News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म मुलुकको शोधनान्तर स्थिति ८ खर्ब ६३ अर्ब ५६ करोड रुपैयाँले बचतमा रहेको छ ।
- चालु आर्थिक वर्षको १० महिनामा मुलुकको चालु खाता ७ खर्ब २९ अर्ब २८ करोड रुपैयाँले बचतमा रहेको छ ।
- वैशाख मसान्तसम्म नेपालमा १६ अर्ब ९६ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको केन्द्रीय बैंकले जनाएको छ ।
२६ जेठ, काठमाडौं । मुलुकबाट बाहिरिने विदेशी मुद्राको तुलनामा भित्रने रकम बढी हुँदा शोधनान्तर बचत गत आवको तुलनामा दोब्बर भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिना (वैशाख मसान्तसम्म)मा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार शोधनान्तर स्थिति ८ खर्ब ६३ अर्ब ५६ करोड बचतमा रहेको छ ।
गत आवको यसै अवधिमा शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब ५२ करोडले बचतमा थियो । अमेरिकी डलरमा गत आवको १० महिनामा ३ अर्ब २३ करोड रहेको शोधनान्तर स्थिति चालु आवको १० महिनामा ५ अर्ब ९८ करोड पुगेको छ ।
निश्चित समयावधिभित्र आवासीय र गैरआवासीय व्यक्ति–संस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारको सारांश नै शोधनान्तर स्थिति हो । शोधनान्तर बचत भएमा बाह्य क्षेत्र कारोबारबाट विदेशी मुद्रा आप्रवाह बढ्छ भने घाटा भएमा विदेशी मुद्राको बाह्य प्रवाह बढी हुन जान्छ ।
शोधनान्तर खाताले चालु खाता र पूँजी तथा वित्तीय खातामा गैरआवासीय व्यक्ति तथा संस्थासँग भएको कारोबारलाई समेट्छ । नेपालको हकमा रेमिट्यान्स आप्रवाह उल्लेख्य हुँदा त्यसको सकारात्मक प्रभाव शोधनान्तर स्थितिमा पर्छ ।
समीक्षा अवधिमा चालु खाता ७ खर्ब २९ अर्ब २८ करोडले बचतमा छ । अघिल्लो आवको सोही अवधिमा चालु खाता २ खर्ब ७२ अर्ब ५३ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो आवको सोही अवधिमा २ अर्ब १ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ५ अर्ब ५ करोडले बचतमा पुगेको छ ।
यस अवधिमा खुद पुँजीगत ट्रान्सफर १४ अर्ब ६५ करोड बराबर भएको छ । गत आवको सोही अवधिमा यस्तो रकम ८ अर्ब ४८ करोड थियो । चालु आवको १० महिनामा प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ९६ करोड भित्रिएको छ । गत आवमा यस्तो रकम १० अर्ब ५८ करोड भित्रिएको थियो ।
प्रतिक्रिया 4