News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी पुस्ताले फेसबुकलाई पुरानो र सार्वजनिक प्लेटफर्म मान्दै कम सक्रियता देखाउँछन् ।
- सन् २०१४ देखि २०२२ सम्म अमेरिकी किशोरहरूमा फेसबुक प्रयोग ७१ प्रतिशतबाट ३२ प्रतिशतमा झरेको देखाएको छ ।
- नेपालमा पनि २२ वर्षमुनिका अधिकांश जेनजीहरूले फेसबुकमा फोटो राख्दैनन्, स्ट्याटस सेयर गर्दैनन् ।
फेसबुक र जेनजी पुस्ता सहोदर दाजुभाइ जसरी करिब एकै समयमा आए । सँगसँगै हुर्किए । मार्क जुकरबर्गले फेसबुकलाई आधिकारिक प्रयोगमा ल्याइरहँदा पहिलो छिमलका जेनजी ७–८ वर्षका कलकलाउँदा बालक थिए । रेडियोमा गीत फर्माइस गरेर सुन्ने, श्यामश्वेत टिभीमा अधैर्यसाथ झुम्मिने, आँगनमा भेला भएर डन्डिबियो खेल्ने युगको पटाक्षेप हुँदै थियो ।
घरबाहिर खेल्ने र घरभित्र खेल्ने पुस्ताबीचको सीमारेखा यही बिन्दुबाट कोरिएको थियो । जेनजीहरू घरभित्रै खेल्दै हुर्कंने पहिलो पुस्ता थिए । किनभने उनीहरूसँग स्मार्टफोन, इन्टरनेट र सामाजिक सञ्जाल जो थियो ।
खासगरी जेनजी पुस्ता हुर्कंदै गर्दा फेसबुकको प्रयोग उत्कर्षमा पुग्दै थियो । बुबाआमा र अंकलहरूले जानी–नजानी फेसबुक खाता खोल्दै गर्दा जेनजी पुस्ताले भने यसको नालीबेली केलाउन भ्याइसकेका थिए ।
यसरी गर्भनाल जोडिएजसरी एउटै युग साझेदार गर्दै हुर्किएका फेसबुक र जेनजी भने आपसमा सम्बन्ध विच्छेद गरेजस्तै अवस्थामा छन् । खासगरी पछिल्लो छिमलका जेनजीले फेसबुक चलाउँदै चलाउँदैनन् । चलाए पनि सही नाम राख्दैनन् । वास्तविक नाम राखे पनि अरूको स्टाटसमा कमेन्ट, रियाक्ट गर्दैनन् । कमेन्ट–रियाक्ट गरे पनि आफ्नो फोटो–भिडियो सेयर गर्दैनन् । किन त ?
यसको एकमात्र जवाफ छैन । तर, जवाफ जे छ त्यो निकै रोचक छ ।
भनिहालौं, यो हाम्रा जेनजीको मात्र कुरा होइन । विश्वभर यही विषयमा अध्ययन भएको छ र ती सबैको एकमुष्ठ नतिजाले भन्छ- अधिकांश जेनजी फेसबुकमा सक्रिय छैनन् ।’
जेनजी फेसबुकबाट टाढा हुनु कुनै संयोग होइन । यो प्रविधि, गोपनीयता, सामाजिक आवश्यकता र प्लेटफर्मको विकाससँग जोडिएको छ । जेनजीले फेसबुकलाई ‘पब्लिक’ ठान्छ, जसमा बाबुआमा, अङ्कल वा हजुरबुबा–हजुरआमासँग जोडिनुपर्छ । उनीहरूले आफ्नो कथा र भावनाहरू सेयर गर्न चाहन्छन्, तर परिवारको नजरबाट टाढा रहेर ।
सुरु सुरुमा मानिसहरूले सामाजिक सञ्जालमा आफ्नो जीवनका हरेक पाटा सेयर गर्थे– जन्मदिन, फोटो, भावना, घटना आदि । तर अहिले, यसरी सेयर गर्ने दर घटेको छ ।
साइपाल एकेडेमीमा कक्षा १२ मा अध्ययनरत सुबास्ना भट्टराई गोपनीयता र अरूले के भन्ला कि जस्तो लागेर फेसबुकमा खासै पोस्ट नगर्ने बताउँछिन् । ‘पोस्ट हेरेर अर्काले के भन्छ भन्ने चिन्ता हुन्छ’ भट्टराई भन्छिन्, ‘फोटो मिसयूज हुने डरले प्राइभेसी कायम राख्छौँ। फोटो राख्दैनौ, रियाक्ट गर्दैनौ वा अफलाइन बस्छौ ।’
स्न्यापच्याट र इन्स्टाग्राम जस्ता प्लेटफर्महरू बढी आकर्षक रहेको र यसले आफ्नो उमेर समूहसँग जोड्ने र बिना हिचकिचाहट कुरा राख्न सकिने उनीहरूको भनाइ छ ।
फेसबुकको आम्दानीको ९८ प्रतिशतभन्दा बढी विज्ञापनबाट आउँछ, जसले एल्गोरिदमलाई प्रायोजित सामग्रीतर्फ धकेल्छ ।साथीहरूका सान्दर्भिक पोस्टहरूको सट्टा विज्ञापनहरू बढी देखिन्छन्, जसले युवाहरूलाई झिंजो लाग्न सक्ने साइबर सुरक्षा अनुसन्धानकर्ता विजय लिम्बू बताउँछन् ।
पछिल्लो समय फेसबुकको विकल्पमा धेरै नयाँ ‘सोसल मिडिया प्लेटफर्म’हरू छन्, जस्तो डिस्कर्ड वा रेडिट । यसमा आफ्नो सम्पूर्ण विवरण पनि खुलाइराख्नु पर्दैन र आफ्नो सर्कलमा मात्र सीमित रहन्छन् । त्यसैले जेनजी माझ फेसबुक कम लोकप्रिय भएको हुन सक्ने लिम्बूको बुझाइ छ ।
‘फेसबुकलाई उनीहरूले लोकप्रिय ठान्दैनन्’ लिम्बू भन्छन्, ‘बरु, फेसन, ट्राभल र खानासँग जोडिएका इन्फ्लुएन्सरहरू इन्स्टाग्राम वा टिकटकमा खोज्छन् ।’
नेपालको सन्दर्भमा पनि प्राय २२ वर्षभन्दा कम उमेरका जेनजीहरूले फेसबुकलाई ‘एक्टिभ’ गर्दैनन् । अकाउन्ट बनाए पनि फोटो राख्दैनन्, स्ट्याटस सेयर गर्दैनन् । उनीहरूको सर्कल सानो हुन्छ । यो पुस्ता फेसबुकसँग हुर्केको भए पनि, फेसबुकलाई पुरानो पुस्ताको ठान्छन् । गोपनीयता, रचनात्मकता र स्वतन्त्रताको खोजीले उनीहरूलाई टिकटक वा इन्स्टाग्रामतर्फ डोर्याएको छ ।
जेनजीहरूका अनुभव
सागर शर्मा बानेश्वरमा बस्छन् र कक्षा ११ मा विज्ञान विषय लिएर पढ्दै छन् । उनी फेसबुक चलाउँदैनन् । त्यसमा धेरै हानिकारक कुराहरू, म्यासेज र ठग्ने विज्ञापन आउने बुझाइ उनको छ । साथै उनका साथीहरू पनि फेसबुकमा सक्रिय छैनन् । गोपनीयताको पनि समस्या हुने सागतर बताउँछन् । उनले मोबाइलमा फेसबुक एप इन्स्टल नै गरेका छैनन् । बरु इन्स्टाग्राममा रिल्स र युट्युबमा सर्ट्स र भिडियोहरू हेर्छन् । आफ्नो अध्ययनका लागि आवश्यक भिडियोहरू पनि यिनै माध्यममा हेर्छन् ।
बाराका विकेश यादव ललितपुर टिकाथलीमा बस्छन् । कक्षा ११ मा कम्प्युटर साइन्स पढ्दै छन् । उनी फेसबुक प्रयोग गर्दैनन् किनकि त्यसमा अरूले राख्ने कुराहरूले आफूलाई असुरक्षित महसुस गराउने उनी बताउँछन् । उनी दिनमा २–३ घण्टा टिकटक मात्र चलाउँछन् ।
आस्ना थापा बानेश्वरको नोबल कलेजमा १२ कक्षामा पढ्छिन् । उनी पनि खासै फेसबुक चलाउँदिनन् । फेसबुकमा सबै चिनेजानेका आफन्तहरू पनि जोडिएका हुन्छन् । केही कुरा पोस्ट गर्यो भने ‘यस्तो किन हालेको’ भनेर कुरा गर्छन् । अन्य सोसल मिडिया स्वतन्त्र रूपले चलाउन पाइने उनी सुनाउँछिन् । त्यसैले इन्स्टाग्राम र टिकटक बढी चलाउने आस्ना बताउँछिन् ।
केएमसी कलेज बागबजारमा कक्षा ११ मा पढ्ने किस्मा गुरुङ पनि फेसबुक चलाउँदिनन् । आफूहरूको पुस्ता अन्तरमुखी र समाजमा धेरै घुलमिल नभएकोले पनि फेसबुकमा रुचि नभएको होला भन्ने उनलाई लाग्छ । ‘हाम्रो पुस्ता अन्तरमुखी भएका कारण पनि फेसबुक चलाउँदैन’ किस्मा भन्छिन्, ‘हामी परिवार, समाजसँग धेरै घुलमिल भएका हुँदैनौँ । त्यसैले आफ्नो व्यक्तिगत कुरा फेसबुकमा राख्न मन नलागेको हुन सक्छ ।’
पुरानो पुस्ताको माध्यम
जेनजीले टिकटक, इन्स्टाग्राम र स्न्यापच्याट जस्ता नयाँ प्लेटफर्महरूलाई धेरै रुचाउने गरेको मिडिया अनुसन्धानकर्ता उज्ज्वल आचार्य बताउँछन् । आचार्यका अनुसरा छोटो भिडियो र तुरुन्तै कुनै कुरा सेयर गर्नका ला यी माध्यम उपयुक्त छन् ।
यो पुस्तालाई फेसबुक पुरानो र लामा पोस्टहरू गर्ने, फोटोहरू धेरै सेयर गर्ने माध्यमका रूपमा केन्द्रित भएको बुझाइ यो पुस्ताको रहेको आचार्य बताउँछन् । ‘फेसबुकलाई उनीहरूका अभिभावक वा ठूलो पुस्ताले प्रयोग गर्ने प्लेटफर्म मानिन्छ’ आचार्य भन्छन्, ‘यसले गोपनीयता र ‘कूल’ नहुने भावना दिन्छ, जसले युवाहरूलाई टाढा राख्छ ।’
फेसबुकको फिड ब्रान्ड विज्ञापन र प्रभावशाली व्यक्तिहरूको सामग्रीले भरिएको छ । यसले सामान्य व्यक्तिका विषयवस्तुलाई ओझेलमा पार्छ, जसले जेनजीलाई यो ‘कम सामाजिक’ लाग्ने आचार्यको बुझाइ छ । आचार्यका अनुसार जेनजीले अनलाइन गोपनीयताको महत्त्व बुझेका छन् ।
फेसबुकका डाटा लिक र सार्वजनिक शेयरिङले उनीहरूमा डर पैदा गरेको हुन्छ । उनीहरू निजी च्याट जस्तो व्हाट्सएपलाई प्राथमिकता दिन्छन् । फेसबुकले तुलना, साइबरबुलिङ पनि बढाउँछ । फेसबुकमा पोस्ट गरेका समग्रीमा आउने रियाक्ट, प्रतिक्रिया आदिम हुने तुलनाले तनाव र चिन्ता बढाउने कुरा अध्ययनहरूले पनि देखाएको छ । यो कुराले पनि युवाहरू यसप्रति त्यति आकर्षित नभएको हुनसक्ने आचार्य बताउँछन् ।
फेसबुकमा पुरानो सामग्री वा फेक न्युज बढी हुन्छ । जेनजीले तुरुन्तै र रचनात्मक सामग्री जस्तै टिकटकका ट्रेन्ड खोज्छन्, जुन फेसबुकमा कम छ । ‘युवाहरूको दैनिक जीवन व्यस्त छ– स्कूल, काम, अन्य एपहरू’ आचार्य भन्छन्, ‘फेसबुकको प्रयोगले समय खेर जाने बुझाइ उनीहरूमा हुन सक्छ ।’
के छ तथ्यांक ?
पिउ रिसर्च सेन्टरको सन् २०१४ मा गरेको सर्वेक्षणमा १३ देखि १७ वर्षका अमेरिकी किशोरहरूमध्ये ७१ प्रतिशतले फेसबुक प्रयोग गर्थे । तर, सन् २०२२ को फलो–अप सर्वेक्षणमा यो सङ्ख्या घटेर ३२ प्रतिशतमा झरेको देखियो । आठ वर्षमा ३९ प्रतिशतको कमी देखियो । सन् २०२१–२०२३ को तथ्याङ्कअनुसार, अमेरिकी किशोरहरू मध्ये ३८ प्रतिशतले टिकटकलाई मनपर्ने प्लेटफर्म ठान्छन् । जबकि फेसबुकलाई मात्र २–३ प्रतिशतले आफ्नो मनपर्ने प्लेटफर्म मानेका छन् । फेसबुक जेनजीका लागि चौथो लोकप्रिय प्लेटफर्म मात्रै रहेको अध्ययनले देखायो ।
जेनजीले फेसबुकलाई सोसल भन्दा कमर्शियलाइज्ड प्लेटफर्म ठान्ने कुरा यी अध्ययनले देखाउँछन् । उनीहरूलाई आफ्नो जीवनशैलीको आकांक्षा बढी छ, न कि साथीहरू र परिवारसँगको वास्तविक सम्बन्ध । जिडब्लुआइको २०२३ को तथ्याङ्कले पनि जेनजीको ३३ प्रतिशतले दैनिक फेसबुक प्रयोग गर्ने तर टिकटकमा यो ५० प्रतिशत रहेको देखाएको छ ।
यसरी मासिक प्रयोगमा पनि फेसबुक पछाडि छ । इमारकेटर २०२३ अनुसार जेनजीमा फेसबुक चौथो लोकप्रिय प्लेटफर्म हो, इन्स्टाग्राम, स्न्यापच्याट र टिकटक पछि ।
प्रतिक्रिया 4