+
+

त्रिविको लापरवाही, दीक्षान्तमा पदक पाउने विद्यार्थीको नाम हेरफेर

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २२ गते १७:३०

२२ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ४८ औं दीक्षान्त समारोहमा पदक दिने विद्यार्थीको नामावली प्रकाशनमा लापरवाही गरेको छ ।

त्रिविले १३ मंसिरमा प्रकाशित गरेको सूचनामा पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभागकी छात्रा सकुन महर्जनले २०७६ सालको स्नातकोत्तर तहमा ४.०० सीजीपीए प्राप्त गरेको भन्दै चार पदक पाउने सूचीमा राखेको थियो ।

उक्त सूचनामा उनले स्नातकोत्तर तहमा प्रथम भएवापत चान्सलर पदक, त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ स्वर्ण पदक, रामप्रसाद मानन्धर स्वर्ण पदक र शान्तिनारायण मिश्र स्वर्ण पदक प्रदान गरिने उल्लेख थियो ।

तर त्रिविले त्यसको केही दिनपछि अर्को सूचना जारी गर्दै चान्सलर पदक, त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ स्वर्ण पदक र रामप्रसाद मानन्धर स्वर्ण पदक टीकाराम भण्डारीले पाउने जनाएको छ । त्रिविले अघिल्लो वर्षको पदक वितरण छुटेको र विद्यार्थीले दावी गरेको भन्दै संशोधनसहितको नामावली सार्वजनिक गरेको हो ।

त्रिविको संशोधित सूचना अनुसार सकुनले पुस्तकालय विज्ञानमा पहिलो भएवापत पाउने शान्तिनारायण मिश्र पुरस्कार पाउने उल्लेख छ ।

भौतिक शास्त्र केन्द्रीय विभागका विद्यार्थी टीकाराम भण्डारी २०७५ का उत्कृष्ट विद्यार्थी भएको त्रिविले जनाएको छ । सकुनले पाउने पुरस्कारमा उनको दावी विरोध परेकाले भण्डारीलाई दिने निर्णय भएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए । ‘अघिल्लो वर्षको छुटेको भन्ने दाबी आएपछि पदक पाउने विद्यार्थीको नाम परिवर्तन भएको हो’ उनले भने ।

सकुन भने २०७६ को ब्याचको उत्कृष्ट विद्यार्थीले पाउने पदक २०७५ को ब्याचका विद्यार्थीलाई दिनु गलत भएको बताउँछिन् । ‘मैले २०७६ को ब्याचको उत्कृष्ट विद्यार्थी भएर पाएको हो । तर अहिले त्रिविले २०७५ को विद्यार्थीले पाएको भनेको छ । अनि २०७६ को टपरले चाहिँ अब नपाउने हो भनेर सोद्धा स्पष्ट जवाफ दिनुभएन ।’

यस विषयमा कुरा गर्न खोज्दा परीक्षा नियन्त्रक जोशी शुक्रबार हुने दीक्षान्त समारोहको कामले व्यस्त भएको भन्दै प्रतिक्रिया नदिई पन्छिए । त्रिविका अनुसार २०७८ असार १ गतेदेखि २०७९ जेठ मसान्त भित्रसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीले दीक्षान्त समारोहमा भाग लिन पाउने छन् । सकुन महर्जनले २०७८ साउनमा नै ट्रान्सक्रिप्ट लिएकी थिइन् ।

परीक्षा नियन्त्रण कार्यलयले सबै डीन कार्यालय तथा विभागहरुबाट सर्वोत्कृष्ट विद्यार्थीको नाम संकलन गरेर पदक पाउने विद्यार्थीहरुको नामावली सार्वजनिक गर्ने गरेको छ । त्यसरी संकलन गरिएको विवरण अनुसार र मानविकी संकायको पुस्तकालय विभागले सर्वोत्कृष्ट विद्यार्थीमा सकुन महर्जननको नाम सिफारिस गरेको थियो ।

१० हजार विद्यार्थी दीक्षित हुने

शुक्रबार ललितपुर पुल्चोकस्थित पुल्चोक क्याम्पसको प्रांगणमा सञ्चालन हुने त्रिविको ४८ औँ दीक्षान्त समारोहमा १० हजार तीन सय ९२ विद्यार्थी दीक्षित हुने दीक्षान्त मूल समारोह समितिका सदस्यसचिव साधुराम अर्यालले बताए ।

उनका अनुसार स्नातक तहतर्फ छ हजार ६९१, स्नातकोत्तरतर्फ तीन हजार ५४९, एमफिलका ५५ र विद्यावारिधिका ९७ जना दीक्षित हुँदैछन् । समारोहमा दीक्षित हुने विद्यार्थीका एक जना अभिभावक सहभागी हुन पाउनेछन् ।

समारोहमा सहभागी हुन स्नातकतर्फ तीन हजार ७००, स्नातकोत्तर तह र एमफिलमा दुवैमा चार हजार दुई सय तथा विद्यावारिधिमा चार हजार सात सय शुल्क लाग्नेछ ।

समारोहमा त्रिविका कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल लगायतको सहभागिता रहने त्रिविले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?