+
+

चिसोसँगै बढ्यो झ्याप्पै बिजुली काटिने समस्या

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १८ गते २०:२४

१८ पुस, काठमाडौं । काठमाडौंमा फेरि झ्याप-झ्याप बिजुली काटिने क्रम बढेको छ । पछिल्ला दिनमा जसरी चिसो बढेको छ, त्यही दरमा विद्युत जाने समस्या पनि बढ्न थालेको छ ।

विद्युत लाइन प्रभावित हुँदा सर्वसाधारणले सास्ती भोग्नुपरिरहेको छ । गत वर्षहरुमा पनि यस्तै समस्या देखिने गरेको थियो ।

गतवर्षहरुको भन्दा समस्या कम देखिएपनि अझै अनियमित बिजुली काटिने समस्या निवारण भइसकेको छैन । बरु चिसो बढ्दै जाँदा स्थानीय प्रणालीहरुमा लाइन काटिने समस्या बढेको छ ।

जाडो मौसममा हिटर, एसी, इलेक्टि्रक गिजर लगायत धेरै बिजुली खपत गर्ने यन्त्रहरु बढी चल्छन् । यसका कारण स्थानीय क्षेत्रमा वितरण गर्न राखेको ट्रान्सर्फमरको क्षमताभन्दा बढी बिजुली खपत हुने अवस्था प्रणालीमा चाप परेर ट्रान्सर्फमर बिग्रने समस्या बढी देखिने गरेको छ ।

प्राधिकरणका वितरण केन्द्रहरु भने यसलाई स्थानीय रुपमा उत्पन्न प्राविधिक कारण भन्दै टारिरहेका छन् । बिजुलीका स्थानीय प्रणालीमा प्राविधिक समस्या आउनुलाई प्राधिकरणले साधारण रुपमा ब्याख्या गर्दै आएको छ । तर, प्रणाली व्यवस्थापनमा प्राधिकरणले पर्याप्त ध्यान नदिएका कारण पनि यस्तो अवस्था उपभोक्ताहरुको अनुभव छ ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराई जाडो बढ्दै जाँदा प्रणालीमा स्थानीय प्रणालीमा लोड बढेर ट्रान्सर्फमर र केबलले थेग्न नसक्दा लाइन काटिने समस्या देखिएको बताउँछन् । तर, यस्तो समस्या ठूलो दरमा नरहेको भन्दै उनले समस्या देखिएका ठाउँमा प्राधिकरणले जतिसक्दो छिटो पुगेर समाधान गरिरहेको दावी गरे ।

अहिले काठमाडौं उपत्यकामा अधिकतम् करिब ५ सय मेगावाट बिजुलीको माग छ । गत वर्ष यही सयममा प्रणालीमा करिब ४७० मेगावाटसम्म पिक लोड थियो । यसैकारण बिजुलीको माग धान्न समस्या नभएको भन्दै प्राधिकरणले स्थानीय प्रणालीमा आएको समस्या मात्रै चुनौती भएको बताएको छ ।

प्राधिकरणका अधिकारीहरु सडक विस्तार आयोजना, बिजुलीको तार भूमिगत गर्ने आयोजना, ट्रान्सर्फमर र स्वीच गेयर, तार फेर्नेलगायतका काम गर्दा पनि लाइन जाने गरेको बताउँछन् ।

‘प्रणालीलाई बढ्दो विद्यत्को माग धान्नसक्ने बनाउन यसवर्ष करिब ४ सय वटा ट्रान्सर्फमर थपेका छौं,’ प्राधिकरणको ग्राहक सेवा तथा वितरण निर्देशनालयका प्रमुख मनोज सिलवाल भन्छन्,’समस्या आउनासाथ स्थानीय क्षेत्रमा ट्रान्सर्फमर फेरिरहेका छौं ।’ कतिपय स्थानमा सडक विस्तार र तार भूमिगत गर्ने कामका लागि सटडाउन लिनुपर्ने अवस्था रहेको उनको दाबी छ ।

सम्बन्धित फिडरका लागि आवश्यक र प्रक्षेपित माग धान्न सक्ने गरी सबस्टेसन र वितरण प्रणालीलाई तयार राखिएको उनी बताउँछन् । तर, बालाजु, नेपालटार र फफिर्ङ क्षेत्रमा प्राविधिक कारण बढी लाइन जाने समस्या देखिएको सिलवालले स्वीकार गरे ।

चिसो बढ्नासाथ झ्याप-झयाप लाइन जाने समस्या वृद्धि हुनुले प्राधिकरणले प्रणाली सुधारको लागि पर्याप्त काम नगरेको स्पष्ट नै हुन्छ । भूमिगत बिजुली लाइन विस्तार गरिरहेकाले पनि प्राधिकरणले हालको वितरणलाइनमा सामान्य सुधारका काम मात्रै गरेको छ । वर्षैसाल क्रमशः अनियमित बिजुली कटौतीको तथ्यांक घट्दै गएपनि २४ घण्टा नै नियमित विद्युत आपूर्तिको वातावरण बनाउनु महत्वपूर्ण रहेको प्राधिकरणले बताएको छ ।

‘लाइनलाई बलियो बनाउन सबस्टेसनहरु थप्नेदेखि तार भूमिगत गर्ने कामसम्म गरिरहेका छौं,’ निर्देशनालयका प्रमुख सिलवाल भन्छन्,’काम सकिएका क्षेत्रमा भूमिगत लाइनबाट बिजुली दिन सुरु गरिसकेका छौं, अर्को वर्षसम्म प्रणालीको अवस्थामा ठूलो सुधार भइसक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?