+
+
ब्लग :

सत्ता मनोविज्ञानका १० चरित्र

मानिस सत्तामा पुग्नु अगाडि मिनेट–मिनेटमा आदर्शको पुराण सुनाउँछ । सत्तामा पुगेपछि भने आदर्श र नैतिकता कुन चराको नाम हो थाहै हुँदैन । नैतिकता तपसिलको विषय बनिदिन्छ ।

डा. टीकाराम पोखरेल डा. टीकाराम पोखरेल
२०७९ माघ ५ गते १३:३०

सत्तामा शक्ति हुन्छ । शक्तिले वैधता पाए सत्ता बन्छ । त्यसैले राजनीतिमा सत्ता, शक्ति र वैधता अन्तरसम्बन्धित हुन्छन् । वैध शक्ति नै सत्ता हो । राजनीति गर्नेहरूका लागि सर्वोपरी लक्ष्य नभए पनि एक लक्ष्य सत्ता पनि हो । कतिपय राजनीति भोक भएका तर जनअनुमोदित हुने विश्वास नभएकाहरू अवैध तरिकाले सत्ता हात पार्न उद्यत हुन्छन् । त्यस्तो सत्ताले अन्तर्राष्ट्रिय समुदायबाट वैधता पाउँदैन ।

सत्ताका लागि वैधता आवश्यक हुन्छ । वैध सत्तामा जनमत र कानुनी बल हुन्छ भने अवैध सत्तामा हतियार वा सैनिक बल हुन्छ । वैध सत्तावालाको सबैभन्दा ठूलो बल नै जनताको समर्थन हो । तर पछिल्ला दिनहरूमा वैध सत्ता प्राप्त गरेकाहरूको पनि मनोविज्ञान जनतातर्फभन्दा आफूतर्फ केन्द्रित हुन थालेको देखिन्छ । जब केही व्यक्तिको सत्ता स्पर्श हुन्छ, त्यसपछि उसले आफ्नो धरातल बिर्सन थाल्छ ।

सत्तामा पुगेपछि मान्छेको मनोविज्ञानमा परिवर्तन आउँछ । यसका पछाडि हाम्रो धरातलीय यथार्थ, राजनीतिक वातावरणको दोष, सामाजिक परिवेश र आचरणको खडेरी जस्ता धेरै कुरा हुन सक्छन् । तर मूलतः व्यक्तिको आत्मकेन्द्रित चरित्र नै हो । देशको राजनीतिलाई केन्द्रमा राखेर हेर्दा सत्ता मनोविज्ञानका केही निजी विशेषता छन् ः

१. अन्तिम लक्ष्य सत्ता

सामान्यतया कुनै पनि व्यक्ति सुरुमा सत्ता प्राप्तिकै लागि राजनीतिमा लाग्दैन । तर जब राजनीतिक कार्यकर्ता सत्तामा पुगेका मानिसहरूको नजिक पुग्छ, तब उसलाई सत्ता–भोक जाग्न थाल्छ र सत्तालाई नै अन्तिम लक्ष्य देख्न थाल्छ । उसको दिमाग सत्ताको वरिपरि पुग्न थाल्छ । नेपालकै राजनीतिको कुरा गर्ने हो भने त सत्ता नै राजनीतिको अन्तिम लक्ष्य हो । जोगी हुन राजनीति कसले गर्छ र ? भन्ने भाष्यको विकास भइरहेको छ ।

विगतमा आफूले गरेको त्यागको पुरस्कार पाउनुपर्ने, राजनीतिमा फटाएको भोटो गनेर मन्त्री दिनुपर्ने जस्ता बहसलाई हामीले सजिलै स्वीकारिरहेका छौं । व्यक्तिको मनोविज्ञानको विकासमा वातावरणले समेत प्रभाव पार्दछ । संभवतः हाम्रो वातावरणले पनि राजनीति सत्ता केन्द्रित हुन पुग्यो कि ? समग्र राजनीतिक वातावरण सत्ताकेन्द्रित छ । सत्ताका लागि मान्छे जे गर्न पनि तयार छ । जीवनको अन्तिम लक्ष्य नै सत्ता हो भन्ने मनोविज्ञान तीव्र रूपमा विकास भइरहेको छ ।

२. शाश्वत सत्ता

संसारमा कुनै कुरा सत्य छ भने त्यो सत्ता मात्र हो भन्ने बुझाइ राजनीतिकर्मीमा विकास भएको अर्को मनोविज्ञान हो । सत्ता र सत्ता नजिक पुगेको मानिस सत्ताबाहेक केही देख्दैन, केही सोच्दैन, सिर्फ सत्ता देख्छ र सत्ता सोच्छ । मानौं यो संसारमा सत्ताबाहेक सब निरर्थक हो । अरू सबै भ्रम हुन्, संसारमा देखिने सत्यभन्दा पनि अझ माथिको परम सत्य केही छ भने त्यो सत्ताबाहेक अर्को केही हुन सक्दैन ।

