+
+
Shares

तीन करिडोर जोड्ने थारमारे–चौरजहारी सडक कालोपत्रको काम अन्तिम चरणमा

हेमन्त केसी हेमन्त केसी
२०८३ भदौ २७ गते १२:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झन्डै २० वर्षपछि सल्यानको थारमारेदेखि रुकुम पश्चिमको चौरजहारी जोड्ने ४५.५ किलोमिटर सडक कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ।
  • हालसम्म २६ किलोमिटरभन्दा बढी सडक कालोपत्रे भइसकेको छ र बाँकी काम चालु आर्थिक वर्षभित्र सक्ने लक्ष्य छ।
  • सडक स्तरोन्नतिले सल्यान र रुकुम पश्चिमबीच आवागमन, व्यापार, कृषि उपज ढुवानी, शिक्षा, स्वास्थ्य र पर्यटनमा सहजता बढाएको स्थानीयले बताएका छन्।

२७ भदौ, सुर्खेत । सडकको ट्रयाक खुलेको झन्डै २० वर्षपछि सल्यानको थारमारेदेखि रुकुम पश्चिमको चौरजहारी जोड्ने सडक कालोपत्रको काम अन्तिम चरणमा पुगेको छ। ४५.५ किलोमिटर लामो सडक खण्डमध्ये हालसम्म २६ किलोमिटरभन्दा बढी कालोपत्रे भइसकेको छ।

सडक निर्माणको गति बढेसँगै थारमारे–बडागाउँ–रागेचौर–चौरजहारी सडक तीन ठूला आर्थिक तथा पर्यटकीय सडक मार्गसँग जोडिन थालेको छ। विगतमा जाजरकोट, रुकुम पश्चिम, डोल्पा र सल्यानका स्थानीय हाटबजार आवतजावत गर्ने प्रमुख बाटोका रूपमा प्रयोग हुँदै आएको यो सडक अहिले क्षेत्रीय सडक सञ्जालको महत्त्वपूर्ण कडी बन्न थालेको छ।

वि.सं. २०६२/०६३ मा र्ट्याक खुलेर सञ्चालनमा आएको सडकमा हिउँदमा धुलो र वर्षा याममा हिलोका कारण यात्रुले लामो समयदेखि सास्ती भोग्दै आएका थिए। सडक कालोपत्रेको काम अघि बढेसँगै आवागमनमा भने क्रमश: सहजता आएको छ।

२६ किलोमिटर सडक कालोपत्रे

४५.५ किलोमिटरमध्ये कर्णाली प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय सल्यानमार्फत ३२ किलोमिटर सडकमा काम गरिरहेको छ। बाँकी १३.५ किलोमिटर सडक खण्डको निर्माण सङ्घीय सरकारअन्तर्गत सडक डिभिजन कार्यालयमार्फत भइरहेको छ।

प्रदेश सरकारअन्तर्गतको सडकलाई चार वटा प्याकेजमा विभाजन गरी ठेक्का व्यवस्थापन गरिएको थियो। तीमध्ये तीन खण्डको काम सम्पन्न भइसकेको र बाँकी खण्डको काम तीव्र गतिमा भइरहेको पूर्वाधार विकास कार्यालय सल्यानका सूचना अधिकारी सिद्धार्थ मिश्रले बताए।

सल्यानको थारमारेदेखि कुमाख गाउँपालिका–५ चिसापानीसम्म करिब २६ किलोमिटर सडक कालोपत्रे भइसकेको छ। बाँकी सडक खण्डमा पनि निर्माणको काम जारी छ। ‘दशकौंदेखि कच्ची सडकको सास्ती खेप्दै आएका थियौँ। अहिले घर आँगनमै नियमित सवारीसाधन चल्न थालेपछि आवतजावत सहज भएको छ’, कुमाखका स्थानीय रविन बुढाथोकीले भने।

कृषि उपज बजारसम्म पुर्‍याउन सहज

सडक कालोपत्रे भएपछि गाउँमा उत्पादन हुने आलु, सुन्तला, तरकारीलगायत कृषि उपज बजारसम्म पुर्‍याउन सहज भएको स्थानीयको भनाइ छ। सडक बिग्रिएका कारण यसअघि उत्पादन समयमै बजार पुर्‍याउन नसक्ने समस्या थियो।

