
१२ कात्तिक, काठमाडौं । फूलहरूको पर्व तिहार सुरु भएसँगै बजारभरि छ्याप्छ्याप्ती प्लास्टिकका प्रतिबन्धित फूल देखिन थालेको छ । यसले प्राकृतिक फूल ओझेलमा पर्ने देखिएको छ ।
सरकारले नेपालभरि प्लास्टिकको फूल गुच्छा उत्पादन, आयात र बिक्री वितरणमा रोक लगाएको छ ।
सहरमा प्लास्टिकको फूल, माला पाउनु सामान्य झैं देखिन्छ । उपत्यका सहित वीरगञ्ज, हेटौंडा, गौर, जनकपुर, विराटनगर, बुटवल, नेपालगञ्ज जस्ता ठूला सहरमा समेत यसको नियन्त्रण भइरहेको देखिँदैन ।
अहिले बजारभरि प्रतिबन्धित प्लास्टिकको फूल देखिन थालेको हो । प्लास्टिकका फूल धेरै देखिन थालेपछि स्थानीय तहले सूचना निकालेर नियमन गर्न थालेका छन् ।
काठमाडौं महानगरपालिकाले बिहीबार सूचना निकाल्दै प्लास्टिक तथा प्लास्टिकका पुष्पगुच्छा, माला प्रतिबन्ध गरेको भन्दै प्रयोग गरे कारबाही गर्ने जनाएको छ ।
‘एकल प्रयोगको प्लास्टिक, प्लास्टिकको फूल गुच्छा, माला बिक्री वितरण, भण्डारण, ओसारपसार र प्रयोग तथा ४० माइक्रोनभन्दा पातला झोला बिक्री, वितरण, भण्डारण, ओसारपसार तथा प्रयोगमा पूर्णरूपमा निषेध गरिएको हुनाले उक्त वस्तुहरूको उत्पादन, बिक्री वितरण, भण्डारण, ओसारपसार र प्रयोगमा प्रतिबन्ध लगाइएको’ सूचनामा छ ।
यस्तै पाल्पा रामपुर नगरपालिकाले प्लास्टिकबाट बनेका फूल तथा माला बिक्री वितरणमा रोक लगाउने सूचना जारी गरेको छ ।
मकवानपुर थाहा नगरपालिकाले पनि सूचना निकालेको छ । कैलाली धनगढी उपमहानगरपालिकाले पनि प्लास्टिक निषेध गरिरहेको छ ।
कार्यान्वयन नहुने सधैंको समस्या
प्लास्टिक निषेध घोषणा विपरीत बजारमा प्लास्टिक कारोबार भइरहने कुरा नयाँ होइन । संघीय राजधानी सहित मुलुकका विभिन्न पालिकाले पटक–पटक सूचना निकालिरहेकै हुन्छन् ।
सरकारले १ वैशाख २०७२ देखि नै काठमाडौं उपत्यकाको ४ किल्ला तोकेर प्लास्टिकका झोला प्रयोग निषेध गरेको थियो ।
१८ चैत २०७१ को राजपत्र मार्फत सरकारले १ वैशाख २०७२ देखि लागु हुने गरी २० इन्च चौडाइ र ३५ इन्च लम्बाइ साइज र ४० माइक्रोन मोटाइसम्मका प्लास्टिक झोला आयात, भण्डारण, बिक्री वितरण र प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो ।
यस्तै फागुन २०७५ मा पनि वन तथा वातावरण मन्त्रालयले ल्याएको सय बुँदे प्राथमिकतामा प्लास्टिक झोला नियन्त्रणलाई फेरि मुद्दा बनाइयो । त्यसबेला राजधानीमा ४० र बाहिर ३० माइक्रोनभन्दा पातला प्लास्टिक झोला निषेध गरिएको थियो ।
वातावरण विभागले पनि १ भदौ २०७८ मा देशभरि ४० माइक्रोनभन्दा पातला प्लास्टिकका झोला प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो । त्यो कार्यान्वयन भएन ।
