+
+
गन्तव्य :

झन्डीडाँडा : साहसिक खेलको सम्भावना

बि चापागाईं बि चापागाईं
२०७९ चैत ४ गते १५:४२

झन्डीडाँडा इलामको रोङ गाउँपालिका–६ रम्भ्याङस्थित एक आकर्षक पर्यटकीय स्थल हो । यहाँबाट उत्तरमा कञ्चनजंघा, कुम्भकर्णलगायत दर्जनौं हिमशृंखला देख्न सकिन्छ भने पहाड र तराईका दर्जनौं स्थानसमेत यहाँबाट छर्लङ्गै नियाल्न सकिन्छ । झन्डीडाँडा सौन्दर्यका लागि मात्र नभई साहसिक खेलका लागि पनि उत्तिकै सम्भावना रहेको ठाउँ हो । अहिले यहाँ धरहराको संरचना तयार गरी पर्यटकलाई थप आकर्षित गरिएको छ । झन्डीडाँडासम्म पुग्ने सिंढी बनाएर रेलिङ हाली आकर्षक बनाइएको छ । यहाँ प्रतीक्षालय पनि बनाइएको छ । मेची राजमार्गको हासपोखरीबाट करसोङ पदमार्ग बनेपछि झन्डीडाँडाको महत्व र सहजता बढेको छ । झन्डीडाँडालाई गाजलेथुम्का नामले समेत चिनिन्छ ।

झापाको काँकडभिट्टाबाट १७ किलोमिटर उत्तरमा पर्ने झन्डीडाँडा मेची राजमार्गको हर्कटे बजारबाट १० किलोमिटर दक्षिणमा छ । यो ठाउँ तराई र पहाड दुवैतिरबाट पायक पर्ने भएकाले पर्यटनको प्रचूर सम्भावना बोकेको ठाउँ हो ।

भारतबाट समेत मेची खोलाहुँदै यहाँ आउन सकिन्छ । हासपोखरी र ब्युटी बोर्डर दुवै प्वाइन्टबाट गाडीमा र पदमार्ग भएर पनि झन्डीडाँडामा आउने सुविधा छ । साइक्लिङ रोड समेत भएकाले साइकलमा समेत युवाहरू यो पदमार्गबाट आउने गरेका छन् । चुरे क्षेत्रमा यो उचाइको डाँडो विरलै पाइने गरेकाले पनि झन्डीडाँडाको महत्व अझ बढेको छ । झन्डीडाँडामा पर्यटकले क्याम्प फायर र नाइट स्टे क्याम्प पनि गर्न थालेका छन् ।

झन्डीडाँडा धार्मिक र सांस्कृतिक हिसाबले महत्वपूर्ण स्थान हो । किरात राईका आदिम पुर्खा रिनाहाङले देवी पूजा गरेको ठाउँका रूपमा झन्डीडाँडालाई मानिएको छ । रम्भ्याङमा रहेको खेल मैदानलाई स्थानीय अगुवाले ‘रिनाहाङ ठूलो आहाल खेल मैदान’ नामसमेत राखेका थिए । यसलाई अहिले झन्डी खेलमैदान पनि भनिन्छ ।

किरातीहरूले उधौली, उभौली जस्ता पर्व, संसारी पूजा, ढोलपूजा गर्दा ध्वजापताका, झन्डा गाड्ने चलन थियो । त्यही चलनअनुसार संस्कार, पूजाविधि सकेपछि यही डाँडामा झन्डा गाड्ने गरेको इतिहास पाइन्छ । त्यही आधारमा यो डाँडाको नाम नै झन्डीडाँडा रहन गएको किंवदन्ती छ । किरातीहरू वा साम्पाङ राईले यो डाँडालाई ‘रिनाहाङडाँडा’ पनि भन्ने गरेको पाइन्छ । किरात संस्कृतिको धरोहरका रूपमा रहेको झन्डीडाँडा अहिले पर्यटकको मुख्य आकर्षणको केन्द्र पनि भएको छ । अहिले पनि यहाँ साकेला थान छ भने उधौली र उभौलीमा पूजा गरिन्छ । ढोल, झ्याम्टा बजाएर साकेला नाचिन्छ ।

