+
+

‘छक्कापञ्जा ४’को प्रचार रणनीति : सकेसम्म भौतिक नगर्ने, इन्टरनेट लक्षित हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २० गते १४:१६

काठमाडौं । ‘छक्कापञ्जा ४’ले प्रचारप्रसारलाई इन्टरनेट लक्षित गर्ने भएको छ । सामाजिक सञ्जाललाई लक्षित गर्दै प्रचार रणनीति तयार गरिएको निर्माता तथा अभिनेता दीपकराज गिरीले जानकारी दिए ।

‘भौतिकरुपमा हुने प्रचारप्रसारलाई न्यूनीकरण गर्नेतर्फ हामी अग्रसर छौं,’ उनले भने, ‘अब प्रचार शैली पनि बदल्नुपर्ने जरुरी देखिएको छ ।’ भौतिक रुपमा कार्यक्रम सकेसम्म नगर्ने आफूहरुको योजना रहेको उनले बताए ।

‘समयअनुसार रणनीति तयार पार्नुपर्छ । भौतिक रुपमा धेरै मानिसबीच जाने स्थिति हुँदैन । तर इन्टरनेटमार्फत धेरै जनसंख्यामा पुग्न सकिन्छ । किनभने सामाजिक सञ्जाल यतिबेलाको सशक्त मिडिया हो,’ दीपकले अनलाइनखबरसँग भने ।

‘छक्कापञ्जा’का अघिल्ला सिरिजको प्रवद्र्धन कार्यक्रम देश दौडाहा र भौतिक पत्रकार सम्मेलनमार्फत हुँदै आएका थिए । ‘नेपाल टुर गर्ने पहिलो फिल्म पनि हामी नै थियौं । अब भने हामीले प्रचार रणनीति बदल्नेछौं । यसको सुरुवात यही बिन्दुबाट सुरु हुन्छ,’ दीपकले भने । तर ओपन कन्सर्टदेखि मुलुकका केही सहरमा पत्रकार सम्मेलनसम्म हुनसक्ने चाहिं उनले बताए ।

फेसुबक, इन्स्टाग्राम, ट्वीटर, युट्युब र टिकटकको प्लेटफर्म हेरेर प्रचार रणनीति बनाइने दीपकको कथन छ । ‘हामी फिल्म निर्माणको अन्तिम चरणमा छौं । इन्टरनेट लक्षित प्रचार गर्दा खर्च पनि कम हुने र धेरै जनसंख्याबीच पुग्न सकिने हाम्रो सोचअनुसारको योजना बन्नेछ,’ उनले भने । टिजर समेटिएको गीत युट्युबमा रिलिज गर्दा पनि आफूहरुले उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको दीपक बताउँछन् ।

पछिल्लो समय रिलिज भएका फिल्मले इन्टरनेटभन्दा भौतिक प्रवद्र्धनमा जोड दिएको देखिएको छ । ‘महापुरुष’ प्रचार गर्दा हरिवंश आचार्य स्वयं देश दौडाहामा निस्किएका थिए भने अन्य फिल्मले पनि देशका मुख्य सहरमा पुगेर भौतिक प्रचारमै जोड दिइरहेका छन् ।

हेमराज बीसी निर्देशित ‘छक्कापञ्जा’को चौथो श्रृंखला फागुन १९ गते रिलिज तयारीमा छ । कथा भन्ने शैली कमेडी भए पनि यो फिल्मको केन्द्रमा राजनीतिक र सामाजिक कथावस्तु समावेश गरिएको छ । फिल्ममा दीपकसहित दीपाश्री निरौला, केदारप्रसाद घिमिरेलगायतको प्रमुख भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?