+
+
ब्लग :

‘माफ गर्नुस् सर, म तपाईंको ८ नम्बर कोठामा आउँदिनँ’

सरकारी ड्रेस नलगाएको परिचय पत्र नक्कली बोकेको कुमार सरको कर्मचारीको कर्मचारी परिचय पत्र मात्रै हेरेकी थिएँ । यो ठिक होइन भनेर बोलेकी थिएँ । त्यसैले मेरो पासपोर्ट नवीकरणको लागि भेरीफाई भएन । कुमार सर मलाई माफ गर्नुस्, म तपाईं भएको कोठा नं. ८ मा आउँदिनँ ।

देवकी बिष्ट देवकी बिष्ट
२०७९ माघ ११ गते १२:३५

मैले तपाईंको नामको मात्रै कर्मचारीको परिचय पत्र हेरें । मैले निर्देशक जस्तो ठूलो मानिसको कोठा नजिकै प्रश्न गरें । ‘बीचमा मानिसलाई नघुसाउनुस्’ भनें । लाइनमा उभिएकाहरूलाई पनि ‘तपाईंहरू किन बोल्नुहुन्न ? यसरी बीचबीचमा ३ जना, ५ जना गइरहेका छन्’ भनें । त्यसैले मेरो अनलाइन फर्म प्रमाणीकरण गरिएन ।

कुमार सर ! मैले गल्ती गरें । राहदानी विभागको सरकारी कर्मचारी, त्यसमा पनि निर्देशक जस्तो ठूलो मानिसको विरुद्धमा बोलें । माफ गर्नुस् सर ! म सुदूरपश्चिम कञ्चनपुरबाट । यो राजधानीमा आएको १५ वर्ष भयो । पत्रकारिता गरिरहेकी छु । कहिल्यै पनि पेशाको आड देखाएर आफ्नो व्यक्तिगत काम अगाडि बढाएको छैन ।

प्रायः सरकारी अस्पताल, कार्यालय र सार्वजनिक यातायातमा जाँदा मेरो विवाद नभएको सायदै होला । त्यसैले मेरो काम समयावधिमा कहिल्यै सकिएन । मेरा भाइ–बहिनी ‘जहाँ जाँदा नि जान्ने भइहाल्नुपर्छ र !’ भन्छन् । हुन पनि हो जस्तो लाग्छ कहिलेकाहीं ।

सार्वजनिक यातायातमा सह–चालकले (एक–दुई जना बाहेक) एक/दुई रुपैयाँ पुगेन भन्दा जसरी नि माग्थे । त्यसपछि मैले नि भाडा फिर्ता लिने क्रममा ‘छुट्टा छैन’ भन्दा जसरी नि माग्थें । अनि बानेश्वरबाट माइक्रोले प्रायः अफिस जाँदा मलाई चढाउन छोड्यो । मैले आफ्नै सवारी साधन किनें । एउटा झन्झटबाट पार पाएँ । यी सबै प्रसंगहरू कोट्याउन आज बाध्य भएँ ।

मेरो पासपोर्टको समयावधि सकिन पाँच महिना पनि बाँकी छैन । नियम अनुसार पासपोर्टको समयावधि सकिनु १ वर्ष वा ६ महिनाअघि नवीकरणका लागि प्रक्रिया थाल्नुपर्ने हुन्छ । म पनि एक महिनादेखि यसैमा लागिरहेकी छु ।

यसो बुझें, अनलाइन फर्म भर्नका लागि बिचौलियाहरूले काठमाडौंमा २ देखि ५ हजारसम्म लिंदा रहेछन् । काठमाडौं भन्दा बाहिर जिल्लाको ५०० लिने रहेछन् । सबै बुझिसकेपछि लाग्यो, पढेलेखेकी छु, रातदिन कम्प्युटरमा बस्नुपर्छ । आफैं भर्छु ।

१२ देखि १५ हजारमा काठमाडौंमै बन्छ भने किन बढी पैसा खर्च गर्नु भनेर अनलाइन फर्म भर्न लागें । सजिलो रहेनछ । काठमाडौंबाट फर्म भर्न ‘आकाशको फल आँखा तरी मर’ भएपछि कञ्चनपुर जिल्लाबाट बल्लतल्ल माघ ८ गते राति १० बजे अनलाइन फर्म भर्न सफल भएँ । अनलाइन फर्ममा लगइन गरेपछि १५ मिनेटको समयावधिमा भरिसक्नुपर्ने रहेछ । तेस्रो पटकको लगइनमा सफल भएँ ।

अनलाइन फर्म भर्दा अति नै खुशी भएँ । त्यसपछि एकजना पत्रकार साथीको सल्लाह बमोजिम म पनि त्रिपुरेश्वरमा रहेको राहदानी विभाग ८ नम्बर कोठा नजिकै पुगें । त्यहाँसम्म पुग्न राष्ट्रपति भवनमा छिर्नुभन्दा बढी सास्ती हुनेरहेछ । चहार्दा चहार्दै म १०५ नम्बर कोठामा पुगें ।

