+
+

बालेनको भारतीय सिनेमा लक्षित शृंखलाबद्ध प्रतिवाद

कतिपयले उनको यो कार्य क्षेत्राधिकारभन्दा बाहिर रहेको तर्क गर्दैछन् भने बालेन स्वयं चाहिँ संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको बताउँदैछन् ।

विष्णु शर्मा बसन्त बस्नेत विष्णु शर्मा, बसन्त बस्नेत
२०८० असार ३ गते २१:५०

३ असार, काठमाडौं । सिनेमा थाल्ने बेला दृश्यमा लेखिन्छ– यो कथा कसैको जीवनसँग मेल खान गएमा संयोग मानिन्छ । ठिकठिकै स्तरको मानिएको ‘आदिपुरुष’ माथि नेपालमा यति बेला चर्को बहस भइरहेको छ । त्यस सिनेमामा ‘सीता’बारे प्रयुक्त संवादलाई नेपाली दर्शक र सार्वजनिक वृत्तले संयोग मात्रै मान्न सकिरहेको छैन ।

भारतीय संसद भवनमा राखिएको ‘अखण्ड भारत’को नक्सामा काठमाडौंले व्यक्त गरेको असन्तुष्टिको बाछिटा फिल्म ‘आदिपुरुष’ प्रकरणसम्म सर्न पुगेको हो । काठमाडौं मेयर बालेन शाहले कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेपछि माहोल झनै गर्माएको थियो । भारतीय मिडियाले समेत यो विवादलाई भारत भर्सेस बालेन विवादझैं गरी देखाइरहेका छन् । भारतका सोसल मिडिया प्रयोगकर्तामा बालेन नाम ट्रेन्डिङ भइरहेको छ । भेटघाट र कुराकानीमा भारतीयहरु बालेनका बारेमा सोधखोज गरिरहेका छन् ।

रामायणबाट प्रभावित भनिएको उक्त फिल्मका लेखक तथा गीतकार मनोज मुन्तशिरले आजतकसँगको अन्तर्वार्तामा सन् १९०३ अघि नेपाल भारतकै अंश रहेको र जानकी भारतकै भएको विवादित बयान दिएपछि त परिस्थिति झन् गिजोलिएको छ । मुन्तशिरको बयान र जानकी भारतीय छोरी भएको संवादको पृष्ठभूमिमा बालेनले सोमबारदेखि महानगर क्षेत्रभित्र भारतीय फिल्मलाई निषेध गर्ने घोषणा गरेका छन् । बालेनले गरेको घोषणाको मसी नसुक्दै फिल्मको तालुकदार निकाय संचार मन्त्रालयले घुमाउरो ढंगले बालेनलाई काउन्टर दिन खोजेको छ ।

मन्त्रालयले सेन्सर पास भइसकेको फिल्मलाई लिएर आपत्ति व्यक्त गर्ने कार्यमाथि प्रश्न गरेको छ । यो रस्साकस्सीको एकातिर सिंहदरबार र बागदरबारबीचको लडाइ देखिन्छ भने अर्कोतिर बालेन र भारतबीचको । यी शब्द लेखिरहँदा बालेनको निर्देशनमा काठमाडौंका सबै हलमा पुगेर नगर प्रहरीले भारतीय फिल्म नचलाउन चेतावनी दिइरहेका छन् ।

कतिपय आलोचकहरु चाहिँ महानगरबाट शक्ति फैलाउँदै राष्ट्रिय राजनीतिमा छाउने बालेनको महत्वाकांक्षामा अखण्ड भारतको नक्सादेखि सिनेमा संवादसम्म सहयोगी बन्न पुगेको भनी कटाक्ष गर्ने गरेका छन् ।

सुरुमै तीन दिनभित्र आदिपुरुषमा प्रयुक्त उक्त संवादलाई सच्याउन अल्टिमेटम दिएका बालेनको सबै भारतीय फिल्मलाई रोक लगाउने निर्णयलाई लिएर जनमत विभाजित छ । कतिपयले उनको यो कार्य क्षेत्राधिकारभन्दा बाहिर रहेको तर्क गर्दैछन् भने बालेन स्वयं चाहिँ संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको बताउँदैछन् ।

