+
+
उपत्यकामा ट्राफिक समस्या  :

करिडोरमा पनि जाम, मुख्य सडकमा झन् बिजोग

अमृत चिमरिया अमृत चिमरिया
२०७९ माघ १७ गते १९:२५

१७ माघ, काठमाडौं । बल्खु बस्ने माधव बर्तौला तीनकुनेस्थित कार्यालय आउन दुई वर्षपछि बागमती करिडोरको सडक प्रयोग गर्छन् । सुरुमा यो सडकमा सवारी साधनको चाप धेरै थिएन । ‘पहिले–पहिले करिडोर खाली जस्तै हुन्थ्यो, अहिले मेनरोडमा भन्दा धेरै गाडी हिंड्छन जस्तो लाग्छ । बिहान ९ देखि ११ बजेको समयमा हिंड्नै सकिँदैन, बेलुका पनि अफिस समयमा उस्तै हुन्छ ।’

उपत्यकाको बागमती, विष्णुमती, धोविखोलाको दुवै किनारमा सडक बनेको छ र धेरै सवारीचालकले सजिलो र छिटो यात्राका लागि यही करिडोर सडक प्रयोग गर्छन् ।

‘मेनरोडमा कहिले भीआईपी सवारीको तनाव, कहिले आफैं जाम हुन्छ, रोडको बीचमा एउटा गाडी बिग्रियो भने घण्टौं जाम हुन्छ । बरु करिडोरकै बाटो ठीक लाग्छ मलाई त,’ धोविखोला करिडोरमा भेटिएका अनामनगरका इन्द्रलाल कायस्थले सुनाए ।

ट्राफिक प्रहरी पनि करिडोर सडकमा सवारी साधनको चाप तीव्र भएको बताउँछ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्र प्रसाद भट्ट दुई कारणले करिडोर सडकमा चाप बढेको बताउँछन् । ‘उपत्यकामा वर्षेनी सवारी साधन बढेको बढै छन्, एउटा त्यो कारण हो । अर्को चाहिँ वैकिल्पक बाटोको रुपमा करिडोर प्रयोग गर्नेहरु बढेका छन् ।’

व्यवस्थापनको चुनौती

एसएसपी भटट्का अनुसार शंखमुल क्षेत्र, ललितपुरको यूएन पार्क नजिकै बागमतीको पुल, करिडोर र मुख्य सडक जोड्ने घुम्तीहरुमा सवारी साधन व्यवस्थापनमा चुनौती देखिएको छ । तीमध्ये पनि सबैभन्दा धेरै यूएन पार्कमा समस्या भएको उनी बताउँछन् । ‘यूएन पार्कचाहिँ बोटल नेक जस्तो भयो, त्यहाँ एकतर्फी गरेर पनि केही हदसम्म व्यवस्थापन गर्न खोजिएको छ । तर अफिस लाग्ने र छुट्ने समयमा ठूलो लाइन लाग्ने गरेको छ ।’

उनले उदारहण दिँदै भने ‘थापाथलीबाट नै जानुपर्ने जुन बाध्यता थियो, त्यो चाहिँ शंखमुल हुँदै यूएन पार्क जानेले ओगटेको छ । जसले थापाथलीको चाप कम हुँदा यूएन पार्कमा बढाएको छ ।’

करिडोर सडकहरु सबै ठाउँमा निर्माण सकिएको र मूल सडकसँग जोडिएको भए जाम धेरै घट्ने भट्ट बताउँछन् । ‘यूएन पार्कदेखि बालकुमारी पुलसम्म जोडिएको छैन । अन्य करिडोरमा पनि ठूला सवारी साधन जान सक्ने स्थिति छैन, त्यहाँ पहिले भएकै पुलका मुनितिरबाट बाटो छिराइएको छ’ उनी भन्छन् ।

ट्राफिक बत्ती नै अपुग

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा ट्राफिक बत्ती ठूलो समस्याको रुपमा रहेको छ । अत्यधिक व्यस्त सडक नयाँ बानेश्वर चोकमै ट्राफिक बत्ती बिग्रिँदा ट्राफिक प्रहरीको इशारामा सवारी चालकहरु हिँड्नुपरेको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अहिले उपत्यकामा ५६ चोकमा ट्राफिक बत्ती जडान भएको छ । जसमा करिब ३० वटाले मात्रै काम गरिरहेको छ । कार्यालयका अनुसार ३० वटामा पनि समय समयमा समस्या आइरहने गरेको छ । ‘बत्ती पुरानो सिस्टममा भएकाले समस्या भइरहेको हुन्छ, पुराना बत्तीमा सवारी चाप अनुसार ‘टाइमिङ’को समस्या छ,’ ट्राफिक प्रवक्ता भट्ट भन्छन् ।