झन्डीडाँडामा भारतको सिलिगुडी, कोलकातालगायत स्थानबाट गर्मी छल्न पर्यटक आउनलाई नजिक पर्छ । कोलकाताबाट ६०२ किलोमिटरमा (राजधानी काठमाडौं भन्दा नजिक) झन्डीडाँडा आइपुगिन्छ । कोलकाताबाट बेहामपुर–मालदा, किसनगञ्ज हुँदै काँकडभिट्टा आइपुगिन्छ । बागडुग्रा विमानस्थलमा ओर्लिएर पनि काँकडभिट्टा हुँदै झन्डीडाँडा आउन सकिन्छ । बागडुग्राबाट झन्डीडाँडा ४३ किलोमिटरमा छ । झन्डीडाँडा दृश्यावलोकनका लागि मात्र नभई वनभोजका लागि पनि राम्रो सम्भावना रहेको स्थान हो ।

झन्डीडाँडाबाट दृश्यावलोकन

यहाँबाट सूर्याेदय र सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ । असोजदेखि जेठसम्म सूर्याेदय दृश्यावलोकन गर्ने उपयुक्त मौसम हो । झन्डीडाँडासम्म पुग्न करसोङ पदमार्ग हासपोखरीबाट गुगल पोइन्ट, देवानगढी, गिद्धेभीर, दैले, हल्लने हुँदै दिनभरि पैदल हिंडेर धजे भञ्ज्याङ आसपासमा बास बस्न सकिन्छ । धजे आसपास होम–स्टे छन् । भोलिपल्ट बिहानै झन्डीडाँडाबाट सूर्याेदय दृश्यावलोकनपश्चात् झापातर्फको यात्रा तय गर्न सकिन्छ । स्थानीयवासी यो क्षेत्रमा पहिलेदेखि नै सूर्याेदय हेर्न जाने गरेका थिए । कन्याम, अन्तुडाँडा, सन्दकपुर, मेघमा, थुम्के, मेची नदीलगायत इलाम र झापाका गाउँ–शहर मात्र नभई भारतको दार्जीलिङ, घुम पहाड, सिक्किमको माथिल्लो क्षेत्र, खर्साङ, सिलिगुडी, मटीगढा, बागडुग्रा, टिष्टा नदी पनि यहाँबाट अवलोकन गर्न सकिन्छ । अचेल यहाँ आन्तरिक र बाह्य पर्यटक समेत आउने क्रम बढेको हो ।

झन्डीडाँडामा वनभोज

यो क्षेत्रमा पहिलेदेखि नै स्थानीय वसन्त र शरद ऋतुमा वनभोज (पहिले वनभात भनिन्थ्यो) खान जाने गरेका थिए । तिहारमा देउसी खेलेको रकमले वा प्रत्येक घरबाट जनही माना–चामल, तेल आदि संकलन गरी मासु किनेर लिएर जाने गरेका थिए । वनभोजमा स्थानीय सांस्कृतिक, लोक, दोहोरी गीतहरू समेत गाइन्थ्यो । जसले, गाउँ र छरछिमेकमा सामाजिक सद्भाव र भाइचारा विकासमा योगदान गरेको थियो । आजभोलि तराईतिरबाट विद्यालय समूह, युवा समूह, देउसी समूहहरू दिनभरिको गर्मी छल्न र वनभोज खान ट्र्याक्टर, पिकअप र जिप लिएर आउन थालेका छन् । सडक पूर्वाधार, आवासको थप सुधार र विकास गर्ने हो भने यो क्रम अझै बढ्ने निश्चित छ ।