अनित्य सत्यलाई सबैभन्दा ठूलो सत्य देख्नु सत्ता मनोविज्ञानको चरम उदाहरण हो । यही मनोविज्ञानले नै मानिसलाई सत्ताप्रति आसक्त बनाइरहेको छ । हाम्रो राजनीतिका पछिल्ला गतिविधिले पनि सत्ता बाहेक राजनीतिमा अरू सब निरर्थक छन् भन्ने कुरालाई पुष्टि गरिरहेको छ ।

३. सर्वज्ञाता

सत्ताले निम्त्याउने अर्को एउटा भ्रम छ, त्यो हो सर्वज्ञाता भएको भ्रम । सत्तामा पुगेपछि मानिसलाई आफू सर्वज्ञाता भएँ भन्ने लाग्छ । मैले सबै बुझेको छु, मैले सबै बुझेकै कारण त म यो सत्ताको मालिक भएको हुँ भन्ने मनोविज्ञानको विकास हुन्छ । अरू केही जान्दैनन्, म नै सबै कुरामा जान्ने भएकाले मेरो विचार र धारणालाई सबैले जस्ताको तस्तै समर्थन गर्नुपर्छ भन्ने सत्ताको कुर्सीमा चढेको मान्छेको मनोविज्ञान विकास हुन्छ ।

यथार्थमा संसारमा सबैले केही न केही बुझेकै हुन्छ, तर सबै कुरा कसैले पनि बुझेको हुँदैन । सत्ता अहमताले गर्दा सत्तारोहण गरेको मान्छेलाई भने आफू नै सर्वज्ञाता हुँ भन्ने भ्रम हुन्छ । भ्रमको जालो सत्ताबाट ओर्लेको दिन हट्छ, तर त्यसबेला निकै ढिला भइसकेको हुन्छ ।

४. उच्चताग्रन्थी

सत्ताको छेउछाउ पुग्दा नपुग्दैदेखि नै मानिस कहिले उच्चताग्रन्थी र कहिले हीनताग्रन्थीको शिकार बन्न थाल्छ । सत्तामा पुगेपछि भने मानिसमा हीनताग्रन्थी दुर्बल र उच्चताग्रन्थी प्रबल हुन्छ । सत्ताबाट तल हेर्दा अरू सबैलाई सानो देखिन्छ । आफूले ठानेको सानो मान्छे चाहिं कहिलेकाहीं आफूभन्दा अगाडि सत्तामा पुगे मान्छे पीडाबोध गर्छ । आफूमाथि आकाश नै खसे झैं लाग्छ ।

मान्छे आफू पछाडि परेकोमा जति दुःखी हुन्छ, त्यो भन्दा कैयौं गुणा बढी दुःखी अरू अगाडि बढेकोमा हुन्छ । अन्य क्षेत्रमा भन्दा राजनीतिमा यो प्रवृत्ति बढी छ । त्यसैले त आफूले सत्ता नपाउनासाथ मान्छे कचकच गरेर बस्छ । आफूले सत्ता पाए उपदेश बाँड्न थाल्छ ।

५. तपसिलमा नैतिकता

मानिस सत्तामा पुग्नु अगाडि मिनेट–मिनेटमा आदर्शको पुराण पाठ गर्छ । सत्तामा पुगेपछि भने आदर्श र नैतिकता कुन चराको नाम हो थाहै हुँदैन । नैतिकता तपसिलको विषय बन्छ । कसैले नैतिकता शब्द उच्चारण मात्र गर्‍यो कि त्यसको अनुहार नै कुरुप देख्छ ।

त्यस्तो नैतिकताको आवाज उठाउनेलाई हुन सक्छ प्रतिगामी ठान्छ । आफ्नो अनैतिक कर्मलाई आँखा चिम्लेर समर्थन गर्नेलाई विद्वान् देख्ने र आफ्नो आलोचना गर्नेलाई भने मूर्ख देख्ने मनोविज्ञानको विकास सत्तारोहीमा भएको हुन्छ । नैतिकतालाई उसले तपसिलको टोकरीमा मिल्काइसकेको हुन्छ ।

६. आफू मात्र ठीक

सत्तामा पुगेको मान्छेले आफूले जे गरे पनि ठीक गरें भन्ने ठान्छ । आफ्ना अराजनीतिक क्रियाकलापलाई आफ्नो चतुर्‍याइँ देख्छ । अरूले जे गरिरहेका छन् ती आफ्नो स्वार्थ अनुकूल भए ठीक मान्छ र आफ्नो अनुकूल नभएका टीकाटिप्पणी सबै बेवकुफ लाग्छ ।

राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रो ठान्ने सत्ता मनोविज्ञानको अर्को विशेषता हो । सत्ताले मानिसलाई आममानिसभन्दा फरक बनाउँछ । आफू बाहेक अरू कोही ठीक छैनन् भन्ने दृष्टिभ्रम गराउँछ । आफू ठीक भएकाले आफूले गरेको काममा प्रशंसा र तालीको मात्र अपेक्षा गर्दछ । आलोचना सुन्न नसक्ने गरी क्षमता ह्रास हुन्छ ।