मैले भीडभाड छिचोल्दै आफ्नो समस्या राखें । मेरो पासपोर्टको समयावधि सकिन ४ महिना बाँकी छ । जिल्ला बाहिरको हो । बाहिर जानुपर्ने हुँदा इमर्जेन्सीमा बनाउन खोजेको हो ।

मैले सोधें, ‘यसरी अनलाइन फर्म भर्दा हुन्छ सर ?’ उनले हुन्छ भने । मैले आग्रह गरें, ‘यसको भेरीफिकेसन गरिदिनुस् न सर ।’ उनले भने, ‘तपाईं तल ८ नम्बर कोठामा जानुस् । कोठा नं ८ मा जिल्ला बाहिरका मानिसको इमर्जेन्सी फर्म भेरीफिकेसन हुन्छ ।’

‘कति मानिस ओसारेको ? खै तपाईंको परिचय पत्र देखाउनुस् त ?’ उनले अकमकाउँदै देखाए । उनको हात काँपिरहेको थियो । सेतो कागजमा प्रिन्ट गरेर राहदानी विभागको छाप लगाइएको थियो ।

म तल ८ नम्बर कोठा नजिक पुगें । लाइनमा करिब २० जना जति मानिस मात्रै देखेर खुशी भएँ । अरू सेवाग्राही उभिएको १ बजेर ३० मिनेट भइसकेको रहेछ । अब लन्च टाइम हुन्छ । फेरि भोलि आउनुपर्छ । लाइन सानो छ । तर पनि पालो आउँदैन ।

यस्तै गाइँगुईं चलिरहेको थियो । बीच–बीचमा एकजना युवा भित्र/बाहिर गर्दैथिए । कुनै बेला ४ जना, कुनै बेला ५ जना, कुनै बेला २ जना युवा/युवती अनि अधबैंसे मानिस लगेर भित्र जान्थे । अनि १०–१५ मिनेटपछि बाहिर आउँथे । अनि लाइनमा बसेको एक जनाको पालो आउँथ्यो । यो बीचमा अनुमति विना प्रवेश निषेध लेखिएको कोठाबाट पनि अनलाइन फर्म भेरीफाई गरेर खुरुखुरु मानिस निस्किइरहेका थिए ।

मेरो पछाडिका दुई जना महिला लाइनमा उभिएर थाकेपछि आफ्नो मानिसलाई फोन गरे । दुवै जनालाई १११ नम्बर कोठामा बोलाइयो । उनीहरू गए । हामी लाइनमै थियौं ।

अति नै भयो भनेर म बोलें । कुमार सरको टेबल नजिक पुग्न मेरो अगाडि २ जना थिए । मैले बीचबीचमा मानिस ओसार्ने युवालाई सोधें ? ‘सर तपाईं यहाँको कर्मचारी हो ?’ उनले अकमकिंदै ‘हो’ भने ।

‘कति मानिस ओसारेको ? खै तपाईंको परिचय पत्र देखाउनुस् त ?’ उनले अकमकाउँदै देखाए । उनको हात काँपिरहेको थियो । सेतो कागजमा प्रिन्ट गरेर राहदानी विभागको छाप लगाइएको थियो । परिचयपत्रको डोरी चाहिं राहदानी विभागको थियो । उनी भित्र गए र कुमार सरसँग कुरा लगाएछन् ।

एक मिनेटपछि कुमार सर जङ्गिदै आए । उनीसँगै अगाडिदेखि कुमार सरको कक्षमा लविङ गरिरहेका मानिस पनि आए । ममाथि खनिए कुमार सर । उनले झर्किंदै भने, ‘यो जिल्ला बाहिरको इमर्जेन्सी शाखा हो । यहाँ मैले कसैको केही बिगारेको छैन । वृद्ध, अपाङ्ग, नाबालिकहरूलाई बीचमा ल्याउन मिल्छ । तपाईंहरूले रोकेर रोकिंदैन । बाहिर लेखेकै छ । के गर्नुहुन्छ ? गर्नुस् । जहाँ भन्नुहुन्छ भन्नुस् । पढेलेखेको मान्छे भएर यस्तो गर्ने ?’

सुनसान भयो ।

मैले पनि बोलें, ‘सर माफ गर्नु, मैले तपाईंले वृद्ध (६८ वर्ष नेपाल सरकारको अनुसार), नाबालक/बालिका (१० वर्ष) अशक्तलाई ग्राह्यता नदिनुस् भन्न खोजेको होइन । यदि कर्मचारी हो भने जानकारी दिनुपर्‍यो । कोठा बाहिर सूचना पनि छैन । हामी पढेलेखेको भएर त बोलिरहेका छौं सर !’