बालेनको काममा सत्ता र प्रतिपक्षमा रहेका ठूला पार्टीकै कतिपय कार्यकर्ताले सही थापिरहँदा नेतृत्व भने उनको कार्यशैलीमा उत्तेजना देखिएको दाबी गर्छ । जबकि विगतमा एमाले कार्यकर्ताहरुले रंगिला सिनेमा नेपालमा देखाउन रोक लगाउनुपर्ने माग राखेका थिए । माओवादीले त युद्ध थाल्ने बेला भारतीय सिनेमा, हिन्दी गीत आदिलाई नेपालमा प्रतिबन्ध लगाउनुपर्ने लगायत माग नै राख्न पुगेको थियो । संयोग नै मानौं, त्यही माओवादी यति बेला संघीय सरकारको नेतृत्वमा रहेका बेला स्थानीय सरकारका मेयरसँग यो विषयलाई लिएर नरम टकरावसहित दृश्यमा देखा परेको छ ।

कतिपय आलोचकहरु चाहिँ महानगरबाट शक्ति फैलाउँदै राष्ट्रिय राजनीतिमा छाउने बालेनको महत्वाकांक्षामा अखण्ड भारतको नक्सादेखि सिनेमा संवादसम्म सहयोगी बन्न पुगेको भनी कटाक्ष गर्ने गरेका छन् । फिल्म निर्देशक नवीन सुब्बा भने यसलाई अलिक भिन्न दृष्टिबाट हेर्छन्, ‘बालेनको शैलीबारे बहस गर्न सकिएला, तर मुख्य समस्या बालेन होइनन्, उनका निर्णयहरु फिल्मलाई राज्यका औपचारिक संयन्त्रले ठीकसँग काम गर्न नसक्दा उत्पन्न भएका नतिजा मात्रै हुन् ।’

सुब्बाका अनुसार सिनेमा बनाउँदा संसारैभरि ध्यान दिइने मुख्य कुरामध्ये ‘कल्चरल एप्रोप्रिएसन’ पनि पर्छ, जसमा अर्काको देश, अर्काको संस्कृति आदिलाई नकारात्मक रुपमा प्रस्तुत गर्न पाइँदैन भन्ने हो । भारतले चाहिँ छिमेकका संस्कृतिहरुबारे पहिलेदेखि नै हेपाहा चित्रण गर्ने गरेका दृष्टान्त उनी दिन्छन् ।

उसो त राष्ट्रिय राजनीतिदेखि फिल्मसम्म बेला–बेलामा राष्ट्रवादी रुझान व्यक्त भइरहने परिघटना नयाँ होइन । आदिपुरुष यसैको पछिल्लो उदाहरण हो । ऋतिक रोशन प्रकरणदेखि चाँदनी चोक टु चाइनासम्मका प्रकरण हेर्ने भने आदिपुरुष राष्ट्रवादको भाष्यमा पेलिने अर्को फिल्म बनेको छ । नेपाली सेन्सर बोर्डले सीता भारतकी छोरी भएको वाक्य हटाएर प्रदर्शन अनुमति दिएको थियो र हल सञ्चालकले अधिकतम सुरक्षा संयमता अपनाउँदै प्रदर्शन पनि गरेका थिए । तर, भारतमा पनि सच्याउनुपर्ने बालेनको अडान र नेपाल भारतकै अंश भएको भन्ने मुन्तशिरको कुतर्कजस्ता दुई ‘न्यारेटिभ’मा यो सबथोक सिर्जना भयो ।

विवाद निम्त्याउने फिल्म ‘आदिपुरुष’कै कारण बालेनले सबै भारतीय फिल्मको प्रदर्शन रोक्ने घोषणा गरेका छन् । उनले गरेको यो घोषणा कति लामो समय टिक्ला, उनले कुन क्षेत्राधिकारमा रहेर यो निर्णय लिए र कसरी पपुलिज्म राष्ट्रिय राजनीतिको ‘फोर्स फ्याक्टर’ बन्दैछ भन्न कुरामा बहस हुँदै पक्कै हुनेछ । एउटा फिल्मको कारण अरु भारतीय फिल्मलाई रोक्ने कार्य वैज्ञानिक नहुने कतिपयको धारणा छ ।

निर्माता तथा अभिनेता दीपकराज गिरी भन्छन्– ‘समस्या आदिपुरूषले निकालेको हो त्यसैले आदिपुरुष मात्रै बन्द गरौ !! उता बाट आउने सबै फिल्म बन्द गर्दा गलत अर्थ लाग्ला कि ? उता बाट त धेरै कुरा आउछ ।’ फिल्म निर्देशक केपी पाठक लेख्छन्, ‘सबै हिन्दी फिल्मलाई एउटै डालोमा हालेर रोक्नु भन्दा जुन फिल्ममा गलत सन्देश सम्प्रेषण छ त्यही मात्रै रोक्दा चाहिँ उचित होला कि !’

