१७ भदौ, सिरहा । सिरहाको लहानस्थित रामकुमार–शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा उपचार तथा स्वास्थ्य परीक्षणका लागि पुग्ने सेवाग्राहीले सहज र व्यवस्थित सेवा पाउन नसकेको गुनासो गरेका छन् ।
आवश्यक जनशक्ति अभाव र कमजोर सेवा व्यवस्थापनका कारण बिरामी तथा कुरुवाले चर्को घाममा घण्टौंसम्म लाइनमा बस्नुपर्ने बाध्यता देखिन्छ ।
बिहानै अस्पताल पुगेका सेवाग्राहीसमेत लामो समयसम्म पालो कुर्न बाध्य हुने गरेका छन् ।
लहान–१९ की देवकुमारी सदायले रगत तथा पिसाब परीक्षणका लागि बिहान १० बजे अस्पताल पुगेपनि दिउँसो ४ बजेसम्म पनि रिपोर्ट नपाएको बताइन् ।
‘एकातिर प्रचण्ड गर्मी, त्यसमाथि बस्ने ठाउँसमेत रहेनछ । घण्टौंदेखि उभिएर बस्नुपर्यो,’ उनले भनिन् ।
सखुवानन्कारकटी–२ की कल्पना सदाय पनि अस्पताल आएको ६ घण्टा बित्दा पनि सहज रूपमा सेवा पाउन नसकेको बताइन् ।
‘सरकार फेरियो, तर हामीले सेवा सहज रूपमा पाउन सकेका छैनौँ,’ उनले भनिन् ।
बुवाको उपचारमा आएका लहान–२ का जितेन्द्र यादवले घण्टौं लाइनमा बसेर जाँच गरिसकेपछि औषधि अस्पताल बाहिरबाट किन्नुपरेको बताए । उनले भने, ‘यहाँ छैन, बाहिरबाट किन्न भनेर स्लिप दिइयो । त्यो किन्न एक हजार ८०० लाग्यो सय रुपैयाँको औषधि बाहिरबाट किन्नुपर्यो ।’
जनशक्ति अभाव
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. वर्षा प्रकाशले अस्पतालमा आवश्यक जनशक्ति नहुँदा सेवाग्राहीले लामो समय लाइनमा बस्नुपर्ने अवस्था आएको बताइन् ।
उनका अनुसार अस्पतालले एक जना फिजिसियन र चार जना मेडिकल अफिसर माग गर्दै प्रदेशदेखि संघीय मन्त्रालयसम्म पटक–पटक पत्राचार गरेको छ ।
‘पछिल्ला चार महिनामा मात्रै करिब ६ पटक पत्राचार गरेपनि अहिलेसम्म चिकित्सक पठाउने विषयमा सुनुवाइ भएन,’ उनले भनिन् । चिकित्सक अभावकै कारण अस्पतालका विभिन्न सेवा प्रभावित भइरहेको उनले बताइन् ।
प्रतिक्रिया 4