काठमाडौं । नेपालका लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालि र नबिल बैंक लिमिटेडबीच सम्झौता भएको छ । सवारीसाधनको फाइनान्सिङ तथा वित्तीय सुविधाका लागि सहकार्य गर्ने विषयमा दुवै पक्षबीच सम्झौता भएको हो ।
२९ जेठमा भएको सम्झौता अनुसार ओमोडाको विद्युतीय गाडी खरिदमा नबिल बैंकले ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने छ ।
ग्राहकले देशभर रहेका ओमोडा शोरुम तथा आधिकारिक डिलर नेटवर्कमार्फत सजिलै कर्जाको सुविधा लिन सक्ने कम्पनीले जनाएको छ ।
सहकार्य मार्फत ओमोडाका ईभी खरिद गर्न चाहने ग्राहकलाई वित्तीय सहजता उपलब्ध गराउने लक्ष्य राखिएको छ ।
सम्झौताअनुसार २० प्रतिशत डाउन पेमेन्ट गरी ग्राहकले नबिल बैंकका सबै शाखाबाट ५ वर्षका लागि ९.९९ प्रतिशत र ७ वर्षका लागि १०.४९ प्रतिशतको निश्चित ब्याजदरमा सहजै कर्जा प्राप्त गर्न सक्नेछन् ।
यो सुविधा देशभरिका ओमोडाको डिलर नेटवर्कमा उपलब्ध हुनेछ ।
कति छ मूल्य ?
एसपीजी अटोमोबाइल्सले ब्रान्डको पछिल्लो ईभी ओमोडा ई फाइभ गाडी ६१ लाख ९९ हजार रुपैयाँ (सिङ्गल टोन) तथा ६२ लाख ४९ हजार रुपैयाँ (डुअल टोन) को प्रि-बजेट मूल्यमा उपलब्ध गरेको छ ।
गत फेब्रुअरिमा सार्वजनिक भएदेखि नै नेपालमा ईभीहरूमध्ये उत्कृष्ट रोजाइ रहेको यो एसयूभीले ४३० किलोमिटर रेन्ज, १८० मिलि ग्राउन्ड क्लियरेन्स र ९९ किलोवाटको मोटर पावरको साथ नेपाली जीवनशैली र भौगोलिक आवश्यकता पनि पूरा गर्दछ ।
प्रतिक्रिया 4