर हारे । उनले त्यतिबेला २६ हजार भोट ल्याएर छैटौं बने । लोक जनशक्ति पार्टीको तर्फबाट सन् २००९ मा समेत चुनाव लडेका उनी पुनः पराजित भए । सन् २०१४ मा पनि यही नियति दोहोरियो । त्यसपछि राजनीति छाडेर उनी फिल्ममा राजनीतिका कथा बुन्नतर्फ अग्रसर भए ।

अघिल्लो पटक नेपाल आउँदा उनले भनेका थिए, ‘हरेक कुरा राजनीति हो । हामीले बुझ्न र हेर्न सक्नुपर्छ ।’

शुक्रबार भारत फर्कने तयारीमा रहेका झाले काठमाडौंमा रहँदा केही फिल्म निर्मातासँग संयुक्त लगानीका केही प्रोजेक्टमा सहकार्य गर्न सकिने सम्भावनाबारे छलफल समेत गरे ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?