+
+

मुद्दती निक्षेपको हिस्सासँगै वित्तीय स्रोतको लागत बढ्दै

विजय पराजुली विजय पराजुली
२०७९ माघ ४ गते १८:०५

४ माघ, काठमाडौं । बैंकहरुमा कम लागतको कासा निक्षेप (बचत र कल) को हिस्सा घटेर मुद्दती निक्षेपको हिस्सा बढ्दै जाँदा कर्जाको ब्याजदरमा थप दबाब बढेको छ । बैंकर्स संघले तरलता सहज बन्दै जाँदा पनि ब्याजदरको कारण कर्जाको माग नभएको भन्दै नेपाल बैंकर्स संघले १ माघदेखि निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको थियो ।

बैंकर्स संघले निक्षेपको ब्याजदर घटाउन निर्णय गरेपनि बैंकमा मुद्दती निक्षेपको हिस्सा बढ्दै जाँदा त्यसले आधार दर (बेस रेट) घटेर तत्कालै कर्जाको ब्याजदर अपेक्षाकृत रुपमा घट्ने अवस्था भने देखिंदैन । बैंक तथा वित्तीय संस्थाको निक्षेपमा मुद्दती निक्षेपको अंश बढ्दै जाँदा वित्तीय स्रोतको लागत पनि महँगिदै गएको छ । मुद्दती निक्षेपको हिस्सा बढ्दै जाँदा बेस रेट वृद्धिमा त्यसले पनि भूमिका खेलेको पूर्वबैंकर भुवन दाहाल बताउँछन् ।

‘कासा निक्षेप धेरै हुँदा त्यसको लागत पनि कम हुन्छ र बेस रेट पनि कम हुने हुन्छ । तर, मुद्दती निक्षेपको लागत बढी हुने भएकोले त्यसको हिस्सा बढी हुँदा बैंकहरुको बेस रेट पनि बढाउँछ,’ बैंकर दाहालले भने, ‘बचत र कल निक्षेपको लागत ब्याजदर घटाउँनासाथ तुरुन्तै घट्छ । मुद्दती निक्षेपमा भने एकपटक दिएको ब्याजदर निक्षेप परिपक्व भएर नवीकरण नहुँदासम्म घटाउन सकिंदैन ।’

१ माघदेखि लागु हुने गरी निक्षेपको ब्याजदर घटाएपछि मुद्दती निक्षेपको लागत भने तत्काल नघट्ने उनले बताए ।

कुल निक्षेपमा मुद्दती निक्षेपको हिस्सा बढ्दै जाँदा बेसरेट सँगै कर्जाको ब्याजदर पनि उच्च बनेको उनले बताए । मंसिर २०७९ मा बैंकहरुको आधार दर १०.६९ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

कात्तिकमा बैंकहरुको औसत बेसरेट १०.६० प्रतिशत रहेको थियो । कात्तिकमा ८.३२ प्रतिशत रहेको बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर मंसिरमा बढेर ८.४६ प्रतिशत पुगेको छ ।

निक्षेपको ब्याजदर स्थिर हुँदा पनि कात्तिकको भन्दा मंसिरमा बैंकहरुको औसत बेस रेट बढेको छ । कात्तिकको तुलनामा मंसिरमा मुद्दती निक्षेपको अंश वृद्धि हुँदा बैंकहरुको बेस रेट बढ्न पुगेको छ । बचत र कल निक्षेपको ब्याजदर घटाउँदा घट्ने र बढाउँदा बढ्ने हुन्छ ।

तर, मुद्दती निक्षेपको ब्याजदर भने जति अवधिको लागि राखेको हो उक्त अवधिसमम परिवर्तन हुँदैन । तर, अवधि पूरा भएपछि नवीकरण गर्दा भने बैंकहरुले प्रकाशित ब्याजदर दिनुपर्ने हुन्छ ।

कात्तिक २०७९ मा नै कर्जाको भारित औसत ब्याजदर करिब १० वर्षपछिको उच्च पुगेकोमा मंसिरमा थप वृद्धि भएको छ । मंसिर २०७९ मा कर्जाको भारित औसत ब्याजदर १२.७४ प्रतिशत पुगेको छ । २०७९ कात्तिकमा १२.६५ प्रतिशत रहको कर्जाको भारित औसत ब्याजदर मंसिरमा थप बढेको हो ।

२०७९ मंसिरमा कर्जाको भारित औसत ब्याजदर आर्थिक वर्ष ०६९/७० को असोज मसान्तपछि कै उच्च हो । २०६९ असोज मसान्तमा १२.९४ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

