+
+

नेपाललाई माया दर्शाउने मिचेल योह बनिन् ओस्कारमा मनोनित हुने पहिलो एसियाली अभिनेत्री

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १२ गते १३:५४

काठमाडौं । हलिउड अभिनेत्री मिचेल योह यतिबेला विश्व मिडियाको केन्द्रमा छिन् । नहुन् पनि किन ? उनी अभिनित फिल्म ‘एभ्रिथिङ एभ्रिवेर अल एट वन्स’ यस वर्षको ओस्कार अवार्डमा सर्वाधिक ११ विधामा मनोनयन भएको छ । उनी पनि सर्वश्रेष्ठ अभिनेत्रीको विधामा मनोनित भएकी छन् ।

ओस्कारको बेस्ट एक्ट्रेस विधामा मनोनयन हुने उनी पहिलो विशुद्ध एसियाली अभिनेत्री हुन् । सन् १९३६ को ओस्कार अवार्डमा फिल्म ‘द डार्क एन्जल’बाट उत्कृष्ट अभिनेत्री विधामा मनोनित भएकी मेर्ली ओबेरनको जन्म मुम्बईमा भए पनि उनका पिता बेलायती भएकाले हलिउड सञ्चारमाध्यमले एसियाली मानेका छैनन् । मिचेल कोरोना महामारीअघि दुईपटक नेपाल भ्रमणमा आइन् ।

मलेसियाली अभिनेत्री योहले करिअर चाहिं हङकङका मार्सल आर्ट्स फिल्मबाट थालेकी थिइन् । मलेसियामा जन्मिएकी मिचेलले म्यानमारकी लोकतन्त्रवादी नेतृ आङ साङ सुकीको जीवनमा आधारित फिल्म ‘द लेडी’सहित जेम्स बन्ड ‘टुमरो नेभर डाइज’मा अभिनय गरिन् । ओस्कार विजेता निर्देशक आङ लीको फिल्म ‘क्राउचिङ टाइगर हिडन ड्रयागन’मा उनले मुख्य भूमिका निर्वाह गरेकी थिइन् ।

स्टिवन स्पिलवर्गले निर्माण गरेको हलिउड फिल्म ‘मेमोरिज अफ गेसिया’ र ‘क्रेजी रिच एसियन्स’मा समेत उनले अभिनय गरेकी छन् । हलिउडमा नाम कमाउने उनी एसियाली स्टारमा मिचेल पर्छिन् । पति जन टडसँगै नेपाल आएकी मिचेलले काठमाडौंमा रहँदा नेपालप्रतिको माया दर्शाएकी थिइन् । उनले त्यतिबेला नेपालका पर्यटकीय सम्पदाको भ्रमण समेत गरेकी थिइन् ।

२०७२ सालको भूकम्प गएको छेकोमा उनी पतिसहित नेपालमा थिइन् तर भूकम्प गएपछि उनले भ्रमण छोट्टाएर स्वदेश फर्किइन् । उनले त्यसबेला भूकम्प पीडितका लागि सवा करोड सहयोग गरेकी थिइन् । उक्त सालको वैशाख १० गते काठमाडौंमा भएको अन्तर्राष्ट्रिय अटोमोबाइल महासंघको एसिया क्षेत्रीय खेलकुद कांग्रेसमा भाग लिन उनी नेपाल आएकी थिइन् । त्यसपछि उनी जेठ १ गते पनि पतिसहित काठमाडौं आइन् । उनका पति जन टड अटोमोबाइल महासंघका अध्यक्ष थिए ।

उनले पति टडसँगै नेपाल अटोमोबाइल एसोसिएसन (नासा) को इमर्जेन्सी एक्सन फण्डमार्फत भूकम्प पीडितको पुनर्स्थापना र पुनर्निर्माणको लागि एक लाख युरो (करिब सय करोड रुपैयाँ) उपलब्ध गराएकी थिइन् । मिचेल र पति टडले वैशाख १५ गते संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनलाई भेटेर नेपालको भूकम्प अनुभव सुनाएका थिए । मिचेल अटोमोबाइल एसोसिएनकी ग्लोबल सेफ्टी एम्बेसडर हुन् ।

मिचेल र हलिउडका नेपाली फेसन डिजाइन प्रबल गुरुङ मिल्ने साथी समेत हुन् । उनले प्रबलको पहिरन लगाएर कैयौंपटक आफूलाई सजाएकी छन् । केही हलिउड मिडियाले मिचेल यसपटकको ओस्कारमा दाबेदार रहेको भन्दै ट्रफी जित्न सक्ने अनुमान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?