सडक सुधारसँगै यातायात नियमित हुन थालेपछि बजारसम्मको पहुँच बढेको वडा गाउँका प्रेमबहादुर विकले बताए। उनका अनुसार सडक सहज हुँदा महिला तथा बालबालिकालाई समेत प्रत्यक्ष लाभ पुगेको छ। स्वास्थ्य सेवा लिन, बालबालिकालाई विद्यालय पुर्‍याउन तथा दैनिक उपभोग्य सामग्री ल्याउन पहिलेभन्दा सहज भएको स्थानीयको भनाइ छ।

सवारी सञ्चालनको लागत घट्यो

कालोपत्रे सडकले यात्राको समयसँगै सवारी सञ्चालन खर्चसमेत घटाएको चालकहरूको अनुभव छ। कच्ची सडकमा सवारीसाधन बिग्रिने र पटक–पटक मर्मत गर्नुपर्ने समस्या रहेकोमा अहिले इन्धन खपत र मर्मत खर्चसमेत कम भएको चालक नवीन विकले बताए। ‘पहिले सडककै कारण गाडीमा पटक–पटक समस्या आउँथ्यो। अहिले सडक सहज भएपछि सवारीसाधन सुरक्षित रूपमा सञ्चालन गर्न सकिएको छ’, उनले भने।

दुई जिल्लाबिचको आवागमनमा सहजता

थार मारे–बडा गाउँ–रागे चौर–चौरजहारी सडकले सल्यानलाई रुकुम पश्चिमको चौरजहारीसँग जोड्छ। सडक सुधारसँगै दुई जिल्लाबीचको आवागमन र व्यापारिक गतिविधिमा समेत विस्तार हुन थालेको स्थानीय बताउँछन्।

कर्णाली प्रदेश सरकारले २०७७ सालदेखि थारमारेको जिरो प्वाइन्टबाट सडक कालोपत्रको काम सुरु गरेको हो। सडकलाई चार वटा प्याकेजमा विभाजन गरी निर्माणको जिम्मा दिइएको थियो।

पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य भीमप्रकाश शर्माका अनुसार अब करिब सात किलोमिटर सडकको काम बाँकी छ। उनका अनुसार सडकले भेरी कोरिडोरको सल्लीबजार–चौरजहारी खण्डसँगै लुम्बिनी–रारा राजमार्गलाई समेत जोड्नेछ। कुमाख गाउँपालिकाको रागे चौर, स्यानी पिप्ली हुँदै रुकुम पश्चिमको चौरजहारीसम्मको बाँकी सडक खण्डमा सडक डिभिजन कार्यालय चौरजहारी र सडक डिभिजन कार्यालय दाङमार्फत निर्माण भइरहेको पूर्वमन्त्री शर्माले बताए।

चालु आर्थिक वर्षभित्र काम सक्ने लक्ष्य

पूर्वाधार विकास कार्यालय सल्यानका प्रमुख नवीन थापाले सडक निर्माणको काम अन्तिम चरणमा पुगेको बताए। केही स्थानमा नाली, पर्खाल, सडक सुरक्षासम्बन्धी संरचना र फिनिसिङको काम बाँकी रहेको उनको भनाइ छ। ‘निर्माण कम्पनीले बाँकी काम तीव्र गतिमा गरिरहेको छ। चालु आर्थिक वर्षभित्र सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य छ’, उनले भने।

सडक निर्माण सम्पन्न भएपछि सल्यान र रुकुम पश्चिमबिचको यातायात थप सहज हुनुका साथै व्यापारिक गतिविधि विस्तार र ग्रामीण क्षेत्रको आर्थिक विकासमा समेत टेवा पुग्ने थापाले बताए।

शिक्षा, स्वास्थ्यदेखि पर्यटनसम्म प्रभाव

प्रदेशसभा सदस्य शर्माले सडक पूर्ण रूपमा कालोपत्रे भएपछि शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र व्यापारका क्षेत्रमा थप अवसर सिर्जना हुने बताए। सडकको पहुँच विस्तारसँगै गाउँका उत्पादन बजारसम्म पुर्‍याउन सहज हुने, स्वास्थ्य तथा शैक्षिक सेवामा पहुँच बढ्ने र ग्रामीण क्षेत्रको आर्थिक गतिविधि थप चलायमान हुने उनको भनाइ छ।

वर्षौंसम्म कच्ची सडकको सास्ती खेपेका स्थानीयका लागि थार मारे-चौरजहारी सडक अहिले यात्राको सहज माध्यम मात्र नभई गाउँको दैनिकी, बजारसँगको सम्बन्ध र स्थानीय आर्थिक गतिविधि परिवर्तन गर्ने महत्त्वपूर्ण पूर्वाधारका रूपमा स्थापित हुँदै गएको छ।

 

लेखक
हेमन्त केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?