ट्राफिक बत्तीमा समस्या आउँदा ट्राफिक प्रहरीले सडक विभागलाई गुहार्नुपर्ने स्थिति रहेको छ । विभागले सरकारी प्रक्रियाहरु पुरा गरेर आउँदा धेरै समय लाग्ने गरेको ट्राफिक कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार उपत्यकामा सडक विभाग, महानगरपालिका, विभिन्न निजी संस्थाहरुले पनि ‘ट्राफिक बत्ती’ जडान गरेपनि व्यवस्थापनको पाटो सडक विभागले हेर्दै आएका छ ।

बढ्दै सवारी साधन र दुर्घटना

बाइसधाराबाट स्कुटरमा बबरमहल आएकी सन्तोषी गुरुङ स्कुटर चढ्नु बाध्यता भएको बताउँछिन् । सार्वजनिक यातायात सुधार्ने हो भने निजी गाडी चढ्नै नपर्ने उनको भनाइ छ ।

‘लोकल बसमा आउने हो भने एक घण्टासम्म लाग्छ । फेरि बस र माइक्रोले कसरी मान्छे कोच्छ, हिंड्नै नसकेर स्कुटर चढेकी हुँ’ उनले भनिन् ।

 

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रबक्ता भट्ट सवारी चाप कम गर्न सार्वजनिक यातायातमा सुधार गर्नुपर्ने देख्छन् । ‘सार्वजनिक यातायात सुधार्ने हो भने धेरैहदसम्म ट्राफिक समस्या हल हुन्छ, पिक एण्ड ड्रप गर्ने र ठूला सवारीका लागि लेन बनाएर व्यवस्थित गर्ने हो भने साना सवारी एकदम कम चल्छन्’ उनी भन्छन् । साना सवारी साधन घट्नेबित्तिकै ट्राफिक व्यवस्थापन सहज हुने उनले तर्क गरे ।

भटट्का अनुसार बागमती प्रदेशमा मात्रै करिब १७ लाख सवारी साधन दर्ता भएका छन् । जसमध्ये काठमाडौं उपत्यकामा मात्रै करिब १० लाख सवारी दैनिक रुपमा चल्ने गर्दछ । उपत्यकामा चल्ने ८० प्रतिशत सवारी दुई पाङ्ग्रे छन् ।

सवारी साधनको अत्याधिक चाप र अस्तव्यस्त सडकको कारण उपत्यकामा सवारी दुर्घटना पनि बढ्दै गएको देखिन्छ । ट्राफिक प्रहरी कार्यालयका गत आर्थिक वर्ष २०७८/७९को तथ्यांक अनुसार १० हजार ७ सय ३३ दुर्घटना भएका छन् । जसमा १९१ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को पुससम्मको तथ्यांक हेर्दा ५ हजार ३७ वटा दुर्घटना भएका छन् जसमा ८८ जनाको मृत्यु भएको छ ।

स्मार्ट ट्राफिक लाइट ल्याउने तयारी

ट्राफिक बत्तीको व्यवस्थापन र मर्मत हेर्ने सडक विभागले भने उपत्यकामा ‘इन्टिलिजेन्स ट्राफिक लाइट’ राख्ने तयारी भइरहेको जनाएको छ । विभागको सडक सुरक्षा तथा ट्राफिक शाखा प्रमुख बेलबहादुर भुजेलले सवारीको चापलाई हेरेर समय निर्धारण गर्ने ‘इन्टिलिजेन्स ट्राफिक लाइट’बारे अध्ययन गरिरहेको बताए । ‘हामीले उपत्यकामा जल तथा मौसमको अवस्था देखाउने, सवारीको संख्या अनुसार अटो टाइमिङ भएको स्मार्ट लाइटको बारेमा अध्ययन गरिरहेका छौं । त्यसपछि ट्राफिक लाइटमा धेरै समस्या हुँदैन ।’

भुजेलका अनुसार चक्रपथमा प्रयोग भएको ७ वटा ट्राफिक बत्ती बाहेक उपत्यकाको सबै ट्राफिक बत्ती पुरानो हो । ‘अहिले हामीले मर्मत गरेर चलाइरहेका छौं, केहीमा प्राविधिक समस्याले बन्द भएको छ, केही ट्राफिक प्रहरी आफैंले बन्द गरेका छन् । समय अनुसार नचल्ने, सवारी चाप अनुसार काम नगर्ने भएपछि ट्राफिक प्रहरीले बन्द गर्छन्’ भुजेलले भने ।

तस्वीरहरु : शंकर गिरी

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?