+
+

मालिकको ठगी धन्दामा कामदारलाई सजाय

हरि अधिकारी सागर चन्द हरि अधिकारी, सागर चन्द
२०७९ पुष २४ गते १९:३६
लालबहादुर र उनकी पत्नी दिलकुमारी ।

२४ पुस, विराटनगर । ‘मेरो श्रीमानलाई छुटाइदिनू, उनको केही गल्ती छैन’, लालबहादुर विश्वकर्माका बारेमा सोध्ने हरेकका अगाडि हात जोड्छिन् दिलकुमारी । करिब १९ करोड रुपैयाँ ठगी गरेको अभियोगमा २१ मंसिर २०७९ मा जेल परेका लालबहादुरको परिवार गुहार माग्दै भौतारिरहेको छ । हाल उनलाई सुनसरीकै झुम्का कारागारमा राखिएको छ ।

लालबहादुर जेल परेसंगै इटहरी उपमहानगरपालिका–१९ ब्रह्मपुर जंगल नजिकैको लालबहादुरको घरमा बज्रपात परेको छ । ४ जनाको परिवारमा आम्दानी गर्ने लालबहादुर मात्र थिए । ‘ससुरा बिरामी भएर थला परेका छन् । आमा काम गर्न सक्दिनन्’, दिलकुमारी भन्छिन्, ‘म एक्ली मान्छे अब मुद्धा मामिला गर्नु कि घर हेर्नु ?’

तीन वर्ष मलेसिया बसेर फर्केपछि लालबहादृुरले ब्रह्मपुरमा १० धुर जग्गा किनेर जस्तापाताको छानो हालेर घर बनाए । ‘जसोतसो घर बनायौं । खेती गर्न जमिन छैन’, दिलकुमारी भन्छिन्, ‘घर चलाउन भनेर उहाँ (लालबहादुर) ले काम गर्न थाल्नुभयो । त्यही कामले डुबायो ।’

मलेसियाबाट फर्केर लालबहादुरले ०७३ मा इटहरी उपमहानगरपालिका–२० तरहराको सिंहदेवी ज्वेलर्समा काम गर्न थालेका थिए । २०÷२१ हजार रुपैयाँ तलब पाउँथे, त्यही आम्दानीले घर चलाएका थिए ।

सुन पसलका मालिक दीपक विश्वकर्मा गजमेरले अवैधानिक रुपमा सर्वसाधारणबाट पैसा उठाएर ठगी गरेको घटनाले लालबहादुरलाई पनि जेल पुर्‍यायो । दीपकले बैंकले भन्दा धेरै ब्याज दिने भन्दै धेरै व्यक्तिसँग पैसा संकलन गर्थे । उनले सर्वसाधारणबाट १८ करोड रुपैयाँ भन्दा धेरै संकलन गरेका थिए ।

सुन पसलमा बेलाबखत दीपकका बाबु कृष्ण विश्वकर्मा पनि बस्थे । लेखपढ गर्न नजान्ने कृष्णले पैसा वचत गर्न ल्याउनेहरुबाट रकम लिएपछि पासबुकमा पैसा बुझिलिएको हस्ताक्षर लालबहादुरलाई गर्न लगाएका थिए । ‘मालिकले पैसा जम्मा गरेर सेफमा राखे । मलाई पासबुकमा साइन गर भनेपछि गरेँ,’ जेल जानुअगाडि लालबहादुरले रुँदै सुनाएका थिए ।

पछि दीपकले वचत गर्नेहरुको रकम नतिरेपछि परेको ठगी मुद्दामा दीपक, उनका बाबु, दिदीसँगै लालबहादुर पनि दोषी ठहर भएका हुन् ।

जिल्ला अदालत सुनसरीकी न्यायाधीश निर्मला योङ्वाको इजलासले १ पुस २०७८ मा दीपक उनका बाबु कृष्ण, दिदी सीतासँगै लालबहादुरलाई पनि दोषी ठहर गर्‍यो । १९ पुस २०७८ मा सजाय ठहर हुँदा दीपकलाई ३ वर्ष, कृष्ण, सीता र लालबहादुरलाई डेढ वर्ष कैद सजायको फैसला भयो ।

