News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र समीक्षक समाज, नेपालले ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ मा ‘ऊनको स्वीटर’ लाई उत्कृष्ट चलचित्र घोषणा गरेको छ ।
- अवार्ड अन्तर्गत अभिनयतर्फ ‘भूठान’का हरिवंश आचार्य उत्कृष्ट अभिनेता र ‘रमिताको पिरती’की आना शर्मा उत्कृष्ट अभिनेत्री घोषित भए ।
- चलचित्र ‘ऊनको स्वीटर’का नवीन चौहान उत्कृष्ट निर्देशक र सुरज कटुवालसँगै उत्कृष्ट पटकथा विधामा पुरस्कृत भएका छन् ।
काठमाडौं । चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन) ले ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक गरेको छ । अवार्डमा चलचित्र ‘ऊनको स्वीटर’ उत्कृष्ट फिल्म घोषित भएको छ ।
फिक्सनले २०८२ सालभरि प्रदर्शनमा आएका नेपाली चलचित्रको अध्ययन, प्राविधिक विश्लेषण तथा वस्तुनिष्ठ मूल्यांकनका आधारमा विभिन्न विधामा उत्कृष्ट स्रष्टा र चलचित्र छनोट गरिएको जनाएको छ ।
समाजले मंगलबार प्रेस विज्ञप्तीमार्फत सार्वजनिक गरेको नतिजाअनुसार ‘ऊनको स्वीटर’का नवीन चौहान उत्कृष्ट निर्देशक घोषित भएका छन् । अभिनयतर्फ ‘भूठान’का हरिवंश आचार्य उत्कृष्ट अभिनेता तथा ‘रमिताको पिरती’की आना शर्मा उत्कृष्ट अभिनेत्री घोषित भएकी छन् ।
त्यस्तै, ‘ऊनको स्वीटर’का नवीन चौहान र सुरज कटुवाल उत्कृष्ट पटकथाका लागि पुरस्कृत भएका छन् । प्राविधिक विधातर्फ ‘भूठान’का सुशन प्रजापति उत्कृष्ट छायाङ्कन तथा अञ्जय खड्का उत्कृष्ट सम्पादन विधामा विजेता बनेका छन् । यस्तै, कोबिद बज्र ‘ऊनको स्वीटर’का लागि उत्कृष्ट पाश्र्व संगीततर्फ सम्मानित भएका छन् ।
फिक्सनले नेपाली चलचित्रको गुणात्मक विकास, मौलिकता र समीक्षात्मक चेतनालाई प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१४ देखि ‘क्रिटिक्स फिल्म अवार्ड’ प्रदान गर्दै आएको जनाएको छ । समाजका अनुसार अवार्ड वितरण समारोहको मिति र स्थानबारे पछि जानकारी गराइनेछ ।
प्रतिक्रिया 4