कतिपयले भन्छन्- टाइट हेलमेटले टाउकोको छालामा दबाब पार्छ, जसले पसिना जम्छ र कपाल कमजोर हुन्छ । कतिपयले भने हेलमेटमा जम्मा भएको धूलो, फोहोर वा फंगल संक्रमणले कपालको जरा प्रभावित हुन्छ भन्छन् ।
छाला, यौन तथा सौन्दर्य विशेषज्ञ डा. विकास पौडेलका अनुसार कहिलेकाहीँ हेलमेटले टाउकोमा घर्षण पैदा गर्छ, जसले पसिना जम्मा हुन सक्छ । यसले टाउकोको छाला वा कपालको नजिकको छालालाई असर गर्छ ।
यदि हेलमेटभित्र फोहोर छ वा धेरै टाइट छ भने यसले कपालमा असर गर्छ । तर, हेलमेट कपाल झर्ने एकमात्र कारण होइन । नियमित रूपमा कपालको सफाइ र हेलमेटको भित्री भागको सफाइले कपाललाई नोक्सानबाट जोगाउन जोगाउने डा.पौडेल बताउँछन् ।
‘कपाल झर्नुको पछाडि हार्मोनल परिवर्तन, आनुवंशिकता र जीवनशैली पनि कारण हुन सक्छन्’ डा.पौडेल भन्छन्, ‘हालसम्म यस्तो कुनै ठोस प्रमाण छैन कि हेलमेटल लगाउनु मात्रै स्थायी रूपमा कपाल झर्ने कारण बन्छ।’
हेलमेटले सिधै कपाल झर्ने भन्ने हुँदैन, तर यसले अप्रत्यक्ष रूपमा कपाल झार्न भूमिका खेल्न सक्ने वरिष्ठ प्लास्टिक कस्मेटिक तथा लेजर सर्जन डा. सुयोग मैनालीको भनाइ छ।
‘यसको भित्री कपडा वा लाइनिङले टाउकोमा प्रत्यक्ष–अप्रत्यक्ष असर गर्छ’ डा.मैनाली भन्छन्, ‘यदि हेलमेट धेरै टाइट छ भने, यसले कपाल तान्ने समस्या हुन सक्छ । जसले कपालको जरामा असर गर्छ र कपाल टुट्न सक्छ ।’
डा. विकाका अनुसार लामो समयसम्म टाइट हेलमेट लगाउँदा, जस्तै फ्याक्ट्रीमा काम गर्ने वा हेलमेट लगाएर लामो दूरीको सवारी चलाउनेहरूमा गर्नेहरूमा कपाल तान्निएर झर्ने ‘ट्र्याक्शन एलोपिसिया’को समस्या हुन सक्छ ।
हेलमेटमुनि जम्मा भएको पसिनाले चाया पर्छ ?
हेलमेटले टाउकोको छालामा हल्का तातो वातावरण बनाउँछ । त्यहाँ पसिना जम्मा हुन्छ र फंगस वा ब्याक्टेरिया फैलिन थाल्छन् । यी फंगसले टाउकोको छालालाई संक्रमित गर्न सक्छन्, जसले चिलाउने र चायाको समस्या निम्त्याउने डा.मैनालीले जानकारी दिए।
हेलमेट लगाउनेहरूले कपालको हेरचाह कसरी गर्ने ?
हेलमेटबाट हुने प्रत्यक्ष तथा अप्रत्यक्ष असर रोक्न सही साइजको हेलमेट छनोट गर्नुपर्न चिकित्सकहरूको सुझाव छ । डा. पौडेल भन्छन्, ‘धेरै टाइट वा लुज नहोस् भन्ने कुरामा ध्यान दिनुपर्छ । टाइटले कपाल तान्छ , लुजले सुरक्षा कम गर्छ ।’
हेलमेट लगाउँदा त्यसभित्र रुमाल वा स्कार्फ बाँध्न डा. मैनालीको सुझाव छ । उनका अनुसार पतलो सिल्क वा कपडाको टोपी लगाउनुपर्छ, जसलाई नियमित धुन सकिन्छ ।