त्यस्तै उनीहरु सबैसँग ७० हजार रुपैयाँ जरिवाना माग गरिएको छ भने ठगी भएको १८ करोड ८४ लाख ६६ हजार ८८९ रुपैयाँ ४ जनाबाट दामासाहीले विगो भराउने फैसला भएको छ । जस अनुसार लालबहादुरले ४ करोड ७१ लाख १६ हजार ७२२ रुपैयाँ २५ पैसा बिगो तिर्नुपर्छ ।

लालबहादुरको परिवार यो रकम तिर्न सक्ने अवस्थामा छैन । ‘घर चलाउने छोरोलाई पनि जेल पुर्‍याए’, लालबहादुरका बुबा ७० वर्षका हर्क विश्वकर्मा दुःखेसो गर्छन्, ‘हामी के गरी बाँच्नु अब ?’

निर्देशन मान्दा फसेका लालबहादुर

दीपक विश्वकर्मा गजमेरले ०७२ मा सुनसरीको तरहरामा सिंहदेवी ज्वेलर्स सुरु गरेका थिए । सुनचाँदीको व्यवसाय सफल हुँदै गएपछि हौसिएका दीपकले सिंहदेवी मनि ट्रान्सफर र सिंहदेवी इन्डष्ट्रिज प्रालि नाममा पनि व्यवसाय सुरु गरे ।

त्यसपछि उनले आफ्नो कम्पनी बैंकजस्तै हो भन्दै वचत संकलन गर्न पासबुक पनि बनाए । सर्वसाधारणलाई १८ प्रतिशतसम्म ब्याज दिने भन्दै रकम पनि संकलन गर्न थाले । उनले करोडौं रुपैयाँ उठाए, तर कबोल गरे अनुसार ब्याज दिएनन् ।

ब्याज नपाएपछि दीपकलाई पैसा दिएका सर्वसाधारणले २० जेठ ०७५ मा प्रहरीमा उजुरी गरे । इलाका प्रहरी कार्यालय इटहरीले अनुसन्धान गर्दा दीपकले गैरकानूनी रुपमा करोडौं रुपैयाँ सकंलन गरेको फेला पार्‍यो ।

प्रहरीले अनुसन्धान सुरु गरेपछि २७५ जना सर्वसाधारणले आफ्नो १८ करोड ८४ लाख ६६ हजार ८८९ रुपैयाँ ठगी गरेको भन्दै दीपक, उनका परिवारका सदस्य र लालबहादुरविरुद्ध उजुरी दिए ।

जिल्ला सरकारी वकिल कार्यालय सुनसरीले दीपक विश्वकर्मा, उनका बाबु कृष्णबहादुर, भाइ कमल, दिदी सीता र पसलमा काम गर्ने लालबहादुरविरुद्ध जिल्ला अदालतमा ठगी आरोपमा मुद्दा दर्ता गर्‍यो । सरकारी वकिल कार्यालयले दुईवटा पासबुकमा पैसा बुझिलिएको हस्ताक्षर गरेको आधारमा लालबहादुरविरुद्ध ठगीको मतियार बनेको अभियोग दर्ता गरेको हो ।

जिल्ला अदालतले ०७५ जेठमा दीपक, कृष्णबहादुर सीतालाई पुर्पक्षका लागि थुनामा पठायो भने लालबहादुरलाई २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो । पसल सञ्चालक दीपकका भाइ कमल भने फरार छन् ।

एक महिनापछि परिवारले चन्दा उठाएर २ लाख रुपैयाँ धरौटी बुझाएपछि लालबहादुर रिहा भए । ‘त्यतिखेर आफन्तसंग चन्दा मागेर धरौटी तिर्‍यौं’ लालबहादुरकी श्रीमती दुःख सुनाउँछिन्, ‘अहिले फेरि करोडौं रुपैयाँ तिर्नु भन्यो । हामीले कसरी सक्नु ?’

पसलमा दीपकका बाबु कृष्णबहादुर बसेका बेला लालबहादुरले कञ्चन चौधरी र अम्बिका अञ्जना राईले १५ लाख रुपैयाँ बुझाएको २ वटा पासबुकमा रकम बुझिलिएको हस्ताक्षर गरेका थिए ।

अदालतमा वयानका क्रममा सुन पसलका मालिक दीपक उनका बाबु कृष्ण र पीडित पक्षले लालबहादुरले ठगी नगरेको बताएका थिए । कृष्ण बहादुरले नै आफू लेखपढ गर्न नजान्ने हुँदा पैसा आफैसंग राखेर लालबहादुरलाई पासबुकमा हस्ताक्षर गर्न लगाएको वयान दिएका थिए ।

लालबहादुरले हस्ताक्षर गरेको पासबुक धनी कञ्चन चौधरी र अम्बिका अञ्जना राईले समेत लालबहादुरले आफूहरुलाई ठगी नगरेको वयान दिएका थिए । तर अदालतले मानेन

दीपकबाट ५ लाख रुपैयाँ ठगिएकी गंगादेवी गुरुङ लालबहादुरकै छिमेकी हुन् । उनले त प्रहरी कार्यालय र अदालतमा पनि लालबहादुरले ठगी नगरेको वयान दिएको बताएकी थिइन् । ‘इटहरी थानामा पनि हामीले यसको (लालबहादुर) कुनै गल्ती छैन भनेकै हो । पुलिसले त्यतिखेर सुन्दै सुनेन । अदालतमा पनि हामीले लालबहादुरको गल्ती छैन भन्यौं । दीपकको बुबाले पनि भनेका हुन्, न्यायाधीशले सुनेनन् ।’

‘मालिक र पीडित दुवैले लालबहादुरले ठगी नगरेको वयान दिँदा पनि दोषी ठहर गरियो’, लालबहादुरका कानून व्यवसायी निराजन ओझा भन्छन्, ‘यो त सरासर अन्याय भयो ।’

यस्ता मुद्धामा जरिवाना र विगो बराबरको रकम तिरेर थुनाबाहिर बसेर मुद्धा लड्न सकिने कानुनी व्यवस्था छ । ‘तर, लालबहादुरको परिवारले यति ठूलो रकम तिर्न सकेनन्,’ कानून व्यवसायी ओझा भन्छन्, ‘त्यसैले लाबहादुर अहिलेसम्म थुनामा छन् ।’

लालबहादुुरले न्याय माग्दै उच्च अदालत विराटनगरमा पुनरावेदन दिएका छन् । लालबहादुरको मुद्दाको पेशी २६ पुसका लागि तोकिएको छ । ‘मालिकको निर्देशन पालना गरेकै कारण हदैसम्मको सजाय हुनु अन्याय हो,’ ओझाले भने, ‘न्यायका लागि हामी प्रयासरत छौं ।’

दिलकुमारी श्रीमानको रिहाइका लागि भौंतारिरहेकी छन् । ‘खोइ अहिलेसम्म केही भएन’, उनले आश मारिसकिन्, ‘हामी गरिबले गल्ती गरेको होइनौ भन्दा पनि कसैले सुनेनन् ।’

जेल जाँदै गर्दा जाँदै गर्दा सहयोगको याचना गर्दै लालबहादुरले भने, ‘म काम गरिराथेँ, म काम गरिराको बेलामा पैसा राख्न ल्याए अनि मलाई मालिकले यहाँ लेखिदे भनेपछि मैले लेखेँ । अहिले मलाई ३-४ करोड कति हो तिर्नु भनेका छन् । मेरो चारपाँच पुस्ताको सम्पत्ति जोड्दा पनि त्यति पुग्दैन । मेरो सानो झुपडी छ, म त निर्दोष छु । (अहिलेसम्म) बाहिर थेँ र दुई चार पैसा कमाएर गुजारा गर्थेँ, भित्र गएपछि घर पनि (चलाउन) गाह्रो हुने भयो ।’

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

सागर चन्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?