+
+

मन्त्रीहरु निवास आउँदा तामझाम, जाँदा चुपचाप

विकास रोकामगर विकास रोकामगर
२०७९ पुष २६ गते १७:५३

२६ पुस, पोखरा । करिब डेढ वर्षअघि पोखरा राष्ट्र बैंक चोकस्थित मुख्यमन्त्री निवासमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली मुख्यमन्त्री नियुक्त भएर निवास सर्दा छुट्टै तामझाम थियो ।

२०७८ को जेठ २९ गते मुख्यमन्त्री नियुक्त भएका उनी असार ३ गते मुख्यमन्त्री निवासमा बसाइँ सरेका थिए ।

१८ महिनाअगाडि निवास सर्दै गर्दा बाहिरभित्र ओहोरदोहोर गर्नेको ठूलो भीड थियो । मान्छेहरुका अनुहारमा खुसीका आभाहरु देखिन्थे । मुख्यमन्त्रीलाई बधाई दिनेहरुको लर्को थियो भने पोखरेललाई निम्तो मान्न भ्याईनभ्याई ।

तर, मंगलबार दिउँसो मुख्यमन्त्री निवास पुग्दा दृश्य भने १८ महिना अघिको भन्दा ठिक विपरीत थियो ।

नयाँ मुख्यमन्त्रीको पर्खाइमा रहेको निवासको गेटमा केही सुरक्षाकर्मीबाहेक अरु गतिविधि थिएन ।

दिउँसो १२ बजेभित्र त पोखरेल मुग्लिन कटिसकेका थिए । गृह जिल्ला नवलपुर पुग्न उनले एकाबिहानै निवास छाडेका थिए । पोखरेल बाहिरिएपछि मुख्यमन्त्री निवास दुलही अन्माएको घरजस्तै सुनसान थियो । न कर्मचारी, न कार्यकर्ता ।

सत्तारोहण हुँदा तामझामसहित आए पनि जाँदा भने परिवारका सदस्यबाहेक मुख्यमन्त्री परिसरमा कोही भेला भएनन् ।

सत्तामा पुग्दा वरिपरि कार्यकर्ता र शुभेच्छुकले भरिने मन्त्रीहरुको निवास छाड्दा भने कसैले चुइँक्कसमेत थाहा पाएनन् । यस्तै सुनसान दृश्य थियो, निवर्तमान अर्थमन्त्री रामजीप्रसाद बरालको निवासमा पनि ।

रामजीले दिउँसो करिब १ बजे निवास छोड्दा केही आफन्तबाहेक अन्य उपस्थित थिएनन् ।

सँगै आँगन जोडिएको क्वाटरमा बस्दै आएका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले भने सोमबार साँझै निवास छोडिसकेका थिए । घर खाली थियो । ‘यो घर पहिले अर्थमन्त्रालयकै लागि बनाइएको हो । तर, यहाँ बसिसकेपछि त्यहाँ सर्न मन लागेन’ निवास छोड्नुअघि गफ्फिंदै बरालले सुनाए ।

बरालले आफ्नो निवास छाड्नुअघि परिसरमा लगाएका हरिया सागसब्जी र सिमीको चिन्ता लिए । ‘पहिले म यहाँ आउँदा झ्याङैझ्याङ थियो । सबै सफा गरेर आफैं सागसब्जी लगाएँ । मलाई यस्तोयस्तो काम गर्न पनि मजा लाग्छ के’, बरालले ठट्टा गरे, ‘अब आउने अर्थमन्त्रीलाई सागसब्जी कमी नहुने भयो ।’

बराल निवास छोड्न झिटीझाम्टा कस्दै गर्दा एउटा सरकारी नम्बर प्लेटको गाडी प्राङ्गणमा आएर रोकियो । त्यहाँबाट केही कर्मचारी झरे । तर, ती कर्मचारीले रामजीतिर फर्किएनन् । सिधै डोबाटे विश्वकर्माले छाडेको खाली निवासमा लागे । ‘हिजो साँझ पनि खै कुन मन्त्रीज्यु गाडी लिएरै आउनु भएको थियो । यतातिर आउनु भएन,’ बरालले भने ।

