+
+

बालबालिकाको रोगप्रतिरोधात्मक क्षमता बढाउने ५ उपाय

डा. अर्चना नेपाल डा. अर्चना नेपाल
२०८० वैशाख १७ गते १४:५२

बालबालिकाको रोगप्रतिरोधात्मक क्षमता वयस्कको तुलनामा अलि कमजोर हुन्छ । त्यसैले विभिन्न संक्रमण र फ्लुले बालबच्चालाई छिट्टै सताइहाल्छ ।

बच्चा धेरै बिरामी भइरहने भएकाले उनीहरुलाई कसरी स्वस्थ राख्ने भन्ने चिन्ता अभिभावकलाई हुन्छ । बच्चालाई रोग लाग्नबाट बचाउन रोगप्रतिरोधात्मक क्षमता बलियो बनाउनु जरुरी छ । बच्चाको रोगप्रतिरोधात्मक क्षमता बढाउन अभिभावकले यी पाँच कुरामा ध्यान दिनुपर्छ ।

पूर्ण खोप

बच्चा जन्मने बित्तिकै विभिन्न खालका संक्रमणबाट बचाउन सकियोस् भनेर खोप दिन सुरु गरिन्छ । जन्मेदेखि १५ महिनासम्म बच्चालाई सरकारले विभिन्न खालका खोप निःशुल्क उपलब्ध गराउँछ ।

खोपको उद्देश्य बच्चामा प्रतिरक्षा प्रणाली बढाउनु हो । समयमै खोप दिएपछि उनीहरू सम्भावित रोगको जोखिमबाट बच्छन् । बालबालिकाको रोगप्रतिरोधात्मक क्षमता बढाउन सरकारले दिने सम्पूर्ण खोप लगाइदिनुपर्छ । त्यसबाहेक सम्भव भएसम्म ठेउला, हेपाटाइटिस र अन्य फ्लुविरुद्धका खोप लगाइदिनुपर्छ ।

खानपान

बच्चाको रोगप्रतिरोधात्मक क्षमता बढाउन खानपान महत्वपूर्ण हुन्छ । बच्चालाई सन्तुलित र स्वस्थकर खाना खुवाएर रोगप्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ ।

बजारमा पाइने जंकफुड, प्याकेट फुड भन्दा पनि घरमै बनेको खानेकुरा दिनुपर्छ । प्रोटिन, खनिज पदार्थ, कार्बोहाइड्रेट, चिल्लो पदार्थ, भिटामिनहरूको मात्रा पुर्‍याएर सन्तुलित खाना दिइयो भने बच्चाको रोगप्रतिरोधात्मक क्षमता बढ्छ ।

पानी

सही मात्रामा पानी पिउँदा बालबालिका धेरै रोगबाट बच्न सक्छन् । पानीले बच्चाको पाचन प्रणाली पनि मजबुत हुन्छ भने धेरै रोगबाट बचाउँछ । पानीले बालबालिकाको ऊर्जा स्तर बढाएर रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।

खेलकुद

बच्चालाई माटो र खुला स्थानमा खेल्न दिनाले उनीहरूको रोगप्रतिरोधी क्षमता बलियो हुन्छ । यसले बच्चालाई अन्य बच्चाको तुलनामा प्रदूषण र अन्य चीजबाट हुने एलर्जी धेरै कम हुन्छ ।

वातावरणमा साधारणतया दुई प्रकारका कीटाणु हुन्छन्, एउटा कीटाणुले हामीलाई नराम्रो गर्ने हुन्छ भने अर्को कीटाणु साथी जस्तो हुन्छ, जुन माटो र वरिपरिको वातावरणमा हुन्छ । एउटा खोप लगाउँदा जसरी रोग लाग्नबाट बचिन्छ, त्यसरी नै वातावरणसँग खेल्दा पनि रोगसँग लड्ने क्षमता वृद्धि हुन्छ ।

सरसफाइ

विभिन्न रोगबाट बचाउन र रोगप्रतिरोधात्मक क्षमता बढाउन बच्चाको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । बच्चालाई बाहिर निस्किनुअघि मास्कको प्रयोग गर्ने, घरबाहिरबाट खेलेर आएपछि हातखुट्टा धुने जस्ता कुरा सिकाउनुपर्छ ।

(बालरोग विशेषज्ञ डा. नेपालसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?