+
+

मुख्यमन्त्री अधिकारी सहभागी कार्यक्रममा एमालेकै जनप्रतिनिधिको हातमा कालोपट्टी

पोखरा महानगरको हिउँदे अधिवेशन अनिश्चितकालका लागि स्थगन

विकास रोकामगर विकास रोकामगर
२०७९ पुष २६ गते १९:१३

२६ पुस, पोखरा । पोखरा महानगरले मंगलबारदेखि हिउँदे अधिवेशन (१२ औं नगरसभा) डाकेको थियो । दिउँसो २ बजेदेखि हुने भनिएको कार्यक्रमको प्रमुख अतिथिमा थिए, गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी ।

मुख्यमन्त्री नियुक्त भएपछि पहिलो सार्वजनिक कार्यक्रममा गएका मुख्यमन्त्री अधिकारीको पहिले अनुभव नै तीतो बन्न पुग्यो । उनी पुगेको नगरसभामा विवादमात्रै भएन, अनिश्चितकालका लागि स्थगन नै हुन पुगेको छ ।

नेकपा एमालेबाट मुख्यमन्त्री बनेका अधिकारी सहभागी कार्यक्रममा एमालेकै जनप्रतिनिधिले हातमा कालोपट्टी बाँधेका थिए । उनीहरुले कालोपट्टी बाँधेकै कारण नगरसभामा विवाद भयो र नगर सभा नै अनिश्चितकालका लागि स्थगित भयो ।

जनप्रतिनिधिले हातमा कालोपट्टी बाँध्नुको कारण मुख्यमन्त्रीको र नगरसभाको अध्यक्षता गरिरहेका मेयरको विरोध थिएन ।

नगरसभा विवादित बन्नुको कारण थियो– वडाध्यक्षले आफ्नै वडासदस्यलाई जातीय विभेदजन्य गाली गलौज गर्नु ।

पोखरा २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीले गतहप्ता आफ्नै वडा सदस्य मैया नेपालीलाई जातीय विभेद हुने गरी गाली गलौज गरेका थिए ।

नेपालीले प्रहरीमा उजुरी नै गरेपछि प्रहरीले अधिकारीलाई पक्राउ गरी अनुसन्धान थालेको छ । नेपाली एमालेबाट निर्वाचित वडा सदस्य हुने भने वडाध्यक्ष अधिकारी कांग्रेसबाट ।

नगरसभामा एमालेका जनप्रतिनिधिले अधिकारीलाई कडा कारबाही हुनु पर्ने माग राखेर हातमा कालोपट्टी बाँधेका थिए । उनीहरुले कारबाहीको माग गर्नका लागि नगरसभामा उठेर समय मागेका थिए ।

नगरसभामा कार्यक्रम सहजीकरण गरिरहेका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले मुख्यमन्त्री अधिकारीलाई आफ्ना कुरा राख्न समय दिए । तर, त्यतिनैबेला नेकपा एमालेका केही जनप्रतिनिधि उठेर विरोध गर्दै मुख्यमन्त्रीभन्दा पहिले आफूलाई समय दिन माग गरे ।

त्यसपछि उपप्रमुख मञ्जुदेवी गुरुङले आफ्नो कुरा राख्न नगर सभा सदस्य दीपक घिमिरे विश्वकर्मालाई संकेत दिएकी थिइन् । उनले वडाध्यक्ष भरतबहादुर अधिकारीलाई कारबाही गर्न माग गर्दै कार्यक्रममै ज्ञापनपत्र बुझाए ।

आफ्नै पार्टीका जनप्रतिनिधिको विरोध बाबजुद् सभालाई छोटो सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले आफ्नै जनप्रतिनिधिको विरोध भएपछि असन्तुष्टि पोखे । उनले आफू न्यायको पक्षमा भए पनि समाधान निकाल्न नसक्ने बाध्यता सुनाए ।

‘साथीहरु म आउँदा खुसी नै हुनुहुन्थ्यो । सन्दर्भ कसरी उठ्यो, त्यसमा जान चाहन्नँ,’ मुख्यमन्त्री अधिकारीले भने, ‘मैले समाधान निकाल्न सक्दिनँ । न्याय, इन्साफको पक्षमा छु । कानुनी राज्यको पक्षमा छु ।’ उनले संवादबाटै विवाद मिलाउन सकिने बताए ।

पोखरा २५ का वडाध्यक्ष अधिकारीले आफ्नै वडासदस्य नेपालीलाई ‘तेरो परिवारको हैसियत के हो ? वडाको बजेटमा दमै, कामी, सार्कीले सिनो लुछेको जस्तै गरी लुछ्न खोज्छेस्’ जस्तो अपमानजनक शब्द प्रयोग गरेको भन्दै कारबाहीको माग गर्दै उजुरी दिएकी थिइन् ।

वडा सदस्य नेपालीलाई पुस १८ गते लक्षित वर्गमा छुट्टिएको बजेट कार्यान्वयनका लागि आयोजित महिलाहरुको भेलामा अध्यक्ष र अन्य सदस्यहरुबीच छलफल हुँदै गर्दा अपमानजनक शब्द बोलेको उजुरीमा उल्लेख छ ।

एमाले साथीहरुले प्रमुख अतिथिको अपमान गर्नुभयो : प्रवक्ता तिमिल्सिना

पोखरा महानगरका प्रवक्ता तथा पोखरा २५ वडाध्यक्ष मोति तिमिल्सिनाले अदालती प्रक्रियामा गइसकेको विषय नगरसभामा उठाउँदा प्रमुख अतिथिकै मानमर्दन भएको बताए । उनले नेकपा एमालेका नगर सभा सदस्यले नै नगर सभाको विरोध विधिसम्मत नभएको दाबी गरे ।

‘नगर सभा चल्दै गर्दा एमालेका केही साथीहरुले कालोपट्टी बाँधेर विरोध गर्नुभयो,’ नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष तिमिल्सिनाले भने, ‘त्यसपछि हाम्रो कांग्रेस दलका साथीहरुले यो नीतिगत रुपमै भएन, यसरी नगर सभा सदस्यले नै नगर सभामा कालोपट्टी बाँधेर विरोध गर्नु राम्रो होइन, प्रमुख अतिथि मुख्यमन्त्रीकै अपमान हुने गरी विरोध गर्न पाइँदैन, विधिसम्मत भएन । नगरसभा यसरी चल्नुहुँदैन भनेर नगरप्रमुखलाई पत्र बुझाएपछि नगरसभा स्थगित भएको हो ।’

एमाले नगर सभा सदस्यको विरोध दलगत होइन : राधिका शाही

नेकपा एमाले दलकी नेतासमेत रहेकी पोखरा १७ की वडाध्यक्ष राधिका शाहीले मुख्यमन्त्री अधिकारी आउँदा भएको विरोधले दलको प्रतिनिधित्व नगर्ने स्पष्ट पारिन् ।

उनले दलले नभई असन्तुष्टि भएका विषयमा व्यक्तिगत रुपमा नगर सभाको ध्यानाकर्षण गराइएको सुनाइन् ।

‘नेकपा एमालेको दलबाट मुख्यमन्त्रीलाई कालोझण्डा, प्लेकार्ड देखाउने भएको होइन । तर अन्याय कसैलाई हुन हुन्न,’ वडाध्यक्ष शाहीले भनिन्, ‘नगरसभा स्थगित भनेर राखेको मागको औचित्य छैन । नगर सभामा ध्यानाकर्षण भएको छ । तर, दलगत रुपमा होइन ।’

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?