+
+
ब्लग :

आजको चश्माले नचिनिने पृथ्वीनारायण शाह

सत्य सापेक्ष हुन्छ भन्ने कुरा नभुलौं। आजको चश्माले हिजोको त्यो युगको पृथ्वीनारायण चिनिन्न। उनी त्यही समय र समाजले जन्माएका पात्र हुन्। उनीबाट सिक्न सकिने कुरा सिकौं र अगाडि बढौं।

डा. विष्णुप्रसाद जोशी डा. विष्णुप्रसाद जोशी
२०७९ पुष २७ गते १८:३४

हरेक राष्ट्रको निर्माण, स्थापना या स्वतन्त्रता सङ्ग्राममा योगदान दिएका अभियन्ता, सेनानी या जननेता स्मरणीय हुन्छन्। गणतन्त्र नेपालमा पृथ्वीनारायण शाहलाई शाहवंशका राजाभन्दा पनि राष्ट्रिय एकताका प्रतीकका रूपमा हेरिनुपर्छ। यसमा अमर सिंह थापा, बलभद्र कुँवर, बिसे नगर्ची जस्ता स्वाभिमानी वीर पुर्खाको नाम समेत समेटेर एकता दिवस मनाउँदा सुनमा सुगन्ध हुन्छ।

यो राष्ट्रिय एकता र स्वाभिमानको कुरा हो न कि राजतन्त्रको। हरेक देशका नागरिकले स्वाभिमान र राष्ट्रिय एकताको प्रतीक खोजी गर्छन्। कोही पनि नागरिक आफ्नो इतिहास र पहिचानबाट बेखबर रहन सक्दैन।

गरिबी, असमानता र पछौटेपनसँग सम्बन्धविच्छेद गर्न नसक्दा आज हरेक नेपाली नागरिकले नायक खोजिरहेको छ। सामाजिक सञ्जालको व्यापक प्रयोग र विस्तारले लोकतान्त्रिक अभ्यास कमजोर र लोकरिझ्याईंवाद बलियो बनिरहेको छ। त्यसैले हामी कहिले पत्रकार त कहिले कलाकार, कहिले सेवा निवृत्त प्रहरी तथा कहिले कर्मचारीभित्र त्यस्तो नायक खोजिरहेका छौं।

डा. विष्णुप्रसाद जोशी

यो अभ्यास संसारभरि नै व्याप्त छ। आज नेपालमा मात्रै नभई विश्वमा एकताका प्रजातन्त्र र उदारवादका पर्याय मानिने अमेरिका, भारत, बेलायत, ब्राजिललगायत देशहरूमा पनि उग्र–राष्ट्रवादी, निषेधात्मक सोच हावी भएका लोकरिझ्याईंवादी दक्षिणपन्थी नेताहरू उदाएका छन्। आफ्ना अनुयायी बाहेक सबैलाई देशद्रोही वा समाज विरोधी देख्नु उनीहरूको सामान्य चरित्र हो।

प्रथम र दोस्रो विश्वयुद्धको सँघारमा यस्तै नेताहरूको उत्थान भएको थियो। आज फेरि संयुक्त राष्ट्रसंघ, युरोपियन युनियन, सार्क जस्ता अन्तर्राष्ट्रिय र क्षेत्रीय सङ्गठनहरू निरीह छन्। यो विश्वबन्धुत्वको भावना, समानता र सामाजिक न्याय खोज्नेहरूका लागि खतराको घण्टी हो।

हाम्रा व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका र सुरक्षा संयन्त्रहरू अझै पूर्ण लोकतान्त्रिक भइसकेका छैनन्। ६ जनवरी २०२१ मा अमेरिका र ८ जनवरी २०२३ मा ब्राजिलमा जस्तै लोकतान्त्रिक संस्थाहरूमाथि प्रहार नेपालले सजिलै सम्हाल्न सक्दैन। बारम्बार सत्तामा भएका शासकहरूले गर्ने अलोकतान्त्रिक हस्तक्षेपले हाम्रा लोकतान्त्रिक संस्थाहरू स्वतन्त्र र स्वायत्त हुनसकेका छैनन्।

हाम्रो जस्तो विविधतायुक्त समाजमा लोकतन्त्र बलियो हुन उदार मध्यपन्थ या लोकतान्त्रिक समाजवादको आवश्यकता छ। परम्परावादी दक्षिणपन्थ र उग्रवामपन्थ असफल हुँदा नेपालीहरूले एकै पुस्ताले दुई-दुई चोटि प्रजातन्त्र/लोकतन्त्रको लागि बलिदान दिनु पर्‍यो। आफ्नै इतिहास र संसारबाट सिक्दै दायाँ-बायाँ भड्किन छाडेर अब हामी लोकतान्त्रिक व्यवस्थाको सबलीकरणका लागि जुट्नु आवश्यक छ।

