+
+

विश्व अर्थतन्त्रको मन्दीले त्रासमा वित्तीय क्षेत्र

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १० गते २२:०१

१० माघ, काठमाडौं ।  विश्व अर्थतन्त्र मन्दीमा जाँदै गर्दा नेपालको वित्तीय क्षेत्रमा मन्दीको प्रभाव पर्नसक्ने त्रास देखिएको छ । नेपाल बैंकर्स संघले सोमबार आयोजना गरेको  अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सुनिल केसीले विश्वमा आर्थिक मन्दी आउँदै गर्दा त्यसको प्रभाव नेपालमा पनि पर्नसक्ने चिन्ता व्यक्त गरे ।

कोभिडपछि लयमा फर्किंदै गरेको पर्यटन व्यवसायमा विश्व अर्थतन्त्र मन्दीमा जाँदा प्रभाव पर्नसक्ने उनले बताए । बढ्दै गरेको पर्यटकको संख्या आर्थिक बन्दी आएमा खर्च गर्नसक्ने पर्यटक घट्नसक्ने जोखिम रहेको उनले बताए ।

यस्तै विश्व अर्थतन्त्र आर्थिक मन्दीमा जाँदा रेमिट्यान्समा पनि त्यसको प्रभाव पर्नसक्ने उनको भनाइ छ । ‘नेपालको अर्थतन्त्र विश्व अर्थतन्त्रसँग जोडिदै गएको छ । यस्तोमा विश्व अर्थतन्त्रमा मन्दी आउँदा त्यसको प्रभाव व्यवसामा पर्न जान्छ,’ अध्यक्ष केसीले भने, ‘निजी क्षेत्र प्रभावित हुँदा त्यसको प्रभाव बैंकमा पनि पर्न जान्छ । निजी क्षेत्र बलियो भएमात्रै बैंक बलियो बन्छ।’

अध्यक्ष केसीले बैंकहरुले अस्वभाविक ब्याजदर बढाए भन्ने आरोप लागे पनि त्यसमा सत्यता नभएको बताए । कोभिडपछि अमेरिका जस्तो देशमा २/३ प्रतिशतमा रहेको ब्याजदर ८ प्रतिशतसम्म पुगेको अवस्थामा नेपालमा कर्जाको औसत ब्याजदर कोभिड अगाडिको भन्दा १ प्रतिशत विन्दुले मात्रै माथि पुगेको उनले बताए ।

‘कोभिड अगाडि कर्जाको भारित औसत ब्याजदर ११.८ प्रतिशत थियो । पुसमा १२.६५ पुग्यो । दोस्रो त्रैमासमा बेसरेटमा भएको वृद्धिको आधारमा कर्जाको ब्याजदर बढ्दा पनि १३ प्रतिशतको हाराहारीमा पुग्ने हो,’ अध्यक्ष केसीले भने, ‘अमेरिकामा १ प्रतिशत भन्दा कम रहेको ब्याजदर अर्को दुई त्रैमासमा ५.२ प्रतिशत पुग्ने अवस्था छ । त्यहाँ २/३ प्रतिशतमा लिएको कर्जाको ब्याजदर ८ प्रतिशत पुग्न लागिसकेको छ । तर, सोही अस्थामा नेपालको ब्याजदर १ प्रतिशतले मात्रै वृद्धि हुँदा त्यसलाई चाहिने भन्दा बढी  नै हल्ला भयो ।’

अध्यक्ष केसीले स्थिर ब्याजदर ल्याउँदा त्यसलाई सदुपयोग नगर्ने तर, अहिले मुद्रास्फीति जस्ता कारणले ब्याजदर बढ्दा बैंकको कर्जा नतिर्ने भनेर गतिविधि हुनु गलत भएको बताए ।

‘कोभिडको समयमा ब्याजदर कम भएर जाँदा सबै बैंकले परियोजना कर्जालाई लक्षित गरेर स्थिर ब्याजदर ल्याएका थियौं,’ उनले भने, ‘उक्त प्रोडक्ट हुँदा पनि धेरैले त्यसमा जानुभएन । आजको दिनमा पनि स्थिर ब्याजदरमा लगानी भएका कतिपय कर्जामा ९ प्रतिशत ब्याजदरको छ ।’

कार्यक्रममा बैंकर संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले आर्थिक परिदृश्य र वित्तीय तथ्यांकहरुको प्रस्तुति गर्दै पछिल्लो चार आर्थिक वर्षमा बैंकहरुको कुल निक्षेप ८५ प्रतिशत कर्जा ९८ प्रतिशतले वृद्धि हुँदा नाफा भने ४० प्रतिशतले मात्रै बढेको तथ्यांक प्रस्तुत गरेका थिए ।

बैंकहरुले व्यवसाय विस्तार गर्दा पनि वित्तीय मध्यस्थता सेवावापतको लागत घटाएर त्यसको लाभ ऋणीलाई ट्रान्सफर गरेर सेवा दिएको बताए । यसले व्यवसाय बढ्दा पनि बैंकहरुको नाफा खासै नबढेको बैंकर केसीको तर्क छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकहरुकेा नाफा घटेको उनले बताए ।

