२१ वैशाख, विराटनगर । प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेलाई कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।
झापाको दमकमा बोर्डले आयोजना गरेको भलिबल प्रतियोगिताको ब्यानरमा प्रदेशको नाम किन नलेखेको भन्दै मन्त्रालयले सात दिने स्पष्टीकरण सोधेको हो ।
प्रदेश खेलकुद विकास बोर्डले वैशाख १४ गतेदेखि १६ गतेसम्म दमकमा प्रदेश स्तरीय मुख्यमन्त्री कप भलिबल प्रतियोगिता आयोजना गरेको थियो । फाइनलमा आयोजक कोशी प्रदेशलाई पराजित गर्दै गण्डकीले उपाधि जितेको थियो ।
प्रतियोगिताको ब्यानरलगायत खेल सामग्रीमा कोशी प्रदेशको नाम नलेखेको भन्दै स्पष्टीकरण सोधेको हो । मन्त्रालयले वैशाख १७ गते स्पष्टीकरण सोधेको थियो ।
स्पष्टीकरण सोधेको दुई दिनपछि मन्त्रालयले १९ गते बोर्डको बैंक खाता पनि रोक्का गरिदिएको छ । प्रभु बैकलाई पत्राचार गर्दै मन्त्रालयले खाता रोक्का गर्न लगाएको हो ।
वाग्लेलाई तत्कालीन मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिव नियुक्त गरेका थिए । एमाले नेतृत्वको सरकार बनेपछि वाग्लेलाई पदमुक्त गर्नका लागि स्पष्टीकरण सोधिएको मन्त्रालय स्रोतले बताएको छ ।
प्रतिक्रिया 4