मानौं या नमानौं हामी सबैभित्र आफ्नै जाति, धर्म, वर्ण, वर्ग र छालाको रङप्रति विभेदको बीउ मनको कुनामा बसेको हुन्छ। त्यो बीउ उपयुक्त वातावरण पाए अङ्कुरित हुन्छ। अलि दक्षिणपन्थी हावा लागेमा अराजकताको वृष्टि हुन्छ। रुढिवादी सङ्कीर्ण सोचको मलजल मिले यो आधुनिकताको खोस्टोभित्र निष्क्रिय रहेको विभेदको बीउ अङ्कुरित हुन्छ। भेदभावको उम्रिंदो टुसालाई स्थानीय प्रशासन या बहु-सङ्ख्यकको शासनबाट घेराबारा र संरक्षण मिल्यो भने यो दुर्गन्धित काँडे वनमाराको झारझैं चार जात छत्तीस वर्णको साझा फूलबारीमा झांगिंदै जान्छ।

पृथ्वी भाष्य

पृथ्वीनारायण शाहले दिव्योपदेशमा भनेको ‘नेपाल चार जात, छत्तीस वर्णको साझा फूलबारी हो’, ‘प्रजा मोटा भया राष्ट्र बलियो हुन्या छ’ जस्ता लोकतन्त्र, समावेशिताका सन्देशलाई आजको युग सुहाउँदो विवेचना गरी राष्ट्रको माया, गौरव र संरचनात्मक (जातीय, वर्गीय र आर्थिक) विभेदको भिन्नता प्रष्ट बुझ्न जरुरी छ।

देशको माया र देशभक्ति आम नागरिकलाई हुन्छ। यो कुनै पुनरुत्थानवादी, पुरातनवादी, राजावादीहरूको राजनीतिक/व्यक्तिगत ठेक्काको विषय होइन। साँचो राष्ट्रवाद देश प्रेम हो, स्वावलम्बन हो र जनतामा निहित सार्वभौम सत्ता हो।

अरूभन्दा हाम्रो धर्म, जात, वर्ग, छालाको रङ श्रेष्ठ हो भन्ने भावले समाजमा न एकता ल्याउँछ न समृद्धि। दक्षिणपन्थले समाज रुढिवाद र अतिवादतिर धकेलिदिन्छ। धर्म, जाति र क्षेत्रीयताको नाममा राजनीति गर्नेहरूको इतिहास लामो छ। धर्मको नाममा भारत विभाजित भएर पाकिस्तान बन्यो। धर्मको नाममा लडिरहने इजरायल-प्यालेस्टाइन जस्ता क्षेत्रहरूमा शान्ति स्थापित गर्न मुस्किल छ। धर्म र साम्प्रदायिकता भड्काई केही समूह सधैं राजनीतिक फाइदा उठाइरहन चाहन्छन्।

राष्ट्रिय अखण्डता, जनतामा निहित सार्वभौमसत्ता, सहिष्णुता र स्वाभिमान नै अहिले सबै नेपालीको एकताको सूत्र हो। लोकतन्त्रमा कुनै जाति या समुदायका छोरा-छोरी पनि राष्ट्र-प्रमुख बन्न सक्छन्। लोकतन्त्रको विकल्प अझै उन्नत लोकतन्त्र हो। ‘दुनियाँ जसदेखि राजी रहन्छन् उसैलाई कजाइँ दिनु’ भन्ने पृथ्वीनारायणको भनाइ यहाँनेर स्मरणीय हुनसक्छ।

दिव्योपदेशको सान्दर्भिकता

नेपालका राजनीतिक दलका नेताहरूले कहिले उत्तर त कहिले दक्षिण रिझाउने असन्तुलित कूटनीति अपनाइरहेका छन्। यो अभ्यासले हामी ‘दुई ढुंगाबीचको तरुल’ नै बनिरहेका छौं। कतै भूराजनैतिक सिलौटामा पिसिने त हैन भन्ने आशंका बढ्दो छ। यसमा पृथ्वीनारायणले ‘सन्धिसर्पन हेरी गढी तुल्याइराख्नू र रस्ता–रस्तामा भाँजा हालिराख्नू’ भनेझैं सीमा अतिक्रमण हुनबाट बचाउन सन्तुलित कूटनीतिको अवलम्बन गर्न आवश्यक छ।

‘चीन बादशाहसित ठूलो घाहा राष्नु, दषिनको समुद्रका बादशाहसित घाहा ता राषनु तर त्यो महाचतुर छ हिन्दुस्थाना दबाई राख्या छ। सरजिमीमा परिरहेछ हिन्दुस्थाना जाग्यो भने कठीन पर्ने छ भनी किल्ला खोज्न आउन्या छ’-उनको यो विश्लेषण अहिले पनि सान्दर्भिक हुन आउँछ।

त्यस्तै राष्ट्रिय पहिचान, भाषा संस्कृतिको जगेर्नामा पनि दिव्योपदेश मननयोग्य छ- ‘बुढा मरे भाषा सरे भनी भन्छन्, तिमिहरू सबैछेउ सुनाइ गयाको भया तम्रा सन्तानलाई सुनाउला र तम्रा सन्तानले हाम्रा सन्तानलाई सुनाउन र यो राजे थामि षानन्।’ साथै सुशासन र भ्रष्टाचार नियन्त्रणमा पनि पृथ्वी सन्देश अवलम्बन गर्न सके सरकारका न्यूनतम साझा कार्यक्रमका केही बुँदा पूर्ण हुने देखिन्छन्। पृथ्वीनारायणको दिव्य सन्देशमा भनिएको छ-‘अन्याय मुलुकमा हुन नदिनू। निञानिसाप बिगार्न्या भन्याको घुस दिन्या र घुस षान्या हुन्। ईन दुईको ता धन जीव गरी लियाको पनि पाप छैन, ई राजाका महासतुर हुन्।’

पृथ्वीनारायण शाहको एकीकरणलाई समर्थन गर्नु भनेको ज्ञानेन्द्र शाह या पारस शाहलाई राजा बन भन्नु होइन। नातावाद, कृपावाद चलाएका आधारमा नेपालमा कुनै वंशलाई निषेध गर्ने हो भने नेपालमा सबै कति धेरै वंशलाई निषेध, प्रतिबन्ध गर्नुपर्ला ? देशमा अहिलेको असमानता र गरिबी ल्याउन राणा र शाह वंशपछि आएका नयाँ शासकका वंश याद गरौं त ?
हजारौं जनताको बलिदानले आएको उपलब्धिलाई जोगाउनुपर्छ। यसो भनिरहँदा इतिहासमा खासखास चरणमा तत्कालीन आवश्यकता अनुसार गरिएका हरेक काम र त्यससँग जोडिएका पात्रलाई स्मरण गर्न भुल्नुहुँदैन। र, अहिले गणतन्त्रमा देखिएका यावत् समस्या पात्रको हो, प्रणालीको होइन।

जब लोकतन्त्र संस्थागत हुन्छ, तब जनता–जनार्दनको स्वाभिमानको रक्षार्थ खसेका सचेत र जागरूक मतले क्रान्ति गर्छ। लोकरिझ्याईंवादीहरू विस्तारै किनारीकृत हुँदै जान्छन्। उग्र वा दक्षिणपन्थी भड्कावहरू आफैं ठेगान लाग्छन् किनकि हरेक अतिवादको आयु लामो हुँदैन।

आजको सन्दर्भमा देशलाई सुशासन र समृद्धितर्फ डोर्‍याउने राष्ट्रिय एकता र समृद्धिको संवाहक समावेशी लोकतन्त्र नै हो। आजको आँखाले हिजोको दृश्य हेर्नुहुँदैन। सत्य सापेक्ष हुन्छ भन्ने कुरा नभुलौं।

आजको चश्माले हिजोको त्यो युगको पृथ्वीनारायण चिनिन्न। उनी त्यही समय र समाजले जन्माएका पात्र हुन्। उनीबाट सिक्न सकिने कुरा सिकौं र अगाडि बढौं। एक हैन अनेक राजनेताको छनोट जनता स्वयंले गर्नेछन्। त्यो दिन नआउँदासम्म पृथ्वीनारायण र राष्ट्रिय एकता दिवसलाई नभुलौं !

खप्तडछान्ना गाउँपालिका ५, पिठातोला, बझाङ

लेखकको बारेमा
डा. विष्णुप्रसाद जोशी

बझाङमा जन्मिएका लेखक हाल अमेरिकामा वैज्ञानिकको रूपमा कार्यरत छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?