+
+

को बन्ला प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार ?

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १३ गते २०:२०

१३ पुस, काठमाडौं। प्रधानमन्त्रीको तेस्रो कार्यकाल सुरु गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई सहयोग पुर्‍याउने पदमा नियुक्ति थालेका छन् ।

प्रधानमन्त्री प्रचण्डको सिफारिसमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले महान्यायाधिवक्तामा दिनमणि पोखरेलाई नियुक्ति गरेका छन् ।

प्रधानमन्त्रीलाई सहयोग पुर्‍याउने टिममा प्रचण्डले अब विभिन्न बिषय विज्ञ सल्लाहकारहरु नियुक्त गर्नुपर्ने छ । प्रमुख राजनीतिक सल्लाहकार पनि प्रधानमन्त्रीलाई सहयोग पुर्‍याउने महत्वपूर्ण पद मानिन्छ ।

उनले आफ्नो प्रमुख राजनीतिक सल्लाहकार कसलाई बनाउलान भन्ने चासो पनि धेरैमा छ । यसका लागि माओवादी वृत्तमा दुई नेताहरुको नाम चर्चामा छ ।

उपमहासचिव हरिबोल गजुरेल र सचिव डिलाराम आचार्यमध्य एक प्रमुख राजनीतिक सल्लाहकार बन्ने माओवादी स्रोत बताउँछ ।

यसैबीच प्रधमानमन्त्री प्रचण्डले सुरुमा उपमहासचिव हरिबोल गजुरेललाई प्रमुख राजनीतिक सल्लाहकारमा प्रस्ताव गरेका छन् । गजुरेलले भने आफूलाई पार्टीकै जिम्मेवारी दिन आग्रह गरेका छन् ।

‘अध्यक्षले मलाई सहयोग गर्ने गरि तपाईंलाई नियुक्ति दिन्छु भन्ने प्रस्ताव गर्नुभयो,’ गजुरेलले अनलाइनखबरसित भने, ‘तर, मैले अहिले पार्टी कमजोर छ । मलाई पार्टी भूमिकामा केन्द्रित हुने गरी जिम्मेवारी दिनुहोस् भनेँ।’

गजुरेल प्रमुख राजनीतिक सल्लाहकार बन्न नचाहेको खण्डमा आचार्य बन्ने देखिन्छ । आचार्य यसपाली अर्घाखाँची वा रुपन्देही–१ बाट प्रतिनिधिसभाको चुनाव लड्न चाहान्थे ।
तर, अर्घाखाँचीमा कांग्रेसकी नेता पुष्पा भुसाल र रुपन्देही–१ मा घनश्याम भुसाललाई छोड्नु परेकाले आचार्य टिकट पाउनबाट बन्चित भएका थिए ।

आचार्यले आफूलाई प्रमुख राजनीतिक सल्लाहकारको प्रस्ताव प्रचण्डबाट आइनसकेको बताए । अध्यक्षले सहयोग गर्न आग्रह गरे आफू त्यसका लागि तयार रहेको उनले बताए।

पहिलोपटक प्रधानमन्त्री हुँदा प्रचण्डले प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरेका थिएनन् । नेता शक्ति बस्नेत प्रमुख स्वकीय सचिव बनेका थिए ।

दोस्रो कार्यकालमा चक्रपाणी खनाल ‘बलदेव’ प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार बनेका थिए । प्रमुख राजनीतिक सल्लाहकारले राज्यमन्त्री सरहको सुविधा पाउने गर्छन । तर, केही प्रधानमन्त्रीले मन्त्रिपरिषदबाट निर्णय नै गराएर मन्त्री सरहको सुविधा दिने समेत गर्छन ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री बन्दा प्रमुख राजनीतिक सल्लाहकार बनेका बिष्णु रिमालले मन्त्री सरहको सेवा सुविधा पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?