
के हो ट्रान्स फ्याट ?
ट्रान्स फ्याट एक प्रकारको अति खराब चिल्लो पदार्थ हो । कृत्रिम रूपमा उत्पादन गरिएको ट्रान्स फ्याट हानिकारक हुन्छ । यो प्रशोधित खानामा पाइने एक प्रकारको बोसो हो ।

हानिकारक चिल्लो मात्र भनेर पुग्दैन,
यसलाई खराब वा हानिकारक चिल्लो मात्र भनेर पुग्दैन, अति खराब चिल्लो नै भन्नुपर्छ । यसको नेपाली शब्द छैन । तसर्थ छोटकरी नेपालीमा अखचि भन्न सकिन्छ ।

के गर्छ ट्रान्स फ्याटले ?
ट्रान्स फ्याटको मात्रा धेरै भएमा हृदयघात, मस्तिष्कघात, मधुमेह, उच्च रक्तचाप, मोटोपन, स्तन क्यान्सरजस्ता स्वास्थ्य समस्या देखा पर्छन् ।

कसरी बन्छ ट्रान्स फ्याट ?
फ्याक्ट्रीमा सस्तो तेललाई तताएर, हाइड्रोजन मिसाएर उत्पादन गरिने ट्रान्स फ्याटबाट चिल्लो पदार्थको मात्रा बढ्नुका साथै यसमा खानेकुरा पकाउँदा खानाको रुप, स्वाद राम्रो बन्छ र धेरै दिनसम्म टिक्छ ।

ट्रान्स फ्याटले स्वास्थ्यमा कस्तो असर पार्छ ?
ट्रान्स फ्याट अत्यन्तै खराब चिल्लो पदार्थ भएकाले यसले रगतमा खराब कोलेस्टेरोलको मात्रालाई बढाउँछ र असल कोलेस्टेरोल घटाउँछ ।

हृदयघात र मस्तिष्कघात हुने जोखिम
खराब कोलेस्टेरोल रक्तनलीहरुको भित्री भागमा जम्न गई रक्तनली साँघुरिने क्रमलाई बढाउँछ । त्यसैगरी रगतको थेग्रा जम्ने सम्भावनालाई बढाउँछ । जसले गर्दा हृदयघात र मस्तिष्कघात हुने जोखिम हुन्छ ।