+

तीज किन मनाइन्छ ?

तीज हिन्दु महिलाहरूको महान पर्व मध्ये एक हो । सो दिन शिव–पार्वतीलाई पूजा गरिन्छ। यो पर्व भाद्रशुक्ल पक्ष तृतीयाका दिनमा पर्छ ।

यो पर्वमा महिलाहरू रातो पहिरन, रातो चुरा पोते र गरगहनामा सज्जिएर आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायु कामना गर्दै व्रत बस्छन् । व्रतको दिन भक्तिभावमा लाग्दा कमजोरी अनुभव नहोस भन्नका लागि अघिल्लो रात मिठा मिठा परिकार बनाएर दर खाने चलन छ ।

Advertisement

तीज यही बेलादेखि सुरु भएको भन्ने ठ्याक्कै मिति निर्धारण त गर्न सकिँदैन तैपनि यो भारत वर्ष विशेष गरी उत्तर भारत एवं नेपालमा पौराणिक कालदेखि नै चलिआएको बुझ्न सकिन्छ ।

धार्मिक कथनअनुसार हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भई महादेव पति पाएको दिनलाई हिन्दू नारीहरूले हरितालिका तीजका रूपमा मनाउँदै आएका छन् ।

पार्वतीले महादेवलाई श्रीमानका रूपमा पाउन १ सय ७ जन्मसम्म घोर तपस्या गरे पनि १ सय ८ औं जन्ममा मात्र उनको तपस्या पूरा भएको कुरा केही शास्त्रहरूमा बताइएको छ ।

यही मान्यतालाई अनुशरण गर्दै विवाहित महिलाले श्रीमानको दीर्घायु एवं अविवाहित महिलाले सुयोग्य वर पाऊँ भनी तीजको व्रत बस्ने नेपाली चलन छ ।

मानिस जति आधुनिक भए पनि उसले जन्मसँगै पाएको संस्कार एवं संस्कृति छोड्न सक्दैन । नेपालमा रहेका हिन्दू समुदायले मनाउने तीज पर्वलाई अहिले अन्य जातिले पनि मनाउन थालेको पाइन्छ ।

तीजलाई महिलाको रमाइलो पर्वका रूपमा समेत लिइने भएकाले युवतीहरू पनि यसमा रमाउँछन् । कामबाट केही समय अवकाश लिँदै परिवार, साथीभाइ जमघट, घुमघाम, नाचगान यो पर्वको अर्काे विशेषता बन्दैछ ।