झन्डीडाँडामा साहसिक खेल सम्भावना

झन्डीडाँडा आसपासमै पाराग्लाइडिङको सफल परीक्षण भइसकेको छ । २०७८ सालमै यहाँबाट पाराग्लाइडिङ परीक्षण भएको थियो । जसको पहलको नेतृत्व गर्ने तत्कालीन वडाध्यक्ष हाल गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो (सुवास), वर्तमान वडाध्यक्ष सत्यम राई चौरासे, रम्भ्याङ सामुदायिक वन अध्यक्ष आशिष प्रधानलगायत स्थानीय अगुवा यसको व्यावसायिकताका लागि जुटिरहेका छन् । जसका लागि, पालिका, वडा, पाराग्लाइडिङ संघ अध्यक्ष प्रकाश पोखरेल, पाराग्लाइडिङ संघ प्रदेश–१ अध्यक्ष भूपाल चाम्लिङ, जिपलाइन व्यवसायी केदार थापा लगायतसँग समन्वय र छलफल भइरहेको छ ।

पाराग्लाइडिङ सञ्चालनपछि भारत कोलकातासम्मका पर्यटक समेत यहाँ आकर्षित गर्ने पर्यटनकर्मीको लक्ष्य छ । यो पाराग्लाइडिङ इलामबाट झापा झर्ने भएकाले दुवै जिल्लाको पर्यटनलाई समेत यसले जोड्नेछ । मिनी माउन्टेन आसपास पाराग्लाइडिङ ल्यान्डिङ गराउनसके मिनी माउन्टेनलगायत त्यस क्षेत्रको पर्यटकीय सम्भावना थप उजागर हुनेछ । जसबाट स्थानीय लाभान्वित हुनसक्ने देखिन्छ । झन्डीडाँडाबाट पाराग्लाइडिङमा उडेर मिनी माउन्टेन झर्ने रुट बन्नसके पर्यटकलाई त्यहाँबाट झापा धुलाबारीको होटल मेची क्राउन पुगेर बास बस्न समेत पायक पर्छ ।

करसोङ पदमार्ग भएर यात्रा गर्ने, रम्भ्याङस्थित होमस्टेमा बस्ने, झन्डीडाँडामा इभनिङ भ्यूसँगै शीतल मनोरञ्जन लिने, भोलिपल्ट बिहान झन्डीडाँडाबाट सूर्याेदय दृश्यावलोकन गरी पाराग्लाइडिङबाटै झापा प्रस्थान गर्ने प्याकेज राम्रो बन्न सक्छ ।

घरबास (होम–स्टे)

झण्डीडाँडामा आउने पर्यटकलाई लक्षित गरी रम्भ्याङमा पनि होम–स्टे विस्तार गरी पर्यटकलाई खाने–बस्ने व्यवस्था मिलाइएको छ । झन्डीडाँडा आउने पर्यटकका लागि दशरथ रिजालको घरमा रम्भ्याङ होमस्टे, विशाल साम्पाङको घरमा सरिता होमस्टे र प्रजुन राईको घरमा झन्डीडाँडा होमस्टे लगायत सञ्चालनमा छन् । रम्भ्याङमा आउने पर्यटकलाई होम–स्टेमा सादा खानाको १५० रुपैयाँ लाग्छ । एउटा कोठामा एक रात सुतेको ५०० रुपैयाँ तिर्नुपर्छ । अहिले यहाँका होम–स्टेमा पर्यटक आइरहेका छन् ।

होम–स्टेका कारण स्थानीयको आम्दानी बढ्न थालेको छ । यहाँसम्म आउने पर्यटकले गर्ने खर्च सोझै स्थानीय होम–स्टे व्यवसायी र किसानको हातमा पुग्ने गरेको छ । त्यति मात्र होइन, गाउँमा उत्पादन भएको सिमी, मुला, इस्कुस, सागलगायत तरकारी पनि यहाँ आइपुग्ने पर्यटकले किनेर लैजान थालेका छन् । यसका साथै स्थानीय लोपोन्मुख लेप्चासहित राई, नेवार, तामाङ विभिन्न जातजातिका सांस्कृतिक परम्परा संरक्षणमा पर्यटककै माध्यमबाट सहयोग पुग्ने गरेको छ । यहाँ आउने पर्यटकलाई स्थानीय जातजातिले आ–आफ्ना सांस्कृतिक नाच र प्रस्तुति देखाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?