+
+

चम्पावती जलविद्युत आयोजनामा विवाद बढ्दै

विकास मरहट्टा विकास मरहट्टा
२०७९ पुष २ गते १९:११

२ पुस, गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–२ पाँडेवेशीमा चम्पावती हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको चेपे ‘ए’ जलविद्युत आयोजनाका विषयमा विवाद चर्किएको छ ।

स्टिमेट अनुसार काम नभएको भन्दै लम्जुङको राइनास नगरपालिकाका वासिन्दा संघर्ष समिति नै बनाएर विरोधमा उत्रिएका छन् । आयोजनाकै कारण करिव नौ सय हेक्टर खेतीयोग्य जमिनको सिंचाइमा असर पुग्ने भन्दै उनीहरुले चिन्ता समेत व्यक्त गरेका छन् ।

‘अनुमति लिएको डीपीआर र आइईई रिपोर्ट अनुसार संरचना बनेको छैन’, राइनासटार सिँचाई आयोजना बचाउ संघर्ष समितिका संयोजक श्रीकृष्ण पौडेलले भने, ‘यही संरचना अनुसार हाइड्रो बन्यो भने सिँचाइका लागि प्रयोग हुदै आएको नहरको बाँधभन्दा तल पानी झर्छ, अनि नहरमा पानी नचढेपछि खेतमा सिँचाइ कसरी हुन्छ ?’ हाल निर्माण भइरहेको स्थलभन्दा दुई सय मिटर माथि पावर हाउस निर्माण भए सिँचाइमा समस्या नहुने उनले बताए ।

उनका अनुसार राइनास नगरपालिकाको सातवटा वडाको करिव १४ सय हेक्टर जमिन सिँचित गर्ने उद्देश्यले उक्त सिँचाइ आयोजना निर्माण भएको हो । हाल आयोजनाबाट ८ सय ५० हेक्टर क्षेत्रफल सिँचाइ भइरहेको छ । तर हाल निर्माणाधीन हाइड्रोकै कारण सिँचाइमा समस्या पुग्ने भन्दै स्थानीयहरु विरोधमा उत्रिएका हुन् ।

‘डीपीआर अनुसार नहरको बाँधको दुई सय मिटरमाथि पानीको निकास दिने भन्ने छ, तर अहिले उनीहरुले स्टमेटभन्दा फरक हिसावले संरचना बनाउन थालेका छन्, त्यसो गर्दा नहरको बाँधभन्दा दुई सय मिटर तल पानी खस्छ नहरमा पानी जाँदैन अनि खेत बाँझै बस्ने भयो, त्यसैले हामी विरोधमा उत्रिएका हौं’, पौडेलले भने ।

विरोधमा उत्रिएका स्थानीयले मंसिर २४ गते हाइड्रोको कार्यालयमा तोडफोडसँगै आगजनी गरेका थिए । आगजनीबाट कार्यालय परिसरमा रहेको मिनी ट्रक र मोटरसाइकलमा पूर्ण रुपमा र जेसीभीमा आशिंक क्षति पुगेको थियो । हाइड्रोको कार्यालय रहेको दुईवटा अस्थायी टहरामा समेत आगजनी भएको थियो ।

घटनामा संलग्नलाई कारवाहीको माग गर्दै आयोजनाले आठ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी समेत दिएको छ । करिव ३३ करोड ४० लाखको क्षति भएको भन्दै क्षतिपूर्तिको माग समेत गरेको छ । शनिबार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै आयोजनाले स्वीकृत डीपीआर र आइईई अनुसार काम भइरहेको र यसले राइनास नहरमा कुनै असर नपर्ने बताएको छ ।

‘पावरहाउसको टेलरेसबाट निस्कने पानी चेपे खोला र चिल्ली खोलाको दोभानभन्दा माथि फाल्ने गरी बनाइएको छ’, आयोजना अध्यक्ष हरिराम पराजुलीले भने, ‘यसले गर्दा राइनास नहरमा जाने पानीको वहाव यथावत रहने र नहरलाई कुनै असर नपर्ने स्पष्ट छ ।’

सम्बन्धित निकायबाट स्वीकृत प्राप्त वातावरणीय अध्ययन प्रतिवेदन (आइईई) र विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) मा उल्लेख भए अनुसार नै काम अघि बढेको उनले बताए ।

विरोधमा उत्रिएका स्थानीय र आयोजनाबीच पटक पटक छलफल पनि भइरहेको छ तर सहमति भने जुट्न सकेको छैन । एक अर्ब ३२ करोडको लागतमा निर्माण हुन लागेको उक्त आयोजना ७ मेगावाट क्षमताका रहेको छ । हालसम्म करिव ५५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?