+
+

सम्झनामा हजुरबुवा, जो मेरो ताकत हुनुहुन्थ्यो

डा. श्वेता सिंह डा. श्वेता सिंह
२०७९ माघ १ गते १५:३४

मेरो हजुरबुवा विन्देश्वरीप्रसाद सिन्हाको जन्म वि. सं. १९९३ भदौ ४ गते सप्तरीमा भएको थियो । २०७९ पुस १४ गते उहाँ हामीमाझ रहनु भएन ।

म हजुरबुवासँग एकदमै नजिक थिए । मेरो बाल्यकालको धेरै समय मामाघरमा नै बितेको थियो । मामाघरमा नै बसेर आइडल मोडल स्कुल ललितपुरमा कक्षा ६ देखि १० सम्म मैले पढें । जसले गर्दा मैलै धेरै समय हजुरबुवासँग बिताउन पाएको थिए । मम्मी र मामाले ड्याडी भनेको सुनेर म पनि हजुरबुवालाई ड्याडी नै भन्थें । ड्याडीले मेरो पढाइलेखाइमा विशेष ध्यान दिनुहुन्थ्यो ।

पढाइमा ध्यान दिनुपर्छ भनेर मलाई सधैं प्रोत्साहित गर्नुहुन्थ्यो । होमवर्क गर्ने बेलामा र पढ्ने बेलामा उहाँ सधैं मलाई सहयोग गर्नुहुन्थ्यो । त्यसैले मेरो परीक्षाको नतिजा लिन पनि ड्याडी नै गए हुन्थ्यो जस्तो मलाई लाग्थ्यो र उहाँ नै सधैं जानुहुन्थ्यो ।

पढाइमा के कमी कमजोरी छ र त्यसलाई कसरी सुधार्ने भन्ने कुरा उहाँले सिकाउनु हुन्थ्यो । स्कुलमा हुँदा कम्प्युटर साइन्समा चाहिं म अलि कमजोर थिए । त्यो बेला घरघरमा कम्प्युटर हुँदैन थियो । पुल्चोकमा एउटा कम्प्युटर इन्स्टिच्युट थियो त्यहाँ ड्याडीले मेरो भर्ना गरिदिनुभयो । मलाई त्यो विषय मन पर्दैन भनेर उहाँले पनि त्यहाँ कम्प्युटर सिक्न भर्ना लिनुभयो । रिटायर भइसकेको मान्छे मलाई पढाउन उहाँ आफैं पनि पढ्न थाल्नुभयो । म यत्रो उमेरमा त कम्प्युटर सिक्न सक्छु भने तिम्रो त उमेर छ भनेर उदाहरण दिनुभएको थियो ।

एसएलसी सकाएपछि दिल्ली पब्लिक स्कुल घोपाक्याम्प (उक्त क्षेत्रमा हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको छ) मा म भर्ना भएँ । एसएलसीको नतिजा आउनुअघि नै म होस्टेल गएको थिएँ । नतिजा आएपछि ड्याडीले फोन गरेर ‘तिम्रो परीक्षाको नतिजा आयो भन्नुभयो’ । गणित र ऐच्छिक गणितमा त्यही ९० कोही हाराहारीमा मेरो नम्बर आएको थियो । उहाँले मलाई त केही भन्नुभएन तर घरमा ‘मैले अझ राम्ररी पढाएको भए नातिनीको नतिजा अझै राम्रो हुन्थ्यो कि’ भन्नु भएको थियो रे । त्यो सुनेपछि प्लस टुमा म अझै मेहनत गर्छु भन्ने लागेको थियो ।

म सानै हुँदा काठमाडौंको एउटा कपास खेतीको अवलोकनमा मलाई पनि लिएर जानु भएको थियो । हजुरबुवा त्यतिबेला कृषि सचिव हुनुहुन्थ्यो ।  हजुरबुबा त ठूलो मान्छे कृषकहरूलाई कसरी रोप्ने, कसरी त्यसको हेरचाह गर्ने भनेर किन सिकाएको होला जस्तो लाग्थ्यो । मैले त्यो कुरा उहाँलाई सोधेपछि भन्नुभयो, ‘हामीले कहिले पनि आफ्नो सफलताको घमण्ड गर्नुहुँदैन आज हामी जहाँ छौं, यी सबै मान्छेहरूले गर्दा नै छौं । कोही मान्छे सानो ठूलो हुँदैन । किसानहरूको समस्या  सुनेर त्यो समस्या समाधान गर्न मैले सहयोग गर्न सकिनँ भने म कृषि सचिव भएको केही अर्थ हुँदैन ।’

आफ्नो कामप्रति सधैं इमान्दार हुनुपर्छ भन्ने कुरा मैले उहाँबाट सिकेको थिएँ । म डाक्टर भइरहँदा मैले आफ्नो सहकर्मीसँग र बिरामीसँग कस्तो व्यवहार गर्ने भन्ने कुरा पनि मैले उहाँबाट सिकेको हुँ । उहाँ मेरो ताकत हो ।

बाल्यकालमा हजुरबुवालाई देख्दा एक दिन म पनि उहाँ जस्तै केही राम्रा काम गर्ने छु भन्ने लाग्थ्यो । दुःख पर्दा आत्तिनु हुँदैन र सुखमा मात्तिनु हुँदैन घमण्ड गर्नु हुन्न भन्ने उहाँको मान्यता थियो  । जीवन सादा र विचार सधैं उच्च हुनुपर्छ भन्ने मान्यता राख्ने उहाँले परिवारका सदस्यलाई पनि त्यही सिकाउनुभयो । उहाँ भन्ने गर्नुहुन्थ्यो, ‘आफ्नो रहनसहनलाई सामान्य राख तर आफ्नो सोच र आफ्नो कामलाई बढी महत्त्व देऊ ।’

‘हामीले बाँचुञ्जेल जति पनि सम्पत्ति कमाउँछौं त्यो सबै छोडेर जानुपर्छ । अरूको मनमा आफ्नो लागि बनाएको ठाउँ र उसको सद्भाव मात्र हामी मृत्युपछि लिएर जान्छौं ।’ हजुरबुबाले भन्ने गर्नु भएको यो कुराले सधैं मेरो मन छुन्थ्यो ।

हजुरबुबाले भन्नु भएको हरेक कुरा म मान्ने गर्थें त्यसैले सायद म अहिले यो स्थानमा छु । हजुरबुबा जस्तो सरल व्यक्तित्व कमै मात्र भेटिन्छन् समाजमा ।

हजुरबुवाको बोली-व्यवहारबाट असाध्यै प्रभावित

हजुरबुवा घरको जेठो छोरा हुनुहुन्थ्यो, त्यसैले सानै उमेरदेखि उहाँले परिवारको सबै जिम्मेवारी आफ्नो काँधमा उठाउनुभयो । एकदमै व्यावहारिक हुनुहुन्थ्यो, परिवारको हरेक सदस्यको सोच्नुहुन्थ्यो । कसैले केही कुराको लागि मद्दत माग्यो भने सहयोग गर्न सधैं तत्पर रहनुहुन्थ्यो । उहाँको बोली साह्रै नरम थियो कसैको चित्त सायदै दुखाउनु भएको थियो होला । त्यसैले उहाँ परिवार र समाजको पनि प्रिय मान्छे हुनुहुन्थ्यो ।

म १३-१४ वर्ष हुँदाको एउटा घटना सम्झन्छु । केही कामको सिलसिलामा दाजु र म रोनास्ट (हाल नास्ट)को फार्ममा गएका थियौं । त्यहाँको निर्देशकले हामीलाई साधारण व्यवहार नै गर्नुभएको थियो । करिब २०-२५ मिनेटपछि बिन्देश्वरीप्रसाद सिन्हाको नाति नातिनी भनेर थाहा पाउनुभएछ, त्यसपछि उहाँले हामीलाई एकदमै सम्मान गर्नुभयो र हजुरबुवाको बारेमा धेरै प्रशंसा गर्नुभयो । त्यो बेला हजुरबुवा कृषि सचिवबाट रिटायर भएकै ३-४ वर्ष भइसकेको थियो । तैपनि उहाँले हाम्रो हजुरबुवा र हामीलाई त्यति धेरै सम्मान र माया गर्नुभएको देखेर म छक्क परेको थिएँ ।

सँगै काम गर्दा मात्र मान्छेले सम्झिन्छ, काम छोडेपछि बिर्सिन्छ जस्तो मलाई लाग्थ्यो । तर राम्रो काम गर्ने व्यक्तिलाई त मान्छेहरूले सधैं सम्झिनेरहेछन् । हजुरबुबाले अरूबाट धेरै माया र सम्मान कमाउनुभएको रहेछ भन्ने मलाई लाग्यो । म सानो हुँदाको त्यो घटना मेरो मनमा सधैं रहिरह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?