चालु आर्थिक वर्षमो निष्कृय कर्जा बढ्दा सम्भावित कर्जा नोक्सानीवापतको व्यवस्था बढेकोले पनि नाफा प्रभावित बनेको  उनले बताए । ‘असल वर्गमा वर्गीकरण भएको कर्जालाई १ प्रतिशत प्रोभिजन गर्नुपर्नेमा त्यसलाई बढाएर १.३ प्रतिशत पुर्‍याइयो । खराब कर्जा बढ्दा प्रोभिजन बढे्को छ । जसले बैंकहरुको नाफा घटेको छ,’ उनले भने, ‘एक दशक अगाडि २४ प्रतिशत रहेको लगानीको प्रतिफल ११ प्रतिशतमा झरेको र गत आर्थिक वर्षको नाफाबाट बैंकहरुको औसत लाभांश १० प्रतिशतमा झरेको छ ।’

उनले भनेजस्तै चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकहरुले सम्भावित कर्जा नोक्सानीको व्यवस्थाका लागि करिब १६ अर्ब छुट्याएका छन् । यस्तै ब्याज नउठ्दा रेगुलेटरी रिजर्भमा १३ अर्ब रुपैयाँ छुट्याएका छन् ।

नेपाल राष्ट्र बैंकले ल्याएको चालुपूँजी कर्जा मार्गदर्शन सम्बन्धी व्यवस्थाले गर्दा पनि निजी क्षेत्रले कर्जाको ब्याज तिर्न नसक्दा खराब कर्जा बढको हो भन्ने प्रश्नमा त्यही मात्रै कारण नभएर समग्र अर्थतन्त्र नै प्रभावित हुँदा पनि खराब कर्जामा वृद्धि भएको बैंकर केसीले बताए ।

नेपाल राष्ट्र बैंकले १ कात्तिकबाट कार्यान्वयनमा ल्याएको चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शनमा त्रैमासको अन्तिम महिनामा चालुपूँजी कर्जाको सीमा बढाउन नपाइने व्यवस्था छ । त्यसै चालुपूँजी कर्जाबाट बैंक ब्याज जस्ता प्रयोजन बाहिर खर्च गर्न नसक्नेगरी कडाइ गरेको छ ।

विगतमा त्रैमासको अन्तिममा ब्याज तिर्न चालुपूँजी कर्जाको स्वीकृत सीमा नै प्रयोग हुने गरको बैंकर्सहरु नै बताउँछन् ।

तर, चालु आवको दोस्रो त्रैमासमा उक्त बाटो प्रयोग गर्न नसक्दा पनि ब्याज असुलीमा समस्या भएको बैकरहरु नै बताउँछन् । हरेक वर्ष जग्गाको मूल्यसँगै  धितो मुल्यांकन बढ्दै जाने र बैकहरुले कर्जाको सीमा बढाइदिंदै त्यसैबाट ब्याज असुल गर्ने गरेका थिए । तर, यसपटक राष्ट्र बैंकले चालुपूँजी कर्जा मार्गदशनमार्फत त्यसमा रोक लगाएको हो ।

नेपालको बैंकिङ दक्षिण एशियामा नै सबल र निष्कृय कर्जा अनुपात कम भएको अध्यक्ष केसीको दाबी छ । ‘दक्षिण एशियाली देशमा निष्कृय कर्जा बंगलादेशको ९ प्रतिशत, भारतको ५ प्रतिशत र श्रीलंकामा ४ प्रतिशत हाराहारीमा छ,’ उनले भने, ‘त्यसलाई हेर्दा नेपालको बैंकिङ राम्रो व्यवस्थापन भएको छ । निष्कृय कर्जा २.२९ प्रतिशत भनेको समस्या ठूलो समस्या होइन ।’ उनले वर्षको ३१ अर्ब कर तिर्ने पारदर्शी बैंकिङ व्यवसायले न्यायोचित सम्मान नपाएको बताए ।

सबै क्षेत्रमा सुधार हुँदै जाँदा निक्षेपको ब्याजदर पनि घटाएको अध्यक्ष केसीले बताए । ‘मुद्रास्फीति घट्दै गएको छ । निक्षेप पुसमा राम्रो बढेको छ, पुनर्कर्जा भुक्तानी गरिसकेका छौं भने आयकरको पहिलो किस्ता उठाउँदा पनि सीडी रेसियो ८६ प्रतिशत मात्रै रहेको छ,’ उनले भने, ‘आयात पनि स्थिर भएकोले हामीले निक्षेपको ब्याजदर केही घटाएको छौं, कर्जाको माग नभइरहेको अवस्थामा ब्याजदर घटाएर समस्या सुधार भएको र सहज बन्दै गएको सन्देश दिएका छौं ।’

कार्यक्रममा बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइरालाले घरजग्गाको कारोबारमा मन्दी आउँदैमा बैंकहरु समस्या पर्छन् भन्नु गलत भएको बताए । बैंकहरुले कर्जा लगानी गर्दा असुल अरु नै आधारमा गर्ने उनले बताए । त्यसको सुरक्षणको लागि मात्रै घरजग्गा धितो लिने बताए ।

यस्तै कुल कर्जामा सीमित मात्रै घरजग्गामा लगानी हुने भन्दै त्यसको बैंकहरु नै समस्यामा नपर्ने उनले बताए । जग्गा धितोमा कर्जा दिँदा बजार मूल्यको ३० प्रतिशत मात्रै कर्जा दिनुपर्ने व्यवस्था रहेको भन्दै बैंकहरुलाई जोखिम हुन्छ भन्ने अवस्था नभएको बैंकर कोइरालाको तर्क छ ।

चालुपूँजी कर्जा मार्गदर्शनले धितोमा स्थिर सम्पत्ति नै नचाहिने भनेकोले घरजग्गालाई देखाएर बैंकिङ क्षेत्रमा समस्या आउँदैछ भन्न नहुने उनले बताए । यद्यपी बैंकिङ क्षेत्रमा सिस्टमेटिक जोखिम भने रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?