News Summary
Generated by OK AI. Editorially reviewed.- पशु अधिकारकर्मीहरूले पशु कल्याणका लागि कडा कानूनको माग गर्दै आइतबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
- प्रदर्शनकारीहरूले ‘जनावरको पनि यो धर्तीमा बाँच्ने अधिकार छ, उनीहरूलाई मार्न पाइँदैन’ भन्ने नारासहित तत्काल पशु कल्याण ऐन ल्याउन माग गरे ।
- उनीहरूले पशुलाई संवेदनशील प्राणीको रूपमा कानूनी मान्यता दिई क्रूरता गर्नेलाई ५ देखि १० वर्ष जेल सजाय तोक्न माग गरेका छन् ।
आइतबार बिहान माइतीघर मण्डलामा पशु कल्याणका लागि कडा कानुन माग गर्दै अधिकारकर्मीहरूले भेला आयोजना गरे । अघिल्लो सरकारले पशु कल्याणको कानुन वर्षौंदेखि अल्झाएर राखेको भन्दै यथाशीघ्र यसलाई जारी गर्न नयाँ सरकारसँग माग गरे ।
‘जनावरको पनि यो धर्तीमा बाँच्ने अधिकार छ, उनीहरूलाई मार्न पाइँदैन’ भन्ने नारासहित उनीहरूले सरकारसँग तत्काल ‘पशु कल्याण ऐन’ ल्याउन माग गरेका छन् ।
विश्वराम कार्की, रश्मी तुलाधार, सुनिता श्रेष्ठ, कमला मोत्तानलगायतले पशु कल्याण कानुन नहुँदा पशुमाथि हुने क्रुरताले हद नाघेको बताए ।
प्रदर्शनका क्रममा पशु अधिकारकर्मीहरूले सारा जनावर उद्धार केन्द्रले तयार पारेको १६ बुँदे माग सार्वजनिक गरे । उनीहरूले नेपालको पशुसम्बन्धी कानुन पुरानो र कमजोर भएको भन्दै नयाँ सरकारले तत्काल नयाँ ऐन ल्याएर पशुहरूको अधिकार संरक्षण गर्नुपर्ने माग गरेका छन् ।
पशुलाई संवेदनशील प्राणीको रूपमा कानुनी मान्यता दिनुपर्ने, कुकुरलगायत घरपालुवा जनवारमाथि हुने कुनैपनि क्रुरतामा ५ देखि १० वर्ष जेल र लाखौं जरिवाना तोकिनुपर्ने माग समेत राखे ।\

राष्ट्रिय पशु कल्याण बोर्ड गठन गरी स्थानीय तहमा प्रहरी र भेटेरिनरी टोली बनाउनुपर्ने उनीहरूको माग थियो । पशुपालन, यातायात र बधशालामा वैज्ञानिक मापदण्ड लागू गर्नुपर्ने, गाई तथा कुकुर फार्महरूलाई अनुगमन तथा नियन्त्रण गर्नका लागि छुट्टै समिति बनाउनुपर्ने, बाँदर नियन्त्रण गर्न नाममा पासो थापेर मार्ने कार्य तुरुन्त बन्द गरिनुपर्ने उनीहरूको छ ।
यस्तै सडक कुकुरको विकराल अवस्था आउनुमा कुकुर प्रजनन केन्द्रको लापरवाही पहिलो कारण भएकाले त्यसलाई कडाइका साथ नियमन गर्नुपर्ने, कुकुर बिरालो आदि पाल्नेले अनिवार्य रजिस्ट्रेशन, माइक्रोचिपिङ राख्नुपर्ने उनीहरूको भनाइ थियो ।
विद्यालयमा पशु कल्याण शिक्षा अनिवार्य गर्नुपर्नेलगायत विभिन्न १७ वटा माग राखेर प्रदर्शन गरेका हुन् ।
सारा जनावर उद्धार केन्द्रका सञ्चालक तथा पशु अधिकारकर्मी विश्वराम कार्कीले भने ‘संसदमा अहिले बाँदर मार्नुपर्छ भन्ने कुरा उठिरहेको छ । तर हामी भन्छौं– कुनै पनि जनावरलाई मार्न पाइँदैन । उनीहरूको अधिकार सुनिश्चित नभएसम्म हामी निरन्तर प्रदर्शन गर्नेछौं ।’
पशु अधिकारकर्मीहरूले जनचेतना अभियान, तालिम र कानुन कार्यान्वयनका लागि सरकारलाई तत्काल कदम चाल्न आग्रह गरेका छन् । उनीहरूले पशु कल्याणलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
प्रदर्शनमा स्थानीय पशु प्रेमीहरू, स्वयंसेवकहरू र विभिन्न पशु कल्याण संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता थियो । सरकारले उनीहरूको माग सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी उनीहरूले दिएका छन् ।
प्रतिक्रिया 4