पोखरा वडा नं. २५ पुम्दीमा घर भए पनि बरालले निवास नजिकै २ वटा कोठा भाडामा लिएर डेरा सर्न लागेका छन् । उनले आगामी दिनमा सक्रिय राजनीति गर्न पनि पोखरा बसाइँ नै सहज हुने बताए ।

सोही ठाउँमा रहेको वन तथा वातावरणमन्त्री दीपक चर्ती मगरले भने अझै केही दिन क्वाटर नछोड्ने मनस्थितिमा छन् । मन्त्री चर्तीका स्वकीय सचिव शिव श्रेष्ठका अनुसार उनी अझै ३–४ दिन सरकारी क्वार्टरमै बस्नेछन् । सरकारी निवास छाडेपछि उनी गृह जिल्ला स्याङ्जा जानेछन् ।

गण्डकी प्रदेश स्वास्थ्यमन्त्री मधुमाया अधिकारी सरकारी निवास छोडेर बुधबार गृह जिल्ला लमजुङ फर्किँदैछिन् । पोखरा वडा नं. ११ रानीपौवास्थित स्वास्थ्य तालिम केन्द्र निवास पाएकी उनले मंगलबार निवास छोड्ने तयारी गर्दै थिइन् ।

४ कोठे उक्त भवनमा नेकपा माओवादीबाट स्वास्थ्यमन्त्री अधिकारी छोरी र स्वकीय सचिवसहित ३ जना बस्दै आएका छन् । ‘क्वार्टर सानो लाग्यो कि लागेन ?’ पत्रकारको जिज्ञासामा उनले भनिन्, ‘युद्धमा लागेको मान्छे । ढुंगाको सिरानी लाइयो, ओडारमा सुतियो । आकाशको घामपानी छेके पुग्यो हामीलाई,’ उनले भनिन् ।

कृष्णचन्द्र पोखरेल नेतृत्वमा १८ महिना मन्त्रालय सम्हालेकी मधुमायाले पनि परिसर वरपर तरकारी लगाएकी छन् । उनले केही सामान छोडे पनि आफूले प्रयोग गर्दै आएका लुगाफाटा र किताबहरु भने लैजाने तयारी गरेको सुनाइन् । ‘थुपैै सामानहरु छन् । किताबहरु धेरै छन् । ला’का लुगा लानै पर्‍यो । मायाको चिनो नै ३ कार्टुन भए, आम्खोरा, कप, करुवा छन्,’ उनले भनिन्, ‘सबै लानै पर्‍यो ।’

१२ मन्त्रालय रहेको गण्डकीमा यसअघि नै ऊर्जामन्त्री हरिशरण आचार्य निर्वाचन अगाडि नै पदमुक्त हुँदै निवास छोडिसकेका थिए । अर्का पदमुक्त गरिएका भौतिक मन्त्री कुमार खड्काले सरकारी क्वाटर लिएका थिएनन् ।

पोखरा सहिद चोकमा सरकारी निवास पाएका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ले पनि सोमबार नै डेरा सरिसकेका छन् । गण्डकीका कानुनमन्त्री विन्दुकुमार थापा र सामाजिक विकासमन्त्री मेषलाल श्रेष्ठले पनि सरकारी क्वाटर लिएका थिएनन् । श्रेष्ठले ३ दिनअगाडि नै आफूले गाडीसमेत बुझाइसकेको जानकारी दिए ।

सोमबार दिउँसो गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारीले सपथ लिएसँगै कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको प्रदेश सरकारको म्याद स्वतः समाप्त भएको हो । नवनियुक्त मुख्यमन्त्री अधिकारीले शुक्रबार विश्वासको मत लिँदैछन् ।

सोमबार मुख्यमन्त्री नियुक्त भएका अधिकारीले शपथ लिंदै नेकपा एमालेबाट सीता सुन्दास, राप्रपाबाट पञ्चराम गुरुङ र नेकपा माओवादीबाट हरिबहादुर चुमानलाई बिना विभागीय मन्त्री नियुक्त गरेका थिए ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?