+
+

कर्णालीमा कांग्रेस संसदीय दलको नेता को ?

यज्ञ खत्री यज्ञ खत्री
२०७९ मंसिर २८ गते ८:१४

२८ मंसिर, सुर्खेत । कर्णाली प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेतामा जीवनबहादुर शाही निर्विरोध चुनिने देखिएको छ । कांग्रेसबाट अर्का मुख्यमन्त्रीका दाबेदार जाजरकोटका राजीवविक्रम शाह पछि हटेपछि शाही दलको नेतामा निर्विरोध चुनिने निश्चित जस्तै भएको छ ।

जनताले आफूलाई जिताए मुख्यमन्त्री बन्ने भन्दै भोट मागेका शाहले अन्तत दलको नेतामा नलड्ने बताए । ‘बाहिर मिडियामा मलाई दलको नेतामा लड्छ भनेर प्रचार त गरिएको छ । तर मैले त्यस्तो निर्णय गरेको छैन,’ अनलाइनखबरसँग कुरा गर्दै शाहले भने, ‘म दलको नेतामा लड्दिनँ नै होला ।’

कर्णालीमा कांग्रेस र माओवादीले आलोपालो सरकारको नेतृत्व गर्ने आन्तिरिक सहमति गरे पनि पहिला सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे अझै सहमति जुट्न सकेको छैन ।

प्रत्यक्ष ९ र समानुपातिक ५ गरी १४ सिटसहित कांग्रेस कर्णाली प्रदेश सभाको ठूलो दल बनेको छ । र, आफनै नेतृत्वमा प्रदेश सरकार बन्नुपर्ने दाबीसमेत गर्दै आएको छ ।

हालका बहालवाला मुख्यमन्त्रीसमेत रहेका कांग्रेस नेता जीवनबहादुर शाही पुनः संसदीय दलको नेता र मुख्यमन्त्री बन्ने दाउमा रहेका छन् ।

कांग्रेसले शाहीलाई नै पुनः मुख्यन्त्री बनाउने योजनाका साथ प्रदेश सभामा चुनाव लडाएको र आगामी मुख्यमन्त्री पनि उनी नै बन्ने कांग्रेस कर्णाली प्रदेशका प्रवक्ता दमन शाहीले बताए । ‘निर्विरोध दलको नेता चयन गर्नेबारे पार्टीभित्र एक खालको सहमति जुटेको छ । दलको नेतामा जीवन दाइ नै चुनिनु हुन्छ । विरोध हुँदैन,’ प्रवक्ता शाहीले अनलाइनखबरसँग भने ।

दलको नेतामा दाबी गर्दै आएका शाही र शाह दुवैजना संस्थापन पक्षका हुन् । जीवन शाहीको विकल्पमा अरु नेताहरुलाई सोच्न नसकिने कांग्रेसकै नेताहरु बताउँछन् ।

कर्णाली प्रदेश सभामा कांग्रेसको संस्थापनइतरपक्ष शेखर कोइराला समूहको उपस्थिति निकै कमजोर छ । प्रत्यक्ष र समानुपातिक गरी १४ सांसदमध्य ११ जना सांसद संस्थापन पक्षमा छन् भने तीन जना सांसद संस्थापन इतर पक्षका छन् ।

अहिलेसम्म कांग्रेसको संस्थापन इतरपक्षबाट कसैले पनि दलको नेताका लागि आकांक्षा सार्वजनिक गरेका छैनन् ।

इतर पक्षका प्रत्यक्ष निर्वाचित सांसद सल्यानका सुरेश अधिकारी, दैलेखका कृष्णबहादुर विसी र समानुपातिकबाट दैलेखकै इन्द्रा शाही रहेका छन् ।

०७४ मा प्रत्यक्षतर्फ एउटामात्र सिट जितेको नेपाली कांग्रेस ५ जना समानुपातिक सांसदसहित प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल बनेको थियो । नेकपा एमाले र माओवादी मिलेर बनेको तत्कालीन नेकपा विभाज भएपछि कांग्रेसले प्रदेश सरकारको नेतृत्व गरेको थियो ।

संसदमा २० सिट ल्याएको नेकपा एमाले विभाजन भएपछि प्रमुख प्रतिपक्षीको भूमिकामा बस्यो । एमाले विभाजन भएर बनेको एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको सहयोगमा कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बनेका थिए ।

प्रत्यक्षमा २४ र समानुपातिक १६ गरी कर्णाली प्रदेशसभामा ४० सिट छ । प्रदेश सभामा १४ सिटसहित नेपाली कांग्रेस पहिलो पहिलो दल बनेको छ । १३ सिटसहित नेकपा माओवादी केन्द्र दोस्रो र १० सिट ल्याएको नेकपा एमाले तेस्रो दल बनेको छ ।

नेकपा एकीकृत समाजवादी र राप्रपाले समानुपातिकतर्फ एक/एक सिट पाएका छन् । जुम्लाबाट एक जना स्वतन्त्रले जितेका छन् । उनी कांग्रेसका बागी उम्मेदवार हुन्।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?