भारतीय सत्तारुढ दल बीजेपी निकट मानिने फिल्म लेखक तथा गीतकार मुन्तशिर हिन्दुत्वका कट्टर समर्थक हुन् । उनको करिअर हेर्दा उनी ‘विश्वगुरु’ बन्ने बाटोमा हिँडेको नरेन्द्र मोदीको भाष्यसँग पूर्णरुपमा समर्पित छन् । उनले लेखेका गीत र फिल्मको संवाद, कथामा हिन्दुत्व र गेरुवस्त्रको छाप स्पष्ट देखिन्छ । आजतकसँगको अन्तर्वार्तामा उनले जसरी नेपाल र भारत अहिले पनि राष्ट्रियरुपमा एकाकार छन् भन्ने अभिव्यक्ति दिएका छन्, यसले भारतीय संस्थापन पक्षले कुन राडारबाट नेपाललाई हेरिरहेको छ भन्ने संकेत मिल्छ ।

मोदीको दोस्रो कार्यकालमा फिल्मलाई सफ्टपावरको रुपमा विकास गर्ने ध्येय देखिन्छ । मोदी स्वयंले पनि कस्मिर फाइल्स, केरला स्टोरीजस्ता फिल्मको प्रवद्र्धन गर्दैछन् । हिजोआज उनको ध्यान द डायरी अफ् वेस्ट बंगालको प्रबद्र्धन गर्नुमा छ, जसमा ममता बनर्जीलाई भिलेन देखाउँदै भाजपाको प्रचार गरिएको छ ।

यसै क्रममा नेपालसँग जोडिन पुगेको छ आदिपुरुष सिनेमा । निर्देशक मनोज पण्डित आदिपुरुष लेखक मुन्तशिरको अन्तर्वार्तालाई उनको मात्र निजी अभिव्यक्ति मान्न नहुने तर्क गर्छन् । ‘यो मनोजको मात्रै स्टेटमेन्ट होइन । फिल्ममेकरको पनि स्टेटमेन्ट हो । फिल्ममेकर उदासिन हुन्छ भन्ने होइन । हाम्रो दुर्भाग्य के हो भने गुगलमा पनि यस्तै लेखिएको छ । गुगलले पनि यो लेख्या छ । यो समग्र इन्डियाको सबकन्सियस न्यारेटिभ हो ।’

आदिपुरुष लेखक तथा गीतकार मुन्तशिरको अभिव्यक्तिलाई लिएर निर्देशक निर्माता नवल खड्का भन्छन्, ‘भारतीय शासक र तिनका समर्थकले नेपालको स्वतन्त्रता र सार्वभौमिकता विरोधी गराइ र भनाइका विरुद्ध सरकारले तुरुन्त ‘आदिपुरुष’ र भारतीय चलचित्रहरुको प्रदर्शन रोकी भारत सरकारसँग आफ्नो अडान स्पष्ट गरोस् ।’

संघ र स्थानीय सरकार सिनेमा विवादलाई लिएर आपसमा टक्कराउँदै गर्दा फिल्मका दृश्य र संवादजस्ता विषय कुटनीतिक अभ्यासकै मामिला हुन् भन्ने विषय सँगसँगै स्थापित भइरहेको छ । समयमा पहलकदमी नलिँदा त्यसले अनावश्यक क्रिया–प्रतिक्रिया उब्जाउने भएकाले पहिलो प्रयास केन्द्रसत्ताले नै गर्नुपर्ने सिनेकर्मीहरु ठान्छन् ।

‘यस्तोमा गर्नुपर्ने काम चाहिँ राज्यले भारतलाई कुटनीतिक नोट पठाउने हो, नेपाल यसमा संवेदनशील छ भन्ने सन्देश प्रवाह गर्न सकिन्थ्यो’, नवीन सुब्बा भन्छन्, ‘राज्य नै आफ्नो काममा चुकिसकेपछि स्थानीय सरकारले के गर्यो, कसो गर्‍यो वा अरु प्रतिक्रिया कसरी प्राप्त भए भन्ने कुरा तपसिल भइगए ।’

लेखकको बारेमा
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?