+
+
बागमती प्रदेश संसदीय दल :

देउवाले बहादुरलाई रोज्दा बानियाँको हार

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १३ गते २०:५९
इन्द्रबहादुर बानियाँ (बाँया) र बहादुरसिंह लामा ।

१३ पुस, हेटौंडा । नेपाली कांग्रेसका बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले सबैजसो चुनावी कार्यक्रममा आफू मुख्यमन्त्री बन्ने र विकासका कामलाई तीव्र बनाउने योजना सुनाए । माओवादी केन्द्रसहितका दलसँग गठबन्धन र कांग्रेसको प्रदेश सभापति भएकाले उनको दाबी अस्वाभाविक थिएन ।

३७ सांसदसहित कांग्रेस प्रदेशसभाकै सबैभन्दा ठूलो पनि बन्यो । तर सरकार गठन गर्ने बेला माओवादीले कांग्रेसलाई छाडेर एमालेसँग सहकार्य गरेपछि बागमती प्रदेशमा तत्कालका लागि कांग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना टर्‍यो । मुख्यमन्त्री बन्ने योजनामा रहेका बानियाँ भने संसदीय दलको नेता पनि बन्न सकेनन् ।

केन्द्रीय सभापति शेरबहादुर देउवाकै साथ नपाएपछि उनी संसदीय दलको नेतामा बहादुरसिंह लामासँग पराजित भएका छन् । प्रदेशसभा सदस्य मीना पोखरेल भन्छिन्, ‘दुवै जना नेता एउटै टिमबाट हुनुहुन्थ्यो । तर आज बिहान ११ बजे सभापतिले बहादुर सिंह लामालाई जिताउनु भनेर भन्नुभयो ।’

त्यही कारण दलको नेता चयनका लागि बुधबार भएको निर्वाचनमा लामाले २१ मत पाउँदा बानियाँको पक्षमा १६ मत मात्र खस्यो । लामा र बानियाँ दुबै संस्थापन पक्षका सांसद हुन् । पछिल्लो समय सभापति देउवासँग बानियाँको सम्बन्ध बिग्रिएको नेताहरु बताउँछन् । उनीमाथि सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) लाई प्रतिनिधि सभाको निर्वाचनमा असहयोग गरेको आरोप पनि थियो ।

त्यसैले होला लामालाई दलको नेता जिताउन संस्थापन पक्षका केन्द्रीय नेताहरु खुलेर लागेका थिए । सहमहामन्त्री डिना, प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत लगायतका नेता हेटौंडामै बसेर लामाको पक्षमा लबिङ गरेका थिए ।

डा. शेखर कोइराला समूहको आफ्नो उम्मेदवार थिएन । बुधबार विहान बसेको बैठकले यसबारे समन्वय गर्ने जिम्मा महामन्त्री गगनकुमार थापा र नेता अर्जुनरसिंह केसीलाई दिएको थियो । नेताहरुले पनि आफ्नो पक्षका प्रदेशसभा सदस्यलाई अनुकुलतामा काम गर्न सुझाएका थिए ।

जसले जितेपनि आफ्नो समूहको नभएकाले कुनै निर्देशन नआएको नेता जगदिश्वर नरसिंह केसीले बताए । गएको महाधिवेशनमा बानियाँसँग प्रदेश सभापतिमा पराजित केसीले भने, ‘जसले जितेपनि हामीले बधाई तथा शुभकामना दिने हो । हाम्रो नेताहरुले यो व्यक्तिलाई मत दिनुस् भन्नुभएन ।’

पूर्व महामन्त्री प्रकाशमान सिंहले इच्छाएको व्यक्तिलाई मतदान गर्न आफू पक्षीय सांसदलाई स्वतन्त्र छाडेका थिए । उनीहरुमध्ये अधिकांश लामाको पक्षमा खुले ।

२०७४ को प्रदेशसभा निर्वाचनपछि संसदीय दलको नेता भइसकेका बानियाँको दाबी स्वाभाविक भएपनि सबै लागेर हराइएको बताउँछन्, ललितपुरका प्रदेश सभा सदस्य मीनकृष्ण महर्जन ।

‘पार्टीको केन्द्रदेखिकै शक्ति लगाएर उहाँलाई चुनाव हराइयो’, उनले भनेका छन्, ‘केन्द्रमा भएको सत्ता समीकरण परिवर्तनले एक प्रकारको निराशा त छँदै थियो, यो परिणामले कार्यकर्ता पंक्तिमा झन् निराशा छाएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?