+
+

संस्थागत सुशासन नभएको विशाल बजार कसरी बन्यो ठूलो कम्पनी ?

०७५÷७६ सम्मको साधारणसभा एकैपटक माघ महिनासम्म गरिसक्छौं : कम्पनी सचिव

सुशासन नभएको यो कम्पनी दुई दिनयता सेयर बजारमा १० प्रतिशत बढिरहेको छ । दुई दिनदेखि नै बजारको सबैभन्दा शक्तिशाली कम्पनी पनि बनेको छ ।

कमल नेपाल कमल नेपाल
२०८१ मंसिर १४ गते ९:०२
फाइल तस्वीर

१४ मंसिर, काठमाडौं । सेयर बजारमा सूचीकृतमध्ये सुशासन नभएको एउटा कम्पनी हो– विशाल बजार । यसले १० वर्षदेखि साधारणसभा गरेको छैन, ५ वर्षयता लेखापरीक्षण गरेको छैन, ४ वर्षयता वित्तीय विवरण सार्वजनिक पनि गरेको छैन । त्यसकारण सेयर बजारमा सूचीकृतमध्ये सुशासन नभएको कम्पनीको यो गतिलो उदाहरण हो ।

१४ चैत २०७० मा आर्थिक वर्ष २०६९/७० सम्मको ३३औं वार्षिक साधारणसभा सफल रूपमा सम्पन्न भएको थियो । त्यसपछि ३४औं साधारणसभा सेयरधनीको लफडापछि रोकिएको छ । त्यस्तै २०७५/७६ सम्मको लेखापरीक्षण सम्पन्न रहेको कम्पनी सचिव गोरख शाहीले बताए ।

२०७६/७७ देखि २०८०/८१ सम्मकै लेखापरीक्षण गर्ने गरी तयारी गरिएको उनको भनाइ छ । ‘यो चार वर्षको अवधिकै लेखापरीक्षणका लागि महालेखा परीक्षकलाई प्रस्ताव पठाइसक्यौं,’ उनले भने, ‘तर, लेखा परीक्षक अझै तोकिएको छैन, चार वर्षकै लेखापरीक्षण गर्ने तयारीमा छौं ।’

त्यस्तै २०७५/७६ सम्मको साधारणसभा एकैपटक यो पुस वा माघसम्म गरिसक्ने योजना उनले सुनाए । कम्पनीले अपरिष्कृत वित्तीय विवरण समेत सार्वजनिक नगरेको धेरै वर्ष भयो ।

२०७७/७८ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक भएपछि हुन सकेको छैन । उक्त विवरण अनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १ हजार ६ सय ८५ रुपैयाँ छ । त्यसयता कम्पनी नाफामै चलिरहेको शाहीले बताए । ‘अहिलेसम्म सञ्चित नाफाबाट १ अर्ब रुपैयाँ बराबर लाभांश बाँड्न सक्ने अवस्थामा छौं,’ उनले भने ।

त्यसयताका अपरिष्कृत वित्तीय विवरण धितोपत्र बोर्डलाई बुझाउँदै आएको उनी दाबी गर्छन् । ‘सार्वजनिक नभए पनि २०८०/८१ सम्मकै अपरिष्कृत वित्तीय विवरण नेपाल धितोपत्र बोर्डलाई पठाउँदै आएका छौं,’ उनले भने, ‘केही महिनापछि अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेर अघि बढ्छौं ।’

कम्पनीको नयाँ वेबसाइट बनाइँदै गरेको र केही महिनापछि पछिल्लो समयसम्मकै अपरिष्कृत वित्तीय विवरण सहित जानकारी अपडेट गरिने उनले बताए । केही महिनापछि नै विशाल बजार सुशासन भएको, वित्तीय विवरण अपडेटेड कम्पनी हुने उनको दाबी छ ।

सुशासन नभएको यो कम्पनी दुई दिनयता सेयर बजारमा १० प्रतिशत बढिरहेको छ । दुई दिनदेखि नै बजारको सबैभन्दा शक्तिशाली कम्पनी पनि बनेको छ । नेपाल टेलिकमलाई उछिन्दै विशाल बजार शक्तिशाली कम्पनी बनेको हो ।

बिहीबार बजार बन्द हुँदा विशाल बजारको पूँजीकरण (सूचीकृत सबै सेयरको मूल्य) २ खर्ब १८ अर्ब पुगेको छ । दोस्रो ठूलो कम्पनी नेपाल टेलिकमको १ खर्ब ७६ अर्ब छ ।

बिशाल बजार/फाइल तस्वीर

कसरी सबैभन्दा ठूलो बन्यो ?

