+
+

महोत्तरीमा थारु संग्रहालय बन्ने

रासस रासस
२०७९ पुष ४ गते १४:५१
थारू संस्कृति अन्तर्गत मनाइने समाचकेवा ।

४ पुस, महोत्तरी । आफ्नो रितिथिति र परम्परा झल्कने संग्रहालय आफ्नै क्षेत्रमा बन्ने कुराले महोत्तरीका आदिवासी थारु समुदाय अहिले दङ्ग छन् ।

आइतबार जिल्लाको भङ्गाहा नगरपालिका–७ मेघरोल पुगेका संघीय सरकारका सहरी विकासमन्त्री मेटमणि चौधरीले सो ठाउँमा थारु संग्रहालय बनाउने घोषणा गरेपछि उक्त समुदायमा खुसी छाएको हो ।

‘अब हाम्रो आफ्नै ठाउँमा थारु जातिका भेषभूषा, रितिथिति, खाद्य परिकार र रहनसहनसमेत झल्कने संग्रहालय बन्ने घोषणा भएको छ’, स्थानीय नेकपा (एमाले) भङ्गाहा नगर कमिटी अध्यक्ष चन्द्रनारायण सिंह थारुले भने, ‘संग्रहालय बनेपछि थारु संस्कृति र परम्पराको संरक्षण र सम्वद्र्धनमा सहयोग पुग्नेछ ।’

उक्त नगरपालिका थारु बाहुल्य भएको क्षेत्र मानिन्छ । जम्मा नौ वडा रहेको नगरपालिकाका सबै वडामा थारुको बसोबास छ । सबै वडामा थारुको बसोबास भए पनि भङ्गाहा, धर्मपुर, थारुटोल बनरा, बखरी, मदनपट्टी, पर्सा, करुणा, मझौलिया, मेघरोल, गोरहन्ना, रामनगर र भीमगढ थारु बसोबासका मुख्य बस्ती मानिन्छन् ।

साविकका भङ्गाहा, धर्मपुर, सिङ्ग्याही, हतिसर्वा, मेघनाथ गोरहन्ना र हरिहरपुर हरिनमरी गाविस क्षेत्र समेटेर भङ्गाहा नगरपालिका घोषणा गरिएको हो । जिल्लामा भङ्गाहाका अतिरिक्त गौशाला नगरपालिका क्षेत्रका रजखोर बिर्ता, निगौल र बिसरपुरसहित बस्तीमा थारु जातिको बसोबास रहँदै आएको छ ।

यी ठाउँका आदिवासी भएर पनि स्थानीय जाति र समुदायको उत्थान तथा पहिचानका लागि खासै काम हुन नसकेका बेला हालै (महोत्तरी-२) कै प्रतिनिधिसभा सदस्य शरत्सिंह भण्डारीसहित मेघरोल पुगेका मन्त्री चौधरीले संग्रहालय निर्माणको काम तत्काल थालिने बताएपछि आफूहरु हौसिएको भङ्गाहा-६ मदनपट्टी निवासी राजनारायण राय थारुले बताए ।

संग्रहालय निर्माणका लागि प्रथम चरणमा गुरुयोजनाको काम थालिने र गुरुयोजना सम्पन्न भए पछि संग्रहालय निर्माणको काम थालिने जनाइएको छ ।

आठ बिघा क्षेत्रफलमा पोखरी, मनोरम बाटिकासहित निर्माण हुने संग्रहालयमा थारु संस्कृति र परम्पराका आधारभूत सबै कुरा राखिनेछन् । यसले थारु समुदायको मात्र नभई जिल्लाकै शाख वृद्धिमा योगदान दिने नगरपालिकाकी उपप्रमुख शान्तिसिंह थारुको भनाइ थियो ।

आमरुपमा सरल व्यवहारका अत्यन्त मिलनसार मानिने थारु जाति इमान्दार र मेहनेती हुन्छन् । आफ्नै समुन्नत कला, संस्कृति र परम्पराको संग्रहालय बन्ने कुराले थारु जातिको इतिहास जगेर्ना हुने नगरप्रमुख सञ्जिवकुमार साहले बताए । ‘संग्रहालय हामी सबैका लागि गौरवको कुरा बन्नेछ’ उनले भने ।

यसअघि मदनपट्टी वेलफेयर सोसाइटीका अध्यक्ष सुदीपकुमार चौधरी थारुले संग्रहालय निर्माणका लागि मन्त्री चौधरीलाई स्मरणपत्र बुझाएको थियो ।

संग्रहालयमा थारु संस्कृति झल्किने सामग्रीको प्रदर्शनीसँगै थारु खानाका परिकार उपलब्ध हुनेछन् । यसै क्षेत्रभित्र कृत्रिम ताल पनि निर्माण गरिने बताइएको छ ।

विभिन्न पर्व र उत्सव पनि मनाउने योजना रहेको उक्त संग्रहालय निर्माण भएपछि सो क्षेत्र नयाँ सांस्कृतिक तथा पर्यटकीय गन्तव्यसमेत बन्ने महोत्तरीवासीको अपेक्षा छ ।

संग्रहालय निर्माणका लागि अनुमानित रु 6 करोड खर्च हुने बताइएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?