‘सरकारको नियम अनुसार नै भनिएका व्यक्तिलाई ग्राह्यता दिंदा मेरो विरोध होइन सर । यहाँ अरू देखिएर बोलेको हो’ मैले यति भन्न नपाउँदै उनले औंला ठड्याउँदै भने, ‘मैले खाजा खाने समय नभनेर तपाईंहरूको काम गर्दैछु । अब म तपाईंको काम गर्दिनँ पनि भन्न सक्छु । इमर्जेन्सी छ भने भिसा देखाउनु, जुन देश जाने हो टिकट देखाउनु नत्र म कसैको काम गर्दिनँ । जानुस् ! आफ्नो जिल्ला ।’

उनी कुर्सीमा बसे । मेरो अगाडिको दिदीले मलाई बिस्तारै मास्क भित्रैबाट भन्नुभयो, ‘नबोल्नु बहिनी अब तपाईँको काम हुँदैन ।’ त्यत्तिकैमा मेरो अगाडिको दिदीको पालो आयो । टेबलमा कागज राख्यो, अनि उनलाई फर्काइयो । त्यसपछि मेरो पालो आयो । मलाई आउन भनियो । त्यही बीचमा सोफामा एकजना आमा बच्चा लिएर बस्नुभएको थियो । सरकारको नियम मान्नुपर्छ । मैले भनें, ‘पहिला उहाँको हेरिदिनुस् सर ।’

ती महिला पछि मेरो पालो आउँदा सबैको कान र आँखा चनाखो भएको थियो । कुमार सरसँगै उनका कर्मचारी पनि टेबल नजिक आए । कुमार सरले भने, ‘तपाईं को ? के ? तपाईंको कागजात पुग्दैन ।’

मैले प्रश्न गरें, ‘सर मैले सबै अनलाइनमा भरेकी छु । अपलोड गरेकी छु । नागरिकताको फोटो कपी, अनलाइन फर्मको फोटोकपी, मिति सकिन लागेको पासपोर्ट छ । यसले पुग्छ भनेको थियो । वेबसाइटमा जुन देश जाने हो त्यसको टिकट, भिसा र सम्बन्धित मानिसको परिचय पत्र ल्याउनु भनेर लेखेको छैन सर ।’

मैले थपें, ‘माफ गर्नुहोला, मैले त्यस्तो गलत केही भनेको छैन । काम सोध्नुभयो, पेशाले पत्रकार हो र फिल्म पनि बनाउँछु । कहीं उल्लेख नभएको कुरा म कहाँबाट ल्याउँ सर ?’

कुमार सरले प्रश्न गरे, ‘तपाईंले परिचय पत्र हेर्नुभएको होइन ?’मैले भनें, ‘हो सर । बिचौलियाको हल्ला भइरहन्छ नि !’

उनले भने, ‘तपाईं पनि परिचय पत्र ल्याउनुस् । फिल्मको, पत्रकारको ? मैले भनें, ‘सूचना विभागको छ तर स्कुटरमा ।’

उनले भने, ‘ल्याउनुस् । अनि मात्र गर्छु हस्ताक्षर ।’

मैले आग्रह गरें, ‘सर मैले अझै लाइन लाग्नुपर्छ होला । सर प्लिज मैले वेबसाइटमा भनेअनुसार सबै गरेकी छु । समय छैन ।’ उनले परिचय पत्र नल्याएसम्म काम नगर्ने भने । म कोठाबाट निस्कें । भवन विशाल छ ।

स्कुटर राखेको स्थान बिर्सेर केहीबेर घुमें र कन्सुलर विभागबाट बल्ल बाहिर निस्कन सकें । त्यतिबेला २ बजेर ३० मिनेट गइसकेको थियो । राहदानी विभागबाट अण्डरग्राउण्डसम्मको लाइन हेर्दा मलाई नै रिंगटा लागिसकेको थियो ।

यति बहस र माथापच्चीपछि मैले निर्णय गरें, अब म मेरै जिल्ला जान्छु । म राहदानी विभागमा पत्रकार भएर गएकी थिइनँ । सामान्य मानिस भएर गएकी थिएँ । सामान्य मानिसलाई बोल्ने र बाँच्ने अधिकार छैन ? किन देखाउने कुमार सर तपाईंलाई परिचय पत्र ? मैले नियम पूरा गरेर गएकी थिएँ ।

सरकारी ड्रेस नलगाएको परिचय पत्र नक्कली बोकेको कुमार सरको कर्मचारीको कर्मचारी परिचय पत्र मात्रै हेरेकी थिएँ । यो ठिक होइन भनेर बोलेकी थिएँ । त्यसैले मेरो पासपोर्ट नवीकरणको लागि भेरीफाई भएन । कुमार सर मलाई माफ गर्नुस्, म तपाईं भएको कोठा नं. ८ मा आउँदिनँ ।

(लेखक पत्रकार हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?