बुधबार मात्रै विशाल बजार कम्पनीको ३ करोड ९६ लाख ८ हजार ६ सय कित्ता सेयर बजारमा सूचीकृत भयो । यो सेयर संस्थापक समूह अर्थात् सरकारको हो । यो सेयर थपिएपछि विशाल बजार कम्पनीको कुल सूचीकृत सेयर संख्या ४ करोड १ लाख कित्ता पुगेको छ । हाल प्रतिकित्ता ५ हजार ४ सय ४५ रुपैयाँ छ ।

विशाल बजार कम्पनीले प्रयोग गर्दै आएको जग्गा बापत सरकारले संस्थापक सेयर पाएको हो । त्यही सेयर बजारमा सूचीकृत भएको हो । तर, संस्थापक सेयर कारोबारमा आउँदैन । १.०४ प्रतिशत अर्थात् ४ लाख १८ हजार ९ सय ६७ कित्ता सेयर मात्रै सर्वसाधारणमा जारी छ, यही सेयर बजारमा कारोबारमा आउने हो । कारोबारमा आउने सेयर संख्या न्यून हुने भए पनि त्यो सेयरले शतप्रतिशतकै मूल्य घटबढ हुन्छ ।

यही कारण विशाल बजार कम्पनी सबैभन्दा शक्तिशाली बनेको छ । अब यो कम्पनीले व्यापार सेक्टर पूर्णरूपमा चलाउने छ । यसको अर्थ कम्पनीको मूल्य बढेमा व्यापार सेक्टर बढ्ने छ भने घटे सेक्टर नै घट्ने छ । व्यापार समूहमा यो र साल्ट ट्रेडिङ गरी दुई कम्पनी सूचीकृत छन् । साल्ट ट्रेडिङभन्दा विशाल बजारको शक्ति १०.५ गुणा ठूलो छ ।

कसरी थपियो सरकारी सेयर ?

विशाल बजार कम्पनीले वर्षौंदेखि प्रयोग गर्दै आएको ८ रोपनी ४ आना जग्गा सरकारको नाममा थिएन । २०२५ सालमा स्थापना भएको विशाल बजार २०४५ सालसम्म अञ्चलाधीश कार्यालय मातहत सञ्चालन हुँदै आएको थियो ।

२०४६ सालमा बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भएपछि त्यहाँ भवन बनाएका शक्तिशाली व्यापारिक सेयरधनी (सञ्चालक) ले आफूखुसी सटर भाडामा दिने, पैसा असुल्ने गर्न थाले । केही समूहले जग्गासहित विशाल बजार कम्पनीलाई हडप्ने प्रयास समेत गरेको थियो ।

२०६७ मा विशाल बजारलाई सर्वोच्च अदालतले सरकारकै स्वामित्व र अधिकार कायम गरिदिएपछि व्यवस्थित रूपमा सटरहरू भाडामा लाग्न थालेका हुन् ।

जब सरकारका नाममा जग्गा आयो, त्यसपछि विशाल बजार कम्पनीको ९८.९६ प्रतिशत सेयर सरकारी हुन गयो । हालै यो सेयर बजारमा सूचीकरण भएपछि कम्पनी सबैभन्दा ठूलो भएको हो । पहिले नै कम्पनीको बाँकी सेयर सूचीकृत थियो ।

सरकारको सेयर सूचीकरण भएपछि अब कम्पनीको साधारणसभा, लेखापरीक्षण कार्य समयमै गर्ने गरी आफूहरू लागिपरेको सचिव शाहीले बताए ।

विशाल बजारकै सटर खाली

विशाल बजार कम्पनीले सञ्चालन गर्ने आफ्ना ३ सय ९६ सटरबाट वार्षिक २३ देखि२४ करोड रुपैयाँ बराबर आम्दानी गर्दै आएको छ । करिब ६ करोड सञ्चालन खर्च हुने गरेको र बाँकी १७ देखि १८ करोड खुद नाफा हुने गरेको शाहीले जानकारी दिए ।

तर, अहिले व्यापार–व्यवसायमा आएको मन्दीले विशाल बजार कम्पनीलाई पनि असर पारेको छ । पछिल्लो समय विशाल बजारकै सटरहरू खाली भएको उनले बताए ।

‘करिब २० वटा सटर अहिले खाली भएको अवस्था छ,’ उनले भने ‘लामो समयसम्म सटर खाली हुँदा आम्दानीमा असर पार्छ ।’

सटरको साइज अनुसार भाडा फरक हुने गरेको छ । टेन्डर मार्फत भाडामा दिइने गरेकाले केही सटरको भाडा बढी त, केहीको कम रहेको छ । शौचालय फोहोर, पार्किङको समस्याजस्ता कारण असहज रहेको त्यहाँका व्यापारी बताउँछन् ।

लेखकको बारेमा
कमल नेपाल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत नेपाल धितोपत्र बजार विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?