७. वैचारिक विचलन

राजनीति विचारको मन्थन गर्ने ठाउँ हो । अपवादलाई छोडेर जो–कोही व्यक्ति पनि राजनीतिमा सक्रिय हुनु वा कुनै पार्टीलाई समर्थन गर्नुको पहिलो कारण नै व्यक्तिको विचार र आस्था हो । एउटा व्यक्ति, विचार, आस्था, चिन्तनमा जुन पार्टीसँग नजिक हुन्छ, ऊ त्यही पार्टीमा आवद्ध हुन पुग्छ वा समर्थन गर्न पुग्छ । तर जब राजनीतिमा सक्रियतापूर्वक लागेको व्यक्ति सत्ताको नजिक पुग्दै जान्छ, तब विचारबाट भने टाढा हुँदै जान्छ ।

सत्ताले विचारमा स्खलन र आस्थामा विचलन ल्याउँछ । नेपालको सन्दर्भमा भन्ने हो भने सत्तामा पुग्दासम्म विचार शून्यप्रायः हुन्छ । तर सत्तारोही भने विचारलाई जति–जति धेरै तिलाञ्जली दिन्छ, त्यति नै आफूलाई व्यवहारवादीको दाबी गर्छ ।

८. भ्रमको संसार

राजनीति गर्नेले सत्तालाई अन्तिम सत्य माने पनि सत्ता यथार्थमा सत्य होइन । भौतिक सत्ता संसारको सबैभन्दा ठूलो भ्रम हो । आध्यात्मिक सत्ता बरु अन्तिम सत्य हो । तर मानिस भौतिक सत्ताको चास्नीमा यति धेरै रमाइरहेको हुन्छ कि उसलाई संसारमा सत्ता बाहेक अरू केही नै छैन भन्ने लाग्छ । त्यसैले त सत्ताको लागि मरिमेटिरहेछ । भौतिक सत्ता नै अन्तिम सत्य ठानिरहेछ । मानिसको यो सबैभन्दा ठूलो भ्रम हो

९. आफ्नो काम, जनताको नाम

नेताहरू सत्तामा आफ्ना लागि जान्छन् र सत्तामा पुगेपछि प्रायः सबैजसो आफ्नो काम गर्छन् । काम आफ्नो गरे पनि मिनेट–मिनेटमा जनताको नाम लिन्छन् । जस्तासुकै अकर्म पनि जनताकै लागि गरेको र जनताकै म्यान्डेट पाएर गरेको भन्ने दाबी गर्छन् । काम आफ्नो नाम जनताको सत्ताधारीको सामूहिक विशेषता हो । जनताको नाममा प्रतिज्ञा, वचनबद्धता र जनताको नाममा कसम खाइदिन्छन् । विरोध पनि जनताको नाममा र समर्थन पनि जनताको नाममा, कर्म पनि जनताको नाममा कुकर्म पनि जनताको नाममा सत्तामा बस्नेहरूको लामो समयदेखिको निरन्तर अभ्यास हो

१०. विवेकको बन्धक

सत्ताले विवेकलाई बन्धक बनाउँछ । सत्ताको स्पर्शसँगै मानिसमा विवेक मर्दछ । विवेकशील मानिसलाई विवेकहीन बनाउने आखिर सत्तामा त्यस्तो कुरा के छ ? किन मानिस सत्ता पाएपछि विगत सबै बिर्सन्छ र आफू सर्वेसर्वा भएको भ्रम पाल्छ ? सत्ता मनोविज्ञान ज्यादै रहस्यमय छ । विवेकलाई विनाश, ज्ञानलाई अज्ञान, प्रजातन्त्रवादीलाई निरंकुश र नरमलाई कठोर बनाउने केही छ भने त्यो सत्ता नै हो ।

प्रश्न उठ्छ । के राजनीति भनेको सत्ता मात्र हो ? सत्ता नभई राजनीति नहुने हो ? सत्तामा जसरी पनि पुग्नै पर्ने, पुगेपछि टिक्नै पर्ने, टिकेर नैतिकतालाई तिलाञ्जली दिनैपर्ने, अरूलाई सानो देख्नुपर्ने र विवेकहीन हुनैपर्ने सत्तामा आखिर के छ ? किन सत्ताले मानिसलाई अमानुष बनाउँछ ! राजनीतिक जीवनको अन्तिम लक्ष्य सत्ता मात्र हो र ? हो भने सत्तामा नपुगेका राजनीतिज्ञहरूले आफ्नो जीवन सार्थक बनाउन पो सकेनन् कि ?

सामान्यतया व्यक्तिले उसको मनोविज्ञान अनुसारको व्यवहार, आचरण र कर्म गर्दछ । व्यवहार, आचरण र कर्मअनुसार नै व्यक्तिलाई फल प्राप्त हुन्छ । व्यक्तिको मनोविज्ञान जस्तो छ, ऊ समाजप्रति सोही अनुपातमा जिम्मेवार हुने हो । राजनीतिमा सत्ता मनोविज्ञानमा देखिएको यस प्रकारको विचलनले समाजलाई कहाँ पुर्‍याउँछ ? आखिर सत्ता किन यति क्रूर छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?