+

बालबालिकामा कब्जियतको कारण र उपचार

२०८१ जेठ  २३ गते १४:०० २०८१ जेठ २३ गते १४:००
बालबालिकामा कब्जियतको कारण र उपचार

बालबालिका अस्पताल आउने प्रमुख कारणमध्ये एक कारण कब्जियत हो । हरेक तीनमध्ये एक जना बालबालिकामा कब्जियतको कुनै न कुनै समस्या देखिन्छ । दुई वर्षदेखि चार वर्षको उमेर समूहका बालबालिकामा कब्जियतको समस्या धेरै देखिन्छ ।

आमाको दूधबाट बट्टाको वा गाईभैंसीको दूधमा जाँदा या ठोस खानेकुरा सुरु गर्दा विशेषगरी यस्तो समस्या देखिन्छ । ट्वाइलेट ट्रेनिङ सुरु गर्दा पनि यस्तो हुन्छ ।

यदि तपाईंको बच्चाले हप्तामा तीन पटक भन्दा कम दिसा गरेको छ या दिसा साह्रो आउँछ,दिसा गर्न गाह्रो हुन्छ र खुला भएर पूरा दिसा निस्किंदैन भने यो कब्जियतको लक्षण हुनसक्छ ।

कारण

बालबालिकामा कब्जियत हुने कारणमा उनीहरूको खानपिन तथा क्रियाकलाप प्रमुख रुपमा पर्छ भने जटिल आन्तरिक रोगहरु नगन्य मात्र हुने गर्छन् ।

खानपिन

पानी तथा फाइबरयुक्त खानेकुरा कम खाने बालबालिकामा कब्जियतको समस्या धेरै देखिन्छ । फाइबरले पेटमा गएपछि पानी सोसेर दिसालाई नरम बनाउँछ र आन्द्राभित्र प्रवाह हुन सहयोग गर्छ । सागसब्जी, फलफूल तथा नफलेको अन्नमा फाइबरको मात्रा धेरै हुन्छ । विशेषगरी चिल्लो, मसालेदार तथा मैदाबाट बनेको खानेकुरा र गाईभैंसीको दूध धेरै खाने शिशुमा कब्जियतको समस्या धेरै हुन्छ ।

दिसा रोकेर बस्ने

बालबालिकाहरु टीभी, मोबाइल चलाउँदा या खेलिरहेको बेलामा दिसा लाग्दा पनि रोकेर बस्ने हुँदा दिसा झन् साह्रो भएर जम्छ र पछि दिसा गर्दा गाह्रो हुन्छ । फलस्वरूप उनीहरू दिसा गर्न डराउँछन् र झन् रोक्ने गर्छन् । यसले एक किसिमको कब्जियतको चक्रीय प्रणाली बनाउँछ र समस्या झन् जटिल हुन जान्छ ।

मनोभाव

कतिपय बालबालिकाहरु आफूले प्रयोग गरिरहेको ट्वाइलेट मात्र प्रयोग गर्न खोज्ने मनोभावका कारण बाहिर, स्कुलमा शौच गर्नबाट बच्न खोज्छन् । ट्वाइलेट ट्रेनिङ गर्ने समयमा पनि यो समस्या झनै धेरै देखिन्छ । घर तथा स्कुलमा हुने तनाव पनि कब्जियतको कारण हुनसक्छ ।

कसरत नगर्नु

नियमित कसरत गर्नाले आन्द्राको मांसपेशी चलायमान बनाउँछ र मलमूत्र छिटो सञ्चालन गर्न मद्दत गर्छ भने कम मात्र शारीरिक कसरत गर्नेमा कब्जियतको समस्या धेरै देखिन्छ ।

औषधिको सेवन

नसाको औषधि, पेन किलर तथा आइरनको सेवन गर्ने बालबालिकामा पनि कब्जियतको समस्या देखिन सक्छ ।

आन्तरिक रोग

बालबालिकामा कब्जियत हुने कारणमध्ये निकै कम मात्रामा आन्तरिक रोग हुने गर्छन् । थाइराइडको समस्या, मालद्वारको नसा राम्ररी विकास नहुनु तथा मेरुदण्डको समस्या आदि बालबालिकामा कब्जियतको कारणमध्ये एक कारण हुन् ।

लक्षणहरु

– दिसा कम गर्ने

– दिसा गर्दा कन्नुपर्ने, लामो समय लाग्ने

– दिसा ठूलो र साह्रो आउने

– दिसा गर्दा दुख्ने रुने

– पेट दुख्ने/फुल्ने

– दिसा चुहिने

– भोक नलाग्ने

– पटक-पटक पिसाबको संक्रमण भइरहने

घरेलु उपचार

प्रशस्त पानी पिलाउनुपर्छ । पानीले दिसालाई नरम बनाएर आन्द्रालाई सहज बनाउँछ । शिशुलाई दैनिक ३-४ गिलास पानी खुवाउन सकिन्छ । अंगुर, स्याउ, नास्पाती, आरुबखडाको जुस ६० देखि १२० मिलिलिटरसम्म दैनिक दिन सकिन्छ ।

फाइबरयुक्त खानेकुरा

सागसब्जी, फलफूल तथा नफलेको अन्नमा धेरै फाइबर पाइन्छ, जसले पानी सोसेर दिसालाई नरम बनाउँछ । बच्चाहरुले यस्तो खानेकुरा मन नपराउन सक्छ । सुरुमा कम मात्रामा सुरु गरेर बिस्तारै बढाउन सकिन्छ । स्याउ, अंगुर नास्पाती, आरुबखडा, पाकेको केरा, गेडागुडी, गाँजर, काँक्रो प्रशस्त मात्रामा फाइबर पाइने खानेकुरा हुन् । एक वर्षभन्दा ठूलो शिशुलाई अधिकतम ५०० मिलिलिटरसम्म दूध खुवाउन सकिन्छ ।

नियमित शौच गराउने

नियमित एकै किसिमको समय छुट्याएर हरेक दिन दुई पटक शौच गर्नका लागि प्रोत्साहित गर्ने । विशेषगरी खाना खाएपछिको समय शौच गर्न लगाउँदा राम्रोसँग निस्किने सम्भावना धेरै हुन्छ । बच्चालाई शौचालयमा कमसे कम १० मिनेट बस्नका लागि प्रोत्साहित गर्नुपर्छ । अनावश्यक दबाब भने दिनुहुँदैन ।

समयमा खाना खुवाउने

नियमित समयतालिका बनाएर खाना खुवाउँदा पाचनप्रणालीलाई सोही अनुसार फाइदा पुग्छ ।

कसरत

दैनिक शारीरिक कसरत जस्तै दौडिने, उफ्रिने, पौडिने क्रियाकलाप गर्न प्रोत्साहन गर्नुपर्छ ।

औषधि

दिसा नरम बनाउने औषधिहरु बजारमा पाइन्छन् । तर चिकित्सकको परामर्शविना जथाभावी खुवाउनु हुँदैन । ल्याक्टुलोज, पोलिइथाइलिन ग्लाईकोल, स्पागोल तथा ग्लिसिरिन बालबालिकाको कब्जियतमा प्रयोग गरिने चलनचल्तीका औषधि हुन् ।

क्टरलाई कहिले देखाउने ?

– जन्मेको २४-४८ घण्टाभित्रमा दिसा नगरेमा

– बच्चा दुब्लाउँदै गएमा

– खाना नखाएमा

– पेट फुलेमा/दुखेमा

– दिसामा रगत देखिएमा

– ज्वरो आउने

– बान्ता आउने

– दिसापिसाब चुहिने ।

कब्जियत डा. लक्ष्मण परियार बालबालिका
डा. लक्ष्मण परियार
लेखक
डा. लक्ष्मण परियार
बालरोग विशेषज्ञ

डा. परियार हाल चितवनस्थित भरतपुर अस्पतालमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय