+
+
Shares

जितगढीलाई राष्ट्रिय सम्पदामा सूचिकृत गर्नुपर्छ : मुख्यमन्त्री आचार्य

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ७ गते १६:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जितगढी किल्लालाई राष्ट्रिय सम्पदा सूचीमा सूचिकृत गर्न संघीय सरकारसँग माग गरेका छन्।
  • जितगढी किल्लाको संरक्षण र विकास संघीय सरकारको दायित्व भएको मुख्यमन्त्री आचार्यले बताए।
  • वि सं १८७२ वैशाख ७ गते अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको विजय उत्सव हरेक वर्ष मनाइँदै आएको छ।

७ वैशाख, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ऐतिहासिक जितगढी किल्लालाई राष्ट्रिय सम्पदा सूचीमा सूचिकृत गर्न संघीय सरकारसँग माग गरेका छन् ।

बुटवलमा आयोजित जितगढी विजय उत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले किल्लालाई राष्ट्रिय महत्वको धरोहरका रूपमा अघि बढाउन र यसलाई राष्ट्रिय सम्पदामा सूचिकृत गर्न  आवश्यक रहेकाले प्रदेश सरकारले समेत पहल गरिरहेको बताए ।

‘जितनढीलाई राष्ट्रिय सम्पदामा सूचिकृत गर्ने र जितगढी उत्सवलाई राष्ट्रिय उत्सवका रूपमा मनाउने विषयलाई प्राथमिकतामा राखेर संघीय सरकारसँग पहल भइरहेको छ’, उनले भने, ‘यो मागलाई संघीय सरकारले सम्बोधन गर्नुपर्छ ।’

जितगढी किल्लाको महत्व एउटा पालिकामा सीमित नराखी राष्ट्रिय स्तरमा विस्तार गर्नुपर्नेमा मुख्यमन्त्री आचार्यले जोड दिए ।

मुख्यमन्त्री आचार्यले राष्ट्र, राष्ट्रियता र स्वाधीनताको रक्षामा अग्रजहरूको बलिदानलाई सम्मान गर्नुपर्ने बताए । ‘उच्च मनोबल र रणनीतिक कौशलका आधारमा आधुनिक हतियार सहितको अंग्रेज सेनामाथि विजय हासिल गरेको इतिहास हामी सबैका लागि गर्वको विषय हो’, उनले भने, ‘जितगढी किल्ला राष्ट्रिय स्वाभिमानसँग जोडिएको सम्पत्ति भएकाले यसको संरक्षण र विकास गर्नु संघीय सरकारको दायित्व हो ।’

इतिहासविद् देवेन्द्रराज शाक्यले जितगढी किल्लाको ऐतिहासिक पृष्ठभूमिबारे जानकारी गराएको कार्यक्रममा नगर प्रमुख खेलराज पाण्डेले हरेक वर्ष उत्सव मनाइँदै आएको र उत्सवमार्फत किल्लाको संरक्षण, प्रवर्द्धन र वीरताको इतिहासलाई जनस्तरसम्म पुर्‍याउने लक्ष्य राखिएको बताए ।

वि सं १८७२ वैशाख ७ गते आधुनिक हतियारसहित आएको अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको ऐतिहासिक दिनको सम्झनामा यो उत्सव मनाइँदै आइएको छ। कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली सेनाले सुलेभान उड नेतृत्वको अंग्रेज फौजलाई पराजित गरेको थियो । इतिहासविद्हरूका अनुसार उक्त युद्धमा तीन सयभन्दा बढी अंग्रेज सैनिक मारिएका थिए । उक्त युद्धमा लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्मेदान वृषसुर थापा, जमादार भीमसेन देउजा, जमादार सुरवीर बोहरा, हवलदार रणसुर बानियाँ, सिपाही हंसवीर अधिकारी, नकुल बानियाँ र जुठे बस्नेतले वीरगति प्राप्त गरेका थिए ।

इतिहासअनुसार कर्णेल उजिरसिंह थापाले विजय प्राप्त भएमा भगवती मन्दिर निर्माण गर्ने भाकल गर्नुभएको थियो । विजयपछि पाल्पामा मन्दिर निर्माण गरिएको र हालसम्म भगवती जात्रा निकाल्ने परम्परा कायम रहेको छ । चुरे पर्वतको काख र तिनाउ नदीको पश्चिम किनारमा रहेको जीतगढी किल्ला सेनकालीन समयमा निर्माण भएको मानिन्छ । अंग्रेजसँगको युद्धपछि विजयको प्रतीकका रूपमा यसको नाम जितगढी रहन गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?