+
+

यती एयर दुर्घटना : बेपत्ताको खोजी कार्य राति पनि गरिने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १ गते १९:५४

१ माघ, कास्की । पोखरामा आज बिहान भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा बेपत्ताको खोजी कार्य राति पनि जारी राखिने भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अजय केसीले खोजी कार्यलाई राति पनि जारी राख्नका लागि घटनास्थल सेती खोँचमा लाइट जडान गरिसकिएको बताए ।

‘खोजी कार्यको सुरक्षाकर्मीका तर्फबाट कुनै कमी हुन नदिनका लागि राति पनि सम्भव भएसम्म शवहरु खोजी गर्नेछौँ’, प्रमुख केसीले भने ।

दुर्घटनामा परी मृत्यु भएका ६८ जनाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा परीक्षणका लागि लगिएको छ । ‘अब बेपत्ता चार जनाको पनि खोजीमा लागेका छौँ, राति नभेटिए सोमबार पनि खोजी कार्यलाई तीव्र पार्छौं’, उनले भने ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका टोली खोजीमा खटिएका छन् । नेपाली सेनाका मात्रै दुई सय बढी खटिएका छन् । प्रहरी र सशस्त्र प्रहरी पनि सयौँको सङ्ख्यामा खटिएका छन्। काठमाडौँबाट सशस्त्र प्रहरीको गोताखोरको टोली पोखरा आएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले राति पनि बत्ती जडान गरी खोजी गर्न लागिएको जानकारी दिए। उनका अनुसार जहाजमा रहेका चार जना अझै बेपत्ता छन् । अहिलेसम्म ६८ जनाको शव फेला परेको छ ।

उनीहरुको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा लगिएको छ। ‘सबै जनाको शव आज नै निकाल्न सकियोस् भनेर राति पनि खोजी गर्न लागिएको हो,’ प्रजिअ केसीले भने । मृतकका परिवारलाई सोमबार शव बुझाउने तयारी रहेको पनि प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?