संघीय सरकारको मन्त्रिपरिषद्ले १७ माघ २०७८ मा प्लास्टिक झोला प्रतिबन्ध सम्बन्धी कार्ययोजना २०७८ समेत स्वीकृत गरेको थियो । पुनः १ साउन २०७९ मा संघीय सरकारले देशभरि प्लास्टिकका फूल गुच्छा उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा पूर्ण रोक लगाएको थियो ।
सरकारले जारी गरेको प्लास्टिक नियन्त्रण सम्बन्धी निर्देशिका अनुसार प्रतिबन्धित झोला प्रयोग गर्नेलाई कसुरको मात्रा हेरेर ५० हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था भए पनि कार्यान्वयन भने भएको छैन ।
औपचारिक च्यानलबाट आएको छैन : भन्सार
भन्सार विभागले भने प्रतिबन्ध भएदेखि औपचारिक च्यानलबाट प्लास्टिकका फूल, माला नेपाल नआएको जनाएको छ । नेपाल छिर्ने सबै नाकामा अनिवार्य सबै सामान परीक्षण हुने र छिर्न नदिने गरेको विभागका सूचना अधिकारी मुक्तिप्रसाद श्रेष्ठले जानकारी दिए ।
‘नेपालमा प्रतिबन्ध भएपछि औपचारिक च्यानलबाट आउने कुरै भएन, खुला सीमानाका कारण चोरी पैठारी भएर बजारमा आएको हुनसक्छ,’ श्रेष्ठले अनलाइनखबरसँग भने ।
भन्सार विभागका एक अधिकारीका अनुसार नाका जोडिएका जिल्लामा जिल्ला सुरक्षा समन्वय समितिले संयुक्त अनुगमन गरिरहे पनि सुरक्षा निकायका अंगहरूले प्रभावकारी काम गर्न नसक्दा प्लास्टिकका फूल भित्रिरहेको छ ।
‘सुरक्षा निकायहरू चेकिङ गरिरहेका हुन्छन् तर उहाँहरूले कसरी गर्नुहुन्छ, सरकारले प्रतिबन्ध गरेका प्लास्टिकका फूल चोरी पैठारीबाट टन्नै आइरहेका छन् ।’
‘कडाइसाथ काम गरिरहेका छौं’
यता सीमा सुरक्षा तथा भन्सार जाँचपास सुरक्षा जिम्मा लिएको सशस्त्र प्रहरीले आफ्नो काम गरिरहेको जनाएको छ । सशस्त्र प्रहरी बल उक्त आरोप स्वीकार्न तयार भएन ।
सीमा नाकामा खटिएका सशस्त्र प्रहरीले कडाइसाथ जाँच गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापा बताउँछन् ।
‘सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारी अनुसार सीमामा जाँच कडाइसाथ गरिरहेको छ । कोही कसैको कमजोरी भए त्यस्ता सुरक्षाकर्मीलाई पनि हामीले कारबाहीको दायरामा ल्याइरहेका छौं,’ डीएसपी थापाले भने ।
२ करोड बढीको आयात
गत वर्ष नेपालमा प्लास्टिकका सजावटका सामान, पातबाट बनेको सजावटका फूल, बुके २ करोडभन्दा बढी आयात भएको देखिन्छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा २ करोड ९० लाख रुपैयाँ बराबरका ५६ टन आयात भएको देखिन्छ । चीन र भारत सहित २० देशबाट थोरै–थोरै प्लास्टिकका सजावटका सामग्री आएको देखिन्छ ।
प्राकृतिक फूल भने गत आव २७ करोडको आएको दखिन्छ । भन्सार विभागको तथ्यांक अनुसार २०८०/८१ मा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक निर्यात कारोबार १ करोड २ लाख १२ हजार रुपैयाँ भएको छ भने आयाततर्फ २७ करोड ७९ लाख ५ हजारको कारोबार रहेको छ ।
तस्वीरहरू : चन्दबहादुर आले/अनलाइनखबर
प्रतिक्रिया 4