६० प्रतिशत नाघ्यो मुद्दती निक्षेप

नेपाल राष्ट्र बैंक कुल निक्षेपमा मुद्दती निक्षेपको हिस्सा ६० प्रतिशत भन्दा माथि पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७९ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५२ खर्ब ४७ अर्ब ५९ करोड ६० करोड निक्षेप पुगेको छ । जसको ६०.२ प्रतिशत मुद्दती निक्षेप रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । कात्तिक मसान्तमा कुल निक्षेपमा मुद्दती निक्षेपको अंश ५८ प्रतिशत रहेकोमा एक महिनामै २.२ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०७९ कात्तिकमा मुद्दती निक्षेपको औसत लागत १०.६५ प्रतिशत रहेको छ, भने बचतको भारित औसत ब्याजदर ७.४२ प्रतिशत रहेको छ ।

२०७९ असार मसान्तमा कुल निक्षेपमा मुद्दतीको अंश ५५.८ प्रतिशत थियो भने २०७८ मंसिर मसान्तमा ५४.३ प्रतिशत थियो । यस्तै २०७८ असार मसान्तमा कुल निक्षेपमा मुद्दती निक्षेपको अंश ४७ प्रतिशत मात्रै थियो ।

२०७८ भदौबाट बैंकहरुले निक्षेपको ब्याजदर बढाउन सुरु गरेका थिए । ब्याजदर वृद्धिसँगै कुन निक्षेपमा मुद्दती निक्षेपको हिस्सा पनि बढ्दै गएको हो ।

‘ब्याजदर घटेपनि मुद्दती निक्षेपको लागत घट्दैन’

१ माघदेखि बैंकहरुले निक्षेपको ब्याजदर घटाएसँगै बचत र कल निक्षेपको ब्याजदर घट्न गई औसत लागत पनि कम हुन जान्छ । तर, मुद्दती निक्षेपको ब्याजदर भने निक्षेपको अवधिभर नै स्थिर रहन्छ । जसले गर्दा निक्षेपको ब्याजदर घटेपनि तत्काल मुद्दती निक्षेपको लागत तत्काल नघट्ने पूर्वबैंकर दाहाल बताउँछन् ।

सर्वसाधारणमा वित्तीय साक्षरता बढ्दै जाँदा उच्च प्रतिफल पाइने मुद्दती निक्षेपमा पैसा राख्ने क्रम बढ्दै गएको पूर्वबैंकर दाहालले बताए । ‘सर्वसाधारण सचेत बन्दै जाँदा बचतमा पैसा राख्नु भन्दा मुद्दती निक्षेपमा पैसा राख्दा ५ प्रतिशत बढी ब्याजदर पाइन्छ,’ उनले भने, ‘सर्वसाधारणले खर्च चलाउन थोरै रकम बचतमा राखेर सकेसम्म मुद्दतीमा राख्ने अवस्था बनेको छ ।’

बैंकहरुबीच प्रतिस्पर्धाले गर्दा पनि बैंकहरुले नै ग्राहकहलाई बचत भन्दा मुद्दती निक्षेपमा पैसा राख्न प्रोत्साहन गरिरहेको उनले बताए । बैंकहरुको निक्षेप तानातान हुँदा बचतमा भएको निक्षेप कुनै पनि बेला अर्को बैंकले तान्न सक्ने तर, मुद्दतीमा भएको निक्षेप भने निक्षेपको अवधिसम्म बैंकमा नै रहने भएकोले पनि मुद्दती निक्षेप राख्ने बैंकहरुले प्रोत्साहन गरेको उनले बताए ।

बचत र मुद्दती निक्षेप बीचमा १/२ प्रतिशतको मात्रै अन्तर भएमा निक्षेपकर्ताको मनोविज्ञान बचतमै पैसा राख्ने हुने उनले बताए । तर, बचतभन्दा मुद्दती निक्षेपको ब्याजदर ५ प्रतिशतले बढी हुँदा निक्षेपकर्ताको मनोविज्ञान नै मुद्दती निक्षेप राख्ने हुने उनले बताए । अहिले ब्याजदर उच्च हुँदा उक्त मनोविज्ञानका कारण पनि मुद्दती निक्षेपको हिस्सा बढ्दै गएको बैंकर दाहालको विश्लेषण छ ।

३ महिना देखि ५/१० वर्षसम्मको मुद्दती निक्षेपको ब्याजदर एउटै हुँदा बचतमा राख्नेले पनि छोटो अवधिको मुद्दतीमा पैसा राख्ने उनले बताए । अहिले बेस रेट बढ्नुको एउटा कारण कासा निक्षेप घटेर मुद्दती निक्षेप बढ्नु पनि रहेको उनले बताए ।

नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपको उच्च ब्याजदर र बचतको न्युनतम ब्याजदर बीचको अन्तर ५ प्रतिशतभन्दा बढी कायम गर्न नपाइने व्यवस्था गरेको छ । यस्तै कल निक्षेपको ब्याजदर बचतको न्यूनतम ब्याजदरको आधा भन्दा बढी दिने नपाइने व्यवस्था रहेको छ । यस आधारमा मुद्दतीको ब्याजदर घट्दा स्वत बचत र कल निक्षेपको पनि ब्याजदर घट्ने हुन्छ ।

अहिले वित्तीय लागत उच्च हुनेमा मुद्दती र बचत बीचको ब्याजदर राष्ट्र बैंकले ५ प्रतिशत तोक्नु पनि एउटा कारण रहेको अर्का एक बैंकरले बताए । ‘राष्ट्र बैंकले मुद्दती निक्षेपको ब्याजदर बढाउँदा स्वतः बचत र कल निक्षेपको ब्याजदर पनि बढाउनुपर्ने व्यवस्था गरिदियो । यसले कुल निक्षेपमा ३५ प्रतिशत निक्षेपको ब्याजदर यसै बढ्ने अवस्था सिर्जना भयो,’ उनले भने, ‘उक्त व्यवस्था हटाउने हो भने ३५ प्रतिशत निक्षेपको लागत केही भए पनि घटाउने अवस्था रहन्छ ।’

अर्का पूर्वबैंकर पर्शुराम कुँवर क्षेत्री कुल निक्षेपमा मुद्दती निक्षेपको हिस्सा धरै भएको र उच्च ब्याजदर रहेकोले यसको प्रभाव लामो समयसम्म रहने बताउँछन् । बैंकर क्षेत्री पनि बचत र कल निक्षेपको लागत ब्याजदर परिवर्तन हुनासाथ परिवर्तन हुने तर मुद्दती निक्षेपको लागत भने निक्षेप अवधिभर परिवर्तन नहुने बताउँछन् । यस्तोमा कुल निक्षेपमा ६० प्रतिशत भन्दा बढी मुद्दती निक्षेप रहेकोले उच्च लागतको निक्षेपको प्रभाव लामो समयसम्म रहने उनले बताए ।

मुद्दती निक्षेपका हिस्सा धेरै हुनुको फाइदा स्रोत र कर्जा बीचको असन्तुलना भने कम हुने उनले बताए । तर, ३ महिना, ६ महिना वा १ वर्षको मुद्दती निक्षेपले खास प्रभाव नभए पनि दीर्घकालीन मुद्दती निक्षेप बढ्दै जानुपर्ने उनले बताए ।

तर, नेपालमा ५ वर्ष वा १० वर्ष अवधि भएको मुद्दती निक्षेप सीमित मात्रै रहेकोले मुद्दती निक्षेप बढ्दैमा उक्त असन्तुलन व्यवस्थापनमा सहयोग नै पुग्छ भन्ने अवस्था नरहेको उनले बताए ।

स्प्रेड रेटले ब्याजदर घटाउँछ

पूर्वबैंकर भुवन दाहाल अहिले अधिकांश बैंकको औसत ब्याजदर अन्तर (स्प्रेड दर) ४.४ प्रतिशतको करिब रहेको र चैतभित्र ४.२ प्रतिशत हुँदै आगामी असारमा ४ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ ।

१ माघदेखि कुल निक्षेपमा करिब ३५ प्रतिशत निक्षेपको ब्याजदर घटेको र स्प्रेड दर ४.२ प्रतिशत कायम गर्नुपर्ने भएकोले बैंकहरुले कर्जाको ब्याजदर पनि तत्काल घटाउनुपर्ने अवस्था रहेको पूर्वबैंकर दाहाल बताउँछन् ।

नेपाल राष्ट्र बैंकले कर्जाको ब्याजदरलाई बेस रेटसँग आबद्धता गराएको छ । यस्तै मासिक रुपमा निक्षेपको ब्याजदरमा घटबढ भएपनि कर्जाको ब्याजदर भने त्रैमासिक रुपमा बेस रेटमा हुने घटबढको आधारमा मात्रै कर्जाको ब्याजदर घटबढ हुन्छ ।

पुस मसान्तसम्म १२.१३३ प्रतिशत रहेको मुद्दती निक्षेपको ब्याजदर १ माघबाट ११ प्रतिशत र सोही अनुसार बचतको ब्याजदर पनि घटेको छ । यस आधारमा सामान्य अवस्थामा माघदेखि चैतसम्मको औसत बेस रेटको आधारमा वैशाखदेखि मात्रै कर्जाको ब्याजदर घट्ने भएपनि यसपटक भने स्प्रेड रेट व्यवस्थापनको चुनौतीले बैंकहरुले वैशाख अगाडि नै कर्जाको ब्याजदर घटाउनुपर्ने अवस्था छ ।

नेपाल राष्ट्र बैंकको मंसिरको तथ्यांक हेर्न हो भने बैंकहरुले निक्षेपमा दिएको र कर्जामा लिएको भारित औसत ब्याजदरको अन्तर ४.२८ प्रतिशत रहेको छ । यसले पनि कर्जाको ब्याजदर घटाउनुपर्ने दबाब